काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले केही समय अगाडि सरकारले बरामद गरेको २५ करोड अवैध रकममा को–को संलग्न छन् भन्नेबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरेका हुन् ।
उनले भने, ‘केही समय अगाडि सरकारले टोखाबाट २५ करोड बराबरको अवैध रकम समाउने काम गरेका थियो ।
त्यसमा एउटा ड्राइभर र व्यापारीलाई समात्यो थुन्यो, त्यसमा मुख्य मान्छे को हो, त्यसको संरक्षण कसले गरेको छ भनेर सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन् । सँधै ड्राइभर र लोडरलाई समात्ने, धनीलाई नसमाउने, त्यसको पहुँच कहाँ कहाँ छ र त्यसमा को–को संलग्न छन् ।
त्यो बारेमा सदनलाई जानकारी गराउन अनुरोध गर्न चहान्छु ।’








