Page 11

सांसद बोलिरहने, सरकार सुनिरहने मात्रै हुनुहुँदैन: सांसद अनिता देवी

काठमाडौँ, ७ चैत : जनमत पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । जनमत नयाँ दलका रूपमा संसद्मा प्रवेश गरेको छ । बाहिरबाट हेर्दा र संसदीय प्रक्रियामा प्रवेश गर्दा निकै नै फरक अनुभव महसुस हुँदोरहेछ । संसदीय गतिविधिका बारेमा पत्रपत्रिकाबाट थाहा पाउँदै आएका हामी सांसद भएर प्रतिनिधिसभामा प्रवेश गरेपछि भने गतिविधि प्रत्यक्ष हेर्न पाइयो ।

जनप्रतिनिधिका रूपमा निर्वाचित भइसकेपछि सांसदको संसद् बैठकमा दह्रिलो उपस्थिति हुन्थ्यो होला भन्ने सोचेको थिएँ, तर अवस्था बिलकुल फरक हुँदोरहेछ । संसद् बैठकमा सांसदको भूमिका जे सोचिएको थियो, त्यस्तो हुँदो रहेनछ । संसद्मा आउने, आफ्ना कुरा राख्ने र निस्कने दृश्य पनि देखिएको छ । जनप्रतिनिधि भएका नाताले सांसदले आफ्ना क्षेत्रका जनताका समस्या तथा गुनासो संसद्मा राखेर सरकारको ध्यानाकर्षण गराउनुपर्छ । जनताले संसदीय गतिविधिलाई पनि नजिकबाट नियालिरहेका हुन्छन् ।

जिल्ला जाँदा जनताले हाम्रा समस्याका विषय आफ्ना जनप्रतिनिधिले संसद्मा उठाएको भनेर भन्नुहुन्छ, तर त्यस विषयको कार्यान्वयनको अवस्था भने निकै जटिल छ । जनप्रतिनिधिले उठाएका विषय कार्यान्वयन भएको तथा त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको अनुभूति भइरहको छैन । सांसद बोलिरहने, सरकार सुनिरहने जस्तो देखिएको छ । सांसद हुनअघि आफूलाई संसद्मा उठाएका सबै विषय सरकारले सहजै कार्यान्वयन गर्छ होला भन्ने लागेको थियो, तर त्यस्तो हुँदोरहेनछ ।

सङ्घीय संसद् कानुन निर्माणको प्रमुख थलो हो, तर कसका लागि कानुन बनाउने भन्ने प्रश्न महत्त्वपूर्ण छ । जसका लागि कानुन निर्माण गरिने हो, त्यो पक्षसँग छलफल नै हुँदैन । हाम्रो देश, जनता, भूगोल र समुदायलाई केन्द्रमा राखेर कानुन निर्माण गर्न सकियो भनेमात्रै प्रभावकारी हुनसक्छ । कोठाभित्र बसेर बनाइने कानुन कहिल्यै पनि सफल हुँदैन । विसं २०७९ को निर्वाचनपछि संसद् चलेको एक वर्ष नाघिसक्यो, तर कानुन निर्माणको अवस्था भने अत्यन्तै कमजोर छ । संविधान कार्यान्वयनसँग सम्बन्धित महत्त्वपूर्ण कानुन निर्माण हुन नसक्नुमा कहीँ न कहीँ सरकारका तर्फबाट कमीकमजोरी भएका छन् । यसबीचमा जनमत पार्टी पनि सरकारमा सहभागी भएको छ । म आफैँ सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्रीका रूपमा छ महिना बढी जिम्मेवारीमा रहेँ । तर कानुन निर्माणमा विलम्ब हुँदा पनि खबरदारी कम भएको महसुस गरेको छु ।

कानुन निर्माणमा निश्चित समय तालिका बनाएर अघि बढ्नुपर्छ । यसअर्थमा पनि के भन्न सकिन्छ भने कानुन निर्माणमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेन । कुनै एउटा पार्टीको बहुमत नहुँदा पनि कानुन निर्माणले गति लिन नसकेका मान्न सकिन्छ । कानुन निर्माणको प्रक्रियामा सत्तापक्ष, प्रतिपक्ष नभनी एकीकृतरूपमा अघि बढ्नुपर्छ । जनताको हितका लागि सबै दलले सहकार्य गरेर जानुपर्ने होइन र ? त्यो दिशामा सबै राजनीतिक दलले ध्यान दिनुपर्छ । नेपालको संसदीय अभ्यासलाई हेर्ने हो भने राष्ट्रिय समस्यामा दलहरूबीच साझा दृष्टिकोण बन्न नसक्नु विडम्बना हो । सरकारमा रहँदा एक र बाहिर रहँदा अर्को कुरा गर्ने प्रवृत्तिले अप्ठयारो पारेको छ । संसद्मा बौद्धिकता र विद्वत्वता भए पनि त्यसले काम नगर्दोरहेछ । सबै विषय बहुमतबाट टुङ्गोमा पुग्दोरहेछ । संविधान कार्यान्वयन गर्न आवश्यक महत्त्वपूर्ण ऐन अझै बन्न सकेका छैनन् । सङ्घीय कर्मचारी विधेयक हालै मात्र संसद्मा दर्ता भई छलफलको प्रक्रियामा गएको छ । प्रहरी समायोजनको विषय अझै टुङ्गिन सकेको छैन । केही दिन ढिला भए पनि परिपक्व कानुन निर्माणमा सबै सांसदले ध्यान दिनुपर्छ । राष्ट्रिय मुद्दामा सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्छ । जनताको भावना सम्बोधन गर्न नेता तथा सांसद दलीय घेराभन्दा माथि उठ्नुपर्छ ।

जनतम पार्टीले सधैँ जनताको हितलाई केन्द्रमा राखेको छ । जनताले कस्तो कानुनी व्यवस्था खोज्छन्, त्यसलाई मूर्तरूप दिन जनमत पार्टी क्रियाशील रहन्छ । राजनीतिक उपलब्धिको रक्षाका लागि बलियो कानुनी संरचना आवश्यक छ । राजनीतिक दलभन्दा माथि उठेरमात्रै देश र जनतालाई हेरेर कानुन निर्माण गर्नु आवश्यक छ । बढ्दो युवा पलायन रोक्न औद्योगिक क्षेत्रमा लगानी वृद्धि गरेर रोजगारी सिर्जना गर्नुपर्छ । राष्ट्रिय पुँजीपतिको राज्यले संरक्षण गर्नुपर्छ । लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ । निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्छ । कानुन निर्माण गर्ने संसद्बाटै हो । राष्ट्रिय चासोका विषयमा दलीय स्वार्थभन्दा माथि उठेर एकताबद्ध भएर जान सकेमा अपेक्षित परिणाम दिन सकिन्छ । सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिनुपर्छ ।

सांसद अनिता देवीको परिचय

चार वर्षदेखि राजनीतिमा सक्रिय सांसद अनिता देवी जनमत पार्टीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व हुनुहुन्छ । उहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको यसअघिको सरकारमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको भूमिकामा हुनुहुन्थ्यो । उहाँको कार्यकालमा नै सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद्मा दर्ता भएको हो । विसं २०३९ वैशाख २१ गते जन्मनुभएकी सांसद देवी जनमत पार्टीको केन्द्रीय सदस्य भई जिल्ला इन्चार्जसमेत भइसक्नुभएको छ । हाल उहाँ जनमत पार्टीको केन्द्रीय सचिव हुनुहुन्छ ।

(सांसदसँग रासस संवादका लागि जनमत पार्टीका सांसद अनिता देवीसँग राससका समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीमा आधारित)

‘विशेष परिस्थिति घोषणा गरेर सडक दुर्घटना न्यूनीकरणमा जुटौँ’

काठमाडौँ, ७ चैत : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न विशेष परिस्थिति घोषणा गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरुले सडक सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद बिमला घिमिरेले सडक दुर्घटनाका समाचार दिनप्रतिदिन बढ्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाका घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न आग्रह गर्नुभयो ।

“दिनप्रतिदिन बढ्दो दुर्र्घटनाले हाम्रा सडक कति असुरक्षित छन् भन्ने देखाएको छ । जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको छ”, उहाँले भन्नुभयो, “सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिन आग्रह गर्दछु ।”

सांसद जयन्ती राईले सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग आग्रह गर्नुभयो । सांसद कृष्णबहादुर रोकायले बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मायाप्रसाद शर्माले सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद मोहम्मद खालिदले सडक दुर्घटनाबाट हुने मानवीय क्षति डरलाग्दो भएको उल्लेख गर्दै साँघुरा सडक, सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको बताउनुभयो ।

सांसद तुलप्रसाद विश्वकर्माले देशव्यापी रुपमा सडक दुर्घटनाका घटना वृद्धि भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाः छानबिन समिति गठनको माग

काठमाडौँ, ७ चैतः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गर्नुभयो । अप्ठयारो समयका लागि भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उहाँले छानबिन समिति गठनको माग गर्नुभयो ।

“सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुुपर्छ । सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ”, सांसद न्यौपानेले भन्नुभयो, “सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । सो विवरणमा बचतकर्ताको करोडौँ रकम हिनामिना भएको देखिएको छ ।” सांसद न्यौपानले गरिबहरुले पेट काटेर पैसा बचत गरेका पैसा फिर्ता हुनुपर्नेमा माग गर्नुभयो ।

सांसद मानवीर राईले सोलुखुम्बुको सोताङ गाउँपालिका वडा ३ निवासी तुलामान राई यही चैत ६ गते हुँगा नदीमा पुल बनाउने क्रममा ढुङ्गा किचेर मृत्यु भएको भन्दै निजको परिवारजनलाई क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गत फागुन २७ गते हराएका केशव राईको शव दुधकोशी नदीको किनारामा भेटिएको हुँदा मृत्युबारे अध्ययन गर्नेपर्ने र शान्ति सुरक्षालाई सरकारले विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो । सांसद राईका अनुसार लामो सयमदेखि सोताङ इलाका कार्यालयमा प्रशासकीय अधिकृत नहुँदा नागरिकता लिनेलगायतको काम हुन सकेकोभन्दै ध्यानकार्षण गराउनुभयो ।

सांसद नारायणी शर्माले दाङको राजपुर गाउँपालिकामा तीन परिवार र गढवा गाउँपालिकाको मुलमान आचार्यको घर जलेर नष्ट भएको भन्दै क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दुवै गाउँपालिकामा जनता घरमा जस्तापाताको छाना लगाउने आशामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेम सुवालले नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको भन्दै सेवालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमरबहादुर थापाले दैलेखमा पट्रोलियम पदार्थ उत्खननका सामग्री भन्सारमा रोकिँदा उत्खनन रोखिएबारे जानकारी गराउनुभयो ।

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, ७ चैत (रासस) : राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उहाँले बताउनुभयो ।

पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिनुभयो । “प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ”, उहाँले भन्नुभयो ।

परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताउनुभयो । उहाँका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।

नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यसवर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक÷एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उहाँको भनाइ छ ।

परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ, ७ चैत : अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा सङ्कल्पसमेतलाई हेरेर आवश्यकताका आधारमा संशोधन गरिने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजनका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले सो बताउनुभएको हो । “निवर्तमान अर्थमन्त्रीले सरकारको तर्फबाट पेस गर्नुभएको विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकतामा कतिपय माननीयले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने विषय उठाउनु भएको थियो । यो परिस्थितिमा सरकारका नीतिहरुमा स्थीरता कायम गर्नुपर्ने, राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र परिवर्तित सन्दर्भ अनुसारको आवश्यकता, संभावना र सोचलाई सम्बोधन गर्नेगरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिनेछ”, उहाँले भन्नुभयो ।

आगामी आर्थिक वर्षको बजेट सोह्रौँ योजनाको सोचअनुसार नीति कार्यान्वयनको पहिलो वर्ष रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच सहित नयाँ आवधिक योजना र बजेट ल्याइने बताउनुभयो । “आगामी आवको बजेट गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक न्याय कायम गर्ने र प्रमुख रणनीतिक महत्वको आधारभूत सेवा प्रदान गर्ने क्षेत्रमा राज्यको भूमिका बढाउनेतर्फ लक्षित हुनेछ”, उहाँले भन्नुभयो, “स्रोत साधनको दक्षतापूर्ण प्रयोग, उत्पादन तथा रोजगारी वृद्धिमा निजी क्षेत्र र सहकारीको क्षमताको पूर्ण उपयोग गर्ने वातावरण निर्माण गरिनेछ । सामाजिक न्याय सहितको समृद्धिमा हाम्रो जोड रहने भएकाले बजेटमा सामाजिक न्यायको पाटो उपेक्षामा पर्दैन ।

सरकारमा सहभागी पाँच दलकातर्फबाट मङ्गलबार साझा न्यूनतम कार्यक्रम तथा साझा सङ्कल्प जारी भएको बताउनुहुँदै अर्थमन्त्री पुनले उक्त साझा सङ्कल्पको प्रमुख जोड नै शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने र अर्थतन्त्रमा देखापरेका विभिन्न चुनौतीलाई समाधान गर्ने रहेको बताउनुभयो । मिटरब्याजी, सहकारी तथा लघुवित्तको समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्ने उहाँको भनाइ छ ।

उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिई हाल व्याप्त बेरोजगारी तथा युवाहरुको बढ्दो पलायनलाई रोक्ने योजना सरकारको रहेको अर्थमन्त्री पुनले स्पष्ट पार्नुभयो । “अर्थतन्त्रमा देखा परेका विभिन्न समस्याको प्रमुख जरो मुलुकभित्र उत्पादन र रोजगारी पर्याप्त मात्रामा नबढ्नु हो । यसको फलस्वरुप ठूलो मात्रामा वस्तु आयात गर्नुपरेको र युवाहरु रोजगारीका लागि विदेश पलायन हुनुपरेको छ”, उहाँले भन्नुभयो, “यो कुरालाई मनन गरी आगामी आवमा उत्पादन र रोजगारी बढाउने साथै ठूलो मात्रामा युवालाई स्वदेशमै परिचालन गर्ने कार्यक्रमह कार्यान्वयनमा ल्याइने छ । यसका लागि कार्यक्रमको योजना बनाउन सुरु भइसकेको छ ।”

विगतमा बजेटका सिद्धान्त र प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका लागि पर्याप्त समय उपलब्ध नहुने अवस्थालाई यसवर्षबाट अन्त्य गर्न लागिएको अर्थमन्त्री पुनले दावी गर्नुभयो ।

“कानूनमा संशोधन गरी संसद्मा छलफलका लागि पर्याप्त समय हुने व्यवस्थासहित ‘बजेट क्यालेण्डर’ निर्माण गरिएको छ । त्यसैअनुरुप गत फागुन १४ गते संसद्मा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता पेस भइसकेको छ । यो हाम्रो बजेट निर्माणको इतिहासमा निकै ठूलो परिवर्तन हो”, अर्थमन्त्री पुनले राष्ट्रिय सभामा भन्नुभयो ।

अहिले अर्थतन्त्र शिथिल बन्नुका विभिन्न कारणमध्ये पुँजीगत खर्चतर्फ कम रकम विनियोजन हुनु र विनियोजन गरिएको सीमित बजेट पनि खर्च नहुनु रहेको उहाँले दावी पनि गर्नुभयो । पुँजीगत खर्च क्षमता बढाउन सरकारले केही विधिगत र संरचनात्मक सुधारका काम अघि बढाएकाले आगामी वर्ष पुँजीगत खर्च उल्लेख्य रुपमा बढ्ने अर्थमन्त्री पुनले विश्वास व्यक्त गर्नुभयो ।

चैतभित्र विद्यालयमा पुस्तक पुर्‍याउन केन्द्रलाई मन्त्रालयको निर्देशन

भक्तपुर, ७ चैत : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ ।

कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले विसं २०८१ वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरि व्यवस्था गर्न निर्देशन दिएको हो । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोहीअनुरुप गर्न निर्देशन दिइएको छ ।

जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रले १६ लाख थान पाठ्यपुस्तक मात्र छपाइ गर्न बाँकी रहेको भन्दै छपाइ भएका पुस्तकको ढुवानी सुरु गरिसकेको जानकारी दिनुभयो । मन्त्रालयको निर्देशन आउनु अघिनै पाठ्यपुस्तक छपाइ अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

छपाइ सकिएका पुस्तकहरु उपत्यका बाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्र एवं कार्यालयमा दैनिक ढुवानी गर्ने कार्य भइरहेको झाले बताउनुभयो । उहाँले मन्त्रालयको निर्देशन कार्यान्वयन हुने, पुस्तक अभाव हुन नदिने भन्दै चैत १५ गतेदेखि पाठ्यपुस्तक पालिकामा ढुवानी गरिने बताउनुभयो ।

पहिलो चरणमा हिमाली, दोस्रो चरणमा पहाडी, तेस्रो चरणमा तराई र अन्तिम चरणमा उपत्यकाका जिल्लाहरुमा पुस्तक पुर्‍याउने गरी जनक शिक्षाले कार्य गरिरहेको प्रबन्ध निर्देशक झाले जानकारी दिनुभयो । उहाँले मन्त्रालयको निर्देशन अनुसार चैत्र मसान्तसम्म सबै स्थानीय तहहरुमा पुस्तक पुर्‍याउने गरी केन्द्रले काम गरिरहेको बताउनुभयो ।

मन्त्रालयले पाठ्यपुस्तक छपाइ, ढुवानीलगायत कामको प्रगति विवरण दैनिक रुपमा साँझ ७ बजे भित्र मन्त्रालयमा पेस गर्न पनि केन्द्रलाई निर्देशन दिएको छ ।
यसअघि चैत १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले केन्द्रको अनुगमन गर्दै पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिनुभएको थियो ।

काठमाडौँसहित धेरै स्थानमा वर्षा, सबैभन्दा बढी सर्लाहीको चुरेमाईमा

काठमाडौँ, ७ चैतः देशका धेरै भू–भागमा आज वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४ दशमलव छ तथा सर्लाहीको चुरेमाईमा ३१ दशमलव आठ र सिन्धुलीमा ३० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । ललितपुरको लेलेमा १३ दशमलव छ, काठमाडौँको ढापड्याममा १० दशमलव चार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात दशमलव चार मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबारदेखि मौसम खुल्दै जानेछ ।”

काठमाडौँमा आज दिनभरी जसो मौसम बदली रहने र पानी केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहनेछ । अहिले काठमाडौँको वायुको तापक्रम १२ सेन्डिग्रेड, पारदर्शिता पाँच किलोमिटर मापन गरिएको छ भने अधिकतम तापक्रम २१ देखि २३ सेन्डिग्रेडबीच रहने अनुमान गरिएको छ ।

‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु

काठमाडौँ, ७ चैत : सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।

पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ ।

कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेशको नारायणी अस्पताल विरगञ्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा आजदेखि खोप लगाउन सुरु गरिएको हो । लुम्बिनी प्रदेशको भेरी अस्पतालमा भने मङ्गलबारदेखि खोप लगाउन सुरु गरिएको छ ।

बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यही चैत ८ गतेदेखि, सुदुरपश्चिमको डडेल्धुरा अस्पतालमा यही चैत १५ गतेदेखि दोस्रो मात्रा खोप लगाइने खोप शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । सरकारले गत भदौ अन्तिम सातादेखि खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो मात्रा खोप एक हप्ताभित्र प्रदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार करिब १० हजार मात्रा खोप सम्बन्धित अस्पतालमा पठाइसकिएको छ ।

सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो । १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो ।

खोप शाखाका प्रमुख डा गौतमले १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको बताउनुभयो । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा चितवन र कास्कीमा लगाएको थियो । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरैमा देखिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताउनुभयो । उहाँका अनुसार विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ ।

प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा शाहीले ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको भन्दै खोप शतप्रतिशत सुरक्षित र ९९ प्रतिशत प्रभावकारी रहेको बताउनुभयो । उहाँका अनुसार भाइरसका कारण ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूम्रपान तथा सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

काँग्रेस दुधले नुहाएको पार्टी होइन : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरेर आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउनुभएको छ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणीसमेत गर्नुभयो। उहाँले काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताउनुभयो। उहाँले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौती दिनुभयो। उहाँले चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गर्नुभयो।

उहाँले भन्नुभयो, ‘मैले केही भन्नै पर्दैन नि। कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ। संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरुले माग्ने कुरा हो। विवाद हुनु र गराइनु फरक छ। विवादबाट मुक्त कहिल्यै हुँदैन। हामी काम गर्न अघि बढेका छौँ। कामको संकेत देखिरहनुभएको छ। जुन ढंगले संसद अवरोध भएको छ। एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली काँग्रेस दुधले नुहाएको पार्टी हो कि होइन ? भन्नेकुरा नेपाली जनताले बुझेका छन्। हामीले कामले जवाफ दिने हो। काँग्रेसले चार वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले चार वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’

Author
गोरखापत्र अनलाइन

श्री एयरलाइन्सको जहाजको चक्का खुस्किएपछि…

धनगढी विमानस्थलमा अवतरण लगत्तै प्राविधिक समस्या आएपछि श्री एयरलाइन्सको जहाज ग्राउण्डेड भएको छ।

सोमबार साँझ काठमाडौँबाट धनगढी आएको कलसाइन एएनएच २२७ नम्बरको जहाज पुनः उडान गर्न योग्य नदेखिएपछि ग्राउण्डेड गरिएको धनगढी विमानस्थलका प्रमुख गणेशबहादुर सिंहले बताउनुभयो। “प्राविधिक रूपमा जहाज उडान गर्न अयोग्य देखियो। त्यसपछि ग्राउण्डेड गरिएको छ”, उहाँले भन्नुभयो।

सो जहाज अवतरण भई पार्किङ गर्ने क्रममा एउटा चक्का खुस्केर झाडीमा गएको बताइएको छ। जहाजको चक्का खुस्किएर झाडीमा पुगेपछि विमानस्थलमा खटेका कर्मचारी र सुरक्षाकर्मीले चक्का खोजेका थिए। विमानस्थल प्रमुख सिंहले जहाजमा प्राविधिक समस्या आइ अहिलेलाई उडान भर्न अयोग्य भएको भनेर बुझ्न आग्रह गर्नुभयो।

उहाँले जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको बताउनुभयो। मर्मतपछि जहाजले उडान भर्ने उहाँको भनाइ छ।

सुदामा ताजा समाचार

खुर्पा प्रहार गरी छोराको हत्या

१७ जेठ, चितवन । पूर्वी नवलपरासी नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६३ वर्षीय...

आर्थिक वर्षको बजेटले राख्यो,सुरुङमार्गलाई विशेष प्रामिकतामा

 काठमाडौं । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ...

बेलबारी फुटबल क्लवले जित्यो,भीमनारायण गोल्डकपको उपाधि

हिले, जेठ १७ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार...