२५ पुस, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा पुनःराजनीतिक गर्मी बढेको छ पुसको जाडोले मुटु कमाए पनि राजनीतिक गर्मि भने बढाएको छ । केहि साता अघि नेकपा एमालेको एघारौं महाधिवेशन ताका पनि यसरी नै राजनीतिक गर्मि बढेको थियो । यति वेला भृकुटीमण्डप कांग्रेसका विशेष महाधिवेशन पक्षधरको जमघटस्थल बनेको छ ।
जिल्ला–जिल्लाबाट आएका कांग्रेस कार्यकर्ता समूह–समूहमा बाँडिएर राजनीतिक गफ गरिरहेका छन् । देशको वर्तमान राजनीतिक घटनाक्रमको विश्लेषण गरिरहेका छन्
भृकुटीमण्डपमा भेला भएका कांग्रेस कार्यकर्ता जसरी पनि पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन हुनुपर्ने अडानमा छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बहुमत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको एक कित्ता भृकुटीमण्डपमा केन्द्रित भएको हो ।
विशेष महाधिवेशन पक्षधरले यसलाई पार्टीले पुनर्जीवन पाउन लागेको रूपमा व्याख्या गर्दै तयारीमा होमिएका छन् । पार्टी रुपान्तरणको महत्त्वपूर्ण घडी रहेकाले सबै परिवर्तन पक्षधरलाई भृकुटीमण्डपमा आउन आह्वान गरिरहेका छन् । ‘संस्थापनको मिचाहा प्रवृत्ति’ विरुद्ध एक हुन सबै कांग्रेस महाधिवेशन प्रतिनिधिलाई भृकुटीमण्डप आएकाहरूको अनुरोध सुनिन्छ ।
तर, यसको ठिक विपरीत संस्थापन पक्षले अर्को काउन्टर भेला राखेपछि आम कार्यकर्तामा पार्टी विभाजन हुने हो कि भन्ने संशय पनि देखिन्छ । यस्तो अन्योलपूर्ण वातावरणका बीच पनि देशका विभिन्न कुनाबाट आएका महाधिवेशन प्रतिनिधिहरू भने निकै उत्साही र स्पष्ट भएको सुनिए ।
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेकादेखि सामान्य कार्यकर्ताको जमघट शुक्रबारबाटै बाक्लिएको देखियो । बाहिर जिल्लाबाट अन्य प्रतिनिधि र कार्याकर्ता पनि थपिने क्रम जारी रहेको उनीहरू बताउँदै थिए । कांग्रेस संस्थापनले भृकुटीमण्डपमा भेला नहुन भने पनि यसअघि हस्ताक्षर गरेकाभन्दा थप महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनस्थल आउने आत्मविश्वास त्यहाँ रहेका कार्याकर्तामा थियो ।
उनीहरूका लागि यो केवल औपचारिक भेला मात्र नभएर ठोस नीति र नेतृत्व परिवर्तनको आवाज हो । जेनजी आन्दोलनले पार्टी भित्र रिफर्म खोजेकाले अबको अवस्थामा विशेष महाधिवेशनको विकल्प नरहेको तर्क उनीहरूले गरे ।
विशेष महाधिवेशन व्यवस्थापनको कमान्ड सम्हाल्दै गरेका लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनको दौडधुप पनि सामान्य दिनभन्दा धेरै रहेको देखियो । मूल व्यवस्थापन समितिको मुख्य व्यवस्थापकको भूमिकामा रहेका पुनका अनुसार विशेष महाधिवेशनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगिसकेको छ ।
पुनले प्रतिनिधिका लागि आवश्यक झोला, अन्य सामग्री, स्वयंसेवकहरूको टोली र स्वास्थ्य डेस्कको समेत उचित प्रबन्ध मिलाइएको जानकारी दिए । यो महाधिवेशन सामान्य समयमा नभई एउटा विशेष परिस्थितिमा हुन लागेकाले आर्थिक रूपमा सक्षम साथीहरूलाई आफैँ व्यवस्थापन गर्न आग्रह गरिएको र नसक्नेहरूका लागि समितिले होटल र खानाको व्यवस्था गरेको उनले बताए ।
पुनका अनुसार १४औँ महाधिवेशनभन्दा पनि अझ व्यवस्थित, नवीन सोच र समयसापेक्ष नेतृत्वको सन्देश दिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको छ ।
पार्टी भित्रको विवाद समाधानबारे पनि पुनले सभापति शेरबहादुर देउवालगायत सबै वरिष्ठ नेताहरूलाई पटकपटक पत्राचार गरेर उपस्थितिको लागि आग्रह गरिएको बताए । साथै, संवादमार्फत नै निष्कर्ष निकालिने दाबी गरे ।
विशेष महाधिवेशनले पार्टी फुट्छ भन्दै गरिएको चर्चा अफवाह मात्र रहेको उनको दाबी थियो । यो विधानसम्मत प्रक्रिया भएकोले सबैले स्वीकार्नुको विकल्प नरहेको उनको भनाइ छ
भदौमा देखिएको नागरिक विद्रोह र सडकमा देखिएको असन्तुष्टि कुनै एउटा वर्गको मात्र नभएर राज्य सञ्चालनमा देखिएको बेथिति विरुद्धको साझा आक्रोश भएको उनको विश्लेषण छ । त्यसैले यो विशेष अवस्थामा विशेष महाधिवेशन अपरिहार्य बनेको उनले बताए ।
त्रिपाठीका अनुसार प्रमुख दलहरू लामो समय सत्तामा बस्दा आफूलाई सुधार्न नसकेकाले कार्यकर्ता तहबाट यो विद्रोह भएको हो । केन्द्रले कार्यकर्ताको मर्म बुझ्न नसकेपछि विधानको अधिकार प्रयोग गरेर प्रतिनिधिहरू आफैँ अगाडि सरेका हुन् । त्यसैले यो विशेष महाधिवेशन विधानले तय गरेको विधिवत प्रक्रिया भएकोले यसलाई निर्वाचन आयोगले पनि चिन्ने स्पष्ट पारे ।
पार्टी नफुट्ने कुरामा ढुक्क हुन आग्रह गर्दै त्रिपाठीले भने, ‘जसरी एउटा कम्पनीको बहुमतले गर्ने निर्णय कानुन र विधानअनुसार आधिकारिक हुन्छ, त्यसरी नै ५४ प्रतिशत प्रतिनिधिको समर्थन रहेको यो महाधिवेशन नै आधिकारिक हो ।’
धनगढीकी महाधिवेशन प्रतिनिधि गौरी लामाले वर्तमान नेतृत्वले जनभावना नबुझ्दा पछिल्लो राजनीतिक संक्रमण देशमा देखापरेको बताइन् । सोही कारण अब नेतृत्व र नेतृत्व शैलीमा परिवर्तन चाहिन्छ भन्दै कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेको दाबी गरिन् ।
यता, संस्थापन पक्षले ‘विशेष महाधिवेशन भनिएको भेला’मा नआउनू भनी दिएको दबाब र धम्कीलाई लामाले धम्कीपूर्ण र हेपाहा प्रवृत्ति देखिएको बताइन् । ‘हामी कसैका दास हैनौँ । हामी त नेपाली कांग्रेसका सिपाही हौँ । हामीलाई कसैले तर्साएर र धम्काएर रोक्न सक्दैन,’ उनी दृढ सुनिइन् ।
पाको उमेरकी देखिने लामाले आफ्नै पुस्ताका नेताहरूले युवाको माग र समयको परिवर्तनलाई बुझ्न नसकेको र दम्भ नत्यागेको आरोप लगाइन् । लामाका अनुसार कार्यकर्ताले नै नेता बनाएका हुन्, तर अहिले तिनै नेताहरूले कार्यकर्तालाई ‘ललिपप’ देखाएर अल्झाउन खोजिरहेका छन् ।
‘जबकि, यो महाधिवेशन पार्टी फुटाउन होइन, बरु विधानको जगमा उभिएर पार्टीलाई नयाँ दिशा दिनका लागि हो,’ लामाले भनिन्, ‘नेपाली कांग्रेसको रुख र चारतारे झण्डा हामी लिएरै छाड्छौँ । विधिसम्मत विशेष महाधिवेशन भएकाले कांग्रेस हाम्रो हातमा हुन्छ । उनीहरू हेरेको हेर्यै हुन्छन् । विधानको बाटोमा हिँडेका हामीले आत्तिन आवश्यक छैन ।’
यसैगरी, नेविसंघका पूर्वकेन्द्रीय सदस्य बासुदेव न्यौपानेले पनि संख्यात्मक र कानुनी आधारमा यो महाधिवेशनको वैधानिकता पुष्टि हुने बताए । उनका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी मुख्यालय सानेपामा मुद्दा दर्ता गरेपछि मात्र महामन्त्रीहरूले यसको स्वामित्व लिएका हुन् । त्यसैले पार्टीमा रुपान्तरण र पुस्तान्तरणका लागि यो एउटा ऐतिहासिक मोड भएको उनको ठम्याइ छ ।








