कार्यकारी निर्देशक भट्टद्वारा नाफा कमाएको तत्थ्याड्.क सार्वजनिक

२६ पुस, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका प्रसाद भट्टले निगमको ५६ औं वार्षिकोत्सवका अवसरमा गत आर्थिक वर्ष २०८१र८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गर्नु भएको छ ।
कार्यक्रममा उहाँले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासलाई दिनु भयो ।
उहाँका अनुसार निगमले गत आव ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएकोछ । निगमले १ खर्ब २४ अर्ब रुपैयाँ बराबरराजस्व योगदान गरेको छ
कार्यकारी निर्देशक भट्टले २०७१ सालमा सुरु गरिएको ‘स्वचालित मूल्य प्रणाली’ नै निगम इतिहासमा सबैभन्दा महत्त्वपूर्ण कोशेढुंगा सावित भएको र यसैका कारण निगम आज आर्थिक रूपमा मजबुत बनेको उल्लेख गर्नुृ भयो ।
मोतिहारी–अमलेखगञ्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारण गृह सञ्चालनमा आइसकेको छ ।
यसबाट ढुवानी खर्च बचत भई उपभोक्ताले प्रतिलिटर २ रुपैयाँ सस्तोमा इन्धन पाउन सम्भव भएको डा.भट्टको भनाइ छ ।
यसैगरी, पोखरामा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह निर्माण सम्पन्न भएको छ । ‘प्रविधितर्फ निगमले अमलेखगञ्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरेर तेल चोरी र चुहावट नियन्त्रणमा पारदर्शिता ल्याएको छ,’ उनले भने, ‘ईआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै तेल अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले मानवीय हस्तक्षेप घटाएको छ ।’
उनका अनुसार निगमले अब परम्परागत इन्धन व्यापारबाट माथि उठेर क्लिन इनर्जी र विविधीकरणतर्फ लाग्ने योजना बनाएको छ । यस अन्तर्गत पेट्रोलमा इथानोल मिसाउने सरकारको नीतिलाई यसै वर्षदेखि कार्यान्वयनमा लगिने छ भने काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हरित हाइड्रोजनको व्यावसायीकरण गरी सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन लक्ष्यमा सघाउ पुर्‍‍याइने छ ।
पूर्वाधारतर्फ सिलिगुडी–चारआली र मोतिहारी–सर्लाही एलपीजी पाइपलाइन निर्माणका लागि भारतीय पक्षसँग छलफल अघि बढाइएको कार्यकारी निर्देशक भट्टले बताउनु भयो ।
यस्तै सुरक्षा जोखिममा रहेका सिनामङ्गल, भैरहवा र धनगढीका डिपो स्थानान्तरण गरिने छ भने डिपो नभएको कर्णालीमा नयाँ डिपो निर्माण प्रक्रिया सुरु गरिएको छ
दुर्गमका ३७ स्थानमा नयाँ पेट्रोल पम्प खोलेर बोतलको महँगो इन्धन किन्नुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य लिएको निगमले संस्थालाई पब्लिक लिमिटेडमा लगेर सर्वसाधारणका लागि सेयर जारी गर्ने र ४ सय ५० किलोको ठूलो सिलिन्डर प्रचलनमा ल्याउने विषयमा समेत अध्ययन गरिरहेको पनि उनले जानकारी दिए ।
करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारीका भरमा देशभरि दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण गर्नु आफैंमा चुनौतीपूर्ण रहेको भन्दै डा.भट्टले कर्मचारीको लगनशीलताको प्रशंसा गर्नुृभयो। एक कर्मचारीले औसत २० हजार सेवाग्राहीलाई सेवा दिइरहेको उहाँको भनाई छ ।
भट्टले इन्डियन आयल कर्पोरेसन, पेट्रोलियम व्यवसायी, ढुवानीकर्ता र प्रेस जगतको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा निगमलाई अझै प्रतिस्पर्धी, पारदर्शी र आधुनिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्तगर्नु भयो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सचिवहरू डा. घिमिरे र मधुसुदन बुर्लाकोटी र लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद, रामप्रसाद रेग्मी लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY