सतर्कता केन्द्रद्वारा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई कारबाही गर्न निर्देशन


श्रावण १०, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको छ ।
सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त भएको र सो नियुक्ति नियम विपरीत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।
गोरखापत्र संस्थानमा टिप्पणी आदेशमा करारमा नियुक्त गरिएको भन्दै १२ जनाको नियुक्ति खारेज गर्न पनि निर्देशन दिएको छ । केन्दूले विधि र प्रक्रिया विपरीत नियुक्ति दिएको भनदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
‘उनीहरुको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनियमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो,’ सतर्कता केन्द्रले भनेको छ ।
‘सो कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि भएको’ सतर्कता केन्द्रले जनाएको छ ।
त्यसैले ती नियुक्तिहरु खारेज गरी गोरखापत्र संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी निर्देशक विष्णुप्रसाद सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE