काठमाण्डौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच व्यापार सुमधुर बनाउन ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुई देश बिचको व्यापार सुमधुर बनाउन अमेरिकी तेल र ग्यास भारतले आयात गर्ने विषयमा छलफल भएको छ ।
वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । त्यस अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरे । ‘भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० अर्ब डलर छ,’ ट्रम्पले भने, ‘मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ ’निष्पक्ष’ बनाउन छलफल सुरु गर्नेछौँ ।’
त्यस्तै प्रधानमन्त्री मोदीले भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्नेमा विश्वास व्यक्त गरे । भारत र अमेरिका बिचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउने पनि मोदीले जनाए । उनले इन्डो–प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउन सँगै काम गर्ने पनि प्रतिवद्धता जनाए ।
भारतीय प्रधानमन्त्री मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको जिकिर गरे । उनले भने, ‘भारत र अमेरिका आतंकवाद विरुद्धको लडाइँमा दृढतापूर्वक एकसाथ उभिएका छन्। सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक रहेकोमा हामी सहमत छौँ ।’
यसअघि सन् २०१९ मा मोदी अमेरिका भ्रमणमा गएका थिए । सो समयमा उनको स्वागतका लागि भव्य कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमलाई हाउडी मोदीको नाम दिइएको थियो । यसले भारतलाई पनि सुपर पावरको रूपमा स्वीकार गरेको प्रस्ट पारेको थियो ।
यस ५ वर्षको बिचमा मोदी र ट्रम्पको सम्बन्ध सुमधुर भए पनि अमेरिका र भारतको सम्बन्ध केही जटिल पनि बनेको थियो । गत वर्षको निर्वाचनमा मोदीको लोकप्रियता खस्किएको थियो भने भारतीय अर्थतन्त्रमा पनि केही समस्या आएको जनाइन्छ ।