काठमाडौँ । हमासले दुई बर्षदेखि बन्धक बनाएका सबैलाई आज रिहा गर्दैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको पहिलो चरणमा सहमति जनाउदै हमासले सबै बन्धक आज रिहा गर्न लागेको हो ।
हमासले आजै केहीबेरपछि बन्धक रिहा गर्ने प्रक्रिया शुरु गर्ने बताएको छ । हाल २० जीवित रहेका भनिएका बन्धक आज रिहा हुने छन् भने उनीहरूको रिहाइपछि हमासले बाँकी २८ मृत बन्धकको शव हस्तान्तरण गर्ने बताएको छ । त्यस्तै हमासको बन्धकमा रहेका नेपालका विपिन जोशीको समेत रिहाईको आशा गरिएको छ । तर विपिनको अवस्था बारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । केहि रिपोर्टहरुले विपिनको नाम हमासको जीवित बन्धकको सुचिमा रहेको बताएकाले उनी सकुशल रिहा हुने आशा गरिएको छ ।
युद्धविराम सम्झौता अन्तर्गत सबै ४८ बन्धकहरूलाई रिहा गर्न हमासलाई दिइएको समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे दिउँसो ३ः४५ नेपाली समय सम्म रहेको छ । इजरायलले २० बन्धकको सट्टा करिब दुई हजार प्यालेस्टिनी बन्दी रिहा गर्नेछ ।








