एमालेमा ओलीको क्रेज ओरालो लाग्दै गएको हो ?


काठमाडौं । एमालेमा बिस्तारै अध्यक्ष केपी ओलीको क्रेज घट्दै गएको छ । साढे आठ लाख पार्टी सदस्यता रहेको दाबी गर्ने एमालेमा अहिलेसम्म तीन लाखले मात्र नवीकरण गरेको पाइएपछि ओलीको क्रेज ओरालो लागेको देखिएको हो । हालै सम्पन्न पार्टीे सचिवालय बैठकमा प्रदेश इन्चार्जहरूले एमालेप्रति मोहभंग हुँदै गएको र सदस्यता नवीकरण घटाउने दर तीव्र ढंगले बढेको ब्रिफिङ गरेका थिए ।
शनिबारको सचिवालय बैठकमा कोशी प्रदेशमा ५० प्रतिशत, मधेसमा ३० प्रतिशत, बागमतीमा ५० प्रतिशत, गण्डकी र लुम्बिनीमा ६० देखि ६५ प्रतिशत, कर्णाली र सुदूरपश्चिममा ३५ देखि ४० प्रतिशतको हाराहारीमा नवीकरणको अवस्थामा रहेको नेताहरूले ब्रिफिङ गरेका थिए । एमालेले १० औं महाधिवेशनमा आठ लाख पार्टी सदस्य रहेको दाबी गरेको थियो ।
बैठकमा ओलीले पार्टी कमजोर हुँदै जानुको कारण पदाधिकारीसहित नेतृत्व सम्हालेका नेताहरुले काम गर्न नसक्नु रहेको औंल्याएपछि यसले असन्तुष्टि उब्जिएको छ । नयाँ पार्टीको उदय हुनुका साथै र एमालेबाट निर्वाचित जनप्रतिनिधिले सन्तोषजनक काम गर्न नसक्दा पार्टी कमजोर बनेको एमालेको निष्कर्ष छ । सडकदेखि सदनसम्म घट्दो प्रभावले एमाले अत्तालिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
गएको मंसिरमा सम्पन्न निर्वानमा अपेक्षाकृत नतिजा ल्याउन नसकेको एमाले सुरुवातमा सरकार गठनमा भूमिका खेले पनि दुई महिनामै केन्द्रीय सरकारबाट बाहिरियो । त्यसपछि पालैपालो गण्डकी, लुम्बिनी र कोशी प्रदेश सरकारबाट एमाले बाहिरियो । सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमाले अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग दुईदिने बैठक गरे । त्यसलगत्तै शनिबार सचिवालय बैठकको बोलाइएको थियो । बैठकमा प्रदेश इन्चार्जहरूको ब्रिफिङ सुनेपछि ओली नै निराश बनेको नेताहरु बताउँछन् ।
एमाले अहिले वन मेन शो जसरी चलेको छ । ओलीबाहेक अरुले एमालेमा प्रश्न उठाउन पाउँदैनन् । जसले प्रश्न उठायो, त्यसको राजनीति सिध्याउने गरिन्छ । एमालेबाट भीम रावलको राजनीति सिध्याइएको छ । घनश्याम भुसालले पार्टी छाडेका छन् । इमान्दार कार्यकर्ता लाखापाखा लागिसकेका छन् ।
एमालेको सदस्यता नवीकरण गर्नेहरूको संख्या आधै घटेको बेला अध्यक्ष ओलीले भने आफ्नो युट्युब च्यानल ‘केपी बा’ खोलेका छन् । उनले आफ्नो युट्युब च्यानललाई सब्सक्राइब गर्न सार्वजनिक अपिल गरेका छन्। पार्टी ओरालो लागे पनि युट्युब च्यानल ‘केपी बा’ मार्फत ओली भाइरल हुनतिर लागेका छन् । एमालेको क्रेज ओरालो लाग्दै गएपछि अहिले पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको खोजी हुन लागेको छ । यदि एमाले अध्यक्ष बन्न भण्डारी तयार भएमा ‘सर्वमान्य नेतृत्व’ भन्दै माओवादी र एकीकृत समाजवादी पनि आगामी चुनावसम्म एकता गर्न आउने नेताहरूको बुझाई छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE