शुक्रबार, अशोज १२, २०८०
Friday, September 29, 2023

सबैभन्दा ठूलो जनसंगठन भएको एमालेको अस्तित्व धरापमा

काठमाडौं । एमाले मदन भण्डारी र मनमोहन अधिकारीले बनाएको पार्टी हो । उनीहरू एमालेमा हुँदा गाउँगाउँमा संगठन थियो । बच्चादेखि बुढासम्म सबैले आफूलाई एमाले नै भन्थे । मदन भण्डारी र मनमोहन अधिकारीले पार्टीलाई बलियो बनाएका थिए । जनतासमक्ष एमालेको जग मजबुत थियो । नेतृत्व सही भएकाले सबैले एमालेमाथि विश्वास गर्थें । उनीहरू अहिले दुनियाँमा नभए पनि जनताको दिमागमा एउटा असल नेतृत्वको छाप छोडेर गएका छन् ।

उनीहरूले एमालेलाई उचाइमा पु¥याउन निकै संघर्ष गरेका थिए । जुन अहिलेका नेतृत्वले ‘बालुवामा पानी’ बनाइदिएका छन् । दौडिनुपर्ने एमाले घिस्रिन थालेको छ । जुन हिसाबमा संगठन विस्तार हुनुपथ्र्याे, त्यो पनि हुन सकेको छैन । उनीहरू बितेपछि माधवकुमार नेपालले लामो समय पार्टी हाँके । त्यसपछि झलनाथ खनालले चलाए । उनीहरूपछि केपी ओली पार्टीको अध्यक्ष भए । उनी आउनेबित्तिकै एमालेले आफ्नो गति छोड्यो । पार्टीको सिद्धान्त, विचारमा चलेका नेताहरू विस्थापित भए ।

पार्टीका लागि त्याग गरेका, राष्ट्र र जनताका लागि संघर्ष गरेका, परिवर्तनका लागि दशौं वर्ष जेल बसेकाहरूले पार्टीमा ठाउँ पाएनन् । बरु एमालेमा गुण्डाराज चल्न थाल्यो । एमाले गुण्डागर्दी गर्नेको पार्टी बन्यो । महेश बस्नेतजस्ताले टिकट पाए । पार्टीमा ठाउँ पाए । राजनीतिको ‘र’ नजानेकालाई ओलीले सांसद बनाए, टिकट दिए । नाँच्ने, गाउनेहरू एमालेमा हाबी भए । करिश्मा मानन्धर, कोमल वलीजस्ताले एमालेमा ठाउँ पाए । संघर्ष गर्ने नेताहरू हेरेको हेर्यै भए ।

उनीहरूको संघर्ष र पार्टीका लागि गरेको योगदानले ओलीलाई कुनै फरक पारेन । ओलीको आचरणले गर्दा एमालेको सदस्य घट्दो क्रममा छ । सर्वसाधारणले एमालेको नयाँ सदस्य लिन छाडेका छन् । ज–जसले सदस्य लिइसकेका छन्, उनीहरू सदस्यता नवीकरण नगर्ने मनशायमा पुगेका छन् । एमालेले केही वर्षअघि ७० वर्षभन्दा माथिका व्यक्ति पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने नियम बनाएको थियो । अहिले त्यो पनि हटाइएको छ । २०७१ मा जब ओली पार्टीको अध्यक्ष भए, त्यसपछि पार्टीको दुर्दशा सुरु भयो ।

एमाले फुटेर एकीकृत समाजवादी बन्न पुग्यो । अब एमाले चक्नाचुर मात्रै हुन बाँकी छ । यो पनि ओलीकै पालामा हुन्छ । २०६४ चैत २८ गते भएको चुनावमा हार व्यहोरेपछि माधव नेपालले नैतिकताको आधारमा पार्टीको महासचिव पदमा राजीनामा दिएका थिए । २०७९ मंसिर ४ गतेको प्रतिनिधिसभाको चुनावमा दाङका सबै निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवार पराजित भयो । तर, अहिलेका महासचिव शंकर पोखरेलमा नैतिकता रहेनछ । उनले चुनाव हारे, तर पद छोडेनन् ।

२०७८ मंसिरमा भएको एमालेको दशौं महाधिवेशनमा ओलीले टीका लगाइदिएर महासचिव बनेका व्यक्ति हुन्, पोखरेल । कोमल वलीको भनसुनको आधारमा ओलीले उनलाई महासचिव बनाइदिए । नेता, कार्यकर्ताले चुनेर महासचिव बनेका होइनन् पोखरेल । २०८४ मा पुनः चुनाव हुन्छ । स्थानीय होस् या संसदीय दलको चुनावमा एमालेको हैसियत के होला भन्ने जिज्ञासा सुरु भएको छ ।
लाखौं जनताको रगत–पसिनाले बनेको एमाले ओली र पोखरेलले सर्वस्व बनाइदिए । आफ्नो स्वार्थका निम्ति पार्टी सखाप पारियो । पार्टीका लागि जीवन त्याग गरेका, घरखेत सिध्याएका नेता–कार्यकर्ता अहिले निराश बनेका छन् । एमालेले गति छाड्दाको असर उनीहरूको अनुहारमा झल्किन्छ । ओलीले पार्टी सकाएको भन्दै उनीहरू आक्रोश पोखिरहेका हुन्छन् । ओलीका पक्षधरहरू नै समाजवादीलाई एमालेमा फर्काउन जोडबल गरिरहेका छन् । ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधव नेपाललाई जिम्मेवारी सुम्पिनुपर्ने माग उठ्न थालेको छ ।

पार्टी बचाउन र जनताको विश्वास जित्न ओली र पोखरेलले अध्यक्ष र महासचिव पदबाट राजीनामा दिनुपर्छ । होइन भने एमाले फेद न टुप्पोको बन्छ । २०७४ को चुनावमा माओवादी र एमाले मिलेर जनताको बीचमा गए । पार्टी एकीकरण गर भन्दै जनताले भोट दिए । तर, ओलीले आफ्नो रंग फेरिहाले । न पार्टीको अध्यक्ष छाडे, न प्रधानमन्त्री । प्रधानमन्त्री पद छोड्नुपर्ने भएपछि उनले दुईपटक संसद् विघटन गरे । माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीबाट निकाले । जसको नतिजा अहिले एमालेले भोगिरहेको छ ।

एमाले झनझन् नाजुक हुँदै गएको छ । एमालेलाई जनताले विश्वास गर्न छोडिसकेका छन् । ओलीको दाहिने हात महेश बस्नेतले भक्तपुर २ बाट चुनाव हारे । दाङ ३ मा कोमल वलीले हार व्यहोरिन् । एकाध व्यक्तिका कारण एमालेलाई नराम्रो असर पुग्यो । आज आफ्नै कार्यकर्ताले ओलीलाई गन्दैनन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दुईपटक नागरिकता विधेयक पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुग्यो । तर, उनले विधेयक थन्काइन्, न पदबाट राजीनामा दिइन् । मधेसका लाखौं जनताले नागरिकता पाएका थिएनन् । जसकारण उनीहरू राज्यबाट पाउनुपर्ने सेवासुविधा पाउनबाट समेत वञ्चित भएका थिए । न बैंक खाता खोल्न पाएका थिए, न विदेश जान । जनताबाट चुनिएर आएका सांसदले दुईपटक नागरिकता विधेयक पारित गर्दा पनि ओलीले प्रमाणीकरण गर्न दिएनन् ।

तत्कालीन राष्ट्रपति भण्डारीलाई भनेर उनले रोके । नागरिकता विधेयक प्रमाणिकरण गर्नुहुँदैन भनेर महेश बस्नेत आफ्ना केही कार्यकर्ता लिएर सडकमा आए । रामचन्द्र पौडेलले राष्ट्रपति हुनेबित्तिकै नागरिकता विधेयक प्रमाणीकरण गरिदिए । भण्डारीले थन्काइदिएको विधेयक उनले प्रमाणीकरण गरे । नागरिकता विधेयक प्रमाणीकरण भएपछि मधेसमा खुसियाली छाएको छ । उनीहरूको भविष्य सुनिश्चित भएको छ । उच्च शिक्षा हासिल गर्न उनीहरूलाई अब कसैले रोक्न सक्दैन ।

एमाले मधेसबाट समेत नांगिसकेको छ । नागरिकता विधेयक अड्काएकै कारण मधेसमा एमालेमा इतिहास सक्कियो । यो सिध्याउने पनि ओली नै हुन् । उनले भण्डारीलाई नरोकेको भए एमालेको मधेसमा थप भोट आउँथ्यो । एमालेको पत्तासाफ गर्ने यिनीहरू दुई हुन् । ओलीकै पालामा एमाले सक्किन्छ भनेर सर्वसाधारणले सोचेका पनि थिएनन् । एउटा व्यक्तिले पार्टी तहसनहस बनाएर छोड्छ भनेर कसैले कल्पना नै गरेका थिएनन् । किनकि ओलीले मात्रै बनाएको पार्टी त थिएन एमाले । लाखौं जनताको लगानी यो पार्टीमा छ ।

ओली प्रधानमन्त्री हुँदा राम्रो काम गरेनन् । २०७४ फागुन ३ गते प्रधानमन्त्री भएपछि उनले देश र जनताका लागि भन्दा पनि कार्यकर्ताका लागि काम गरे । देशको नक्सा भएको केक काटेर खाए । जनताले तिरेको करबाट कैयौंपटक भोजको आयोजना गरे । आफ्ना पार्टीका सांसद र कार्यकर्तालाई बोलाएर तिजको भोज खुवाए । विपक्षी दलका नेतालाई अरिंगाल जसरी टोक्नु भनेर निर्देशनसमेत दिए ।

उनी आफ्ना पार्टीका नेताको प्रधानमन्त्री त थिएनन्, विपक्षी दलका नेताको पनि प्रधानमन्त्री थिए । तर, त्यति पनि ख्याल गरेनन् । जे मनलाग्यो त्यही बोल्ने र आफ्नो मनोमानी चलाउने बानीका कारण आज एमाले तहसनहस बन्यो । ओलीको दायाँबायाँ गर्नेहरूलाई जनताले २०७९ को चुनावमा हराइदिए । ओलीको राजनीतिक इतिहास पनि विस्तारै सकिँदै छ । उनका लागि सबै ढोका बन्द भइसकेका छन् ।

ओली भिजन नभएको व्यक्ति हुन् भन्ने कुरा जनताले थाहा पाइसकेका छन् । आफ्नो पद टिकाउन २०७७ पुस ५ गते संसद् विघटन गरे । २०७८ जेठ ८ गते फेरि संसद् विघटन गरे । सर्वोच्च अदालतले दुईचोटि नै संसद ब्युँताइदियो । २०७८ असार २८ गते सर्वोच्चले ओलीको प्रधानमन्त्री पद खाइदियो । असार २९ गते देउवा प्रधानमन्त्री बने । नौ महिना एमालेको सांसदले सदन अवरोध ग¥यो । जनताले तिरेको करबाट एमालेका सांसदले त्यतिबेला पनि तलब पचाए । सरकारी गाडी चढे । तर, एउटा विधेयक सदनबाट पारित गर्न दिएनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x