आकस्मिक समयः सडक दुर्घटना न्यूनीकरण र किसानका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ, १८ चैत : प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सांसदहरुले सडक दुर्घटना बढिरहेको र किसान विभिन्न समस्यामा परेकालगायत समसामयिक विषय उठाउनुभएको छ ।

आकस्मिक समयमा सांसद हितराज पाण्डेले शनिबार बिहान पृथ्वी राजमार्गको मुग्लिन नजिकै भएको सवारीसाधन दुर्घटनाको विषय उठाउँदै उक्त दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य तीव्र पार्न सरकारसँग माग गर्नुभयो । पछिल्लो समय सडक दुर्घटना बढिरहेकाबारे पनि संसद्मार्फत् उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद एकनाथ ढकालले सडक दुर्घटना बढेको विषयमा संसद्मार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद ध्रुवबहादुर प्रधानले नागरिकलाई सेवा प्रवाहमा भएको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । हिउँदेबाली भित्र्याउने बेलामा हावाहुरी र असिना पानीले बालीनालीमा पुगेको क्षति विश्लेषण गरी किसानलाई राहत उपलब्ध गराउन उहाँले माग गर्नुभयो ।

सांसद अशोककुमार चौधरीले तराईका जिल्लामा वर्णशङ्कर जातको बीउका कारण मकैमा दाना नलागेको विषय उठाउनुभयो । त्यस्तो बीउ बेच्ने डिलरलाई कारबाही गर्न र कृषकलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न उहाँले माग गर्नुभयो । जलवायु परिवर्तनको असरले कृषिबालीमा पारेको असर र वन्यजन्तु आक्रमण न्यूनीककरणका लागि आवश्यक कदम चाल्नुपर्नेमा सांसद चौधरीले जोड दिनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले न्यायपालिकाको न्यायसम्पादनमा प्रश्न उठेको बताउनुभयो । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको र न्यायाधीशले न्यायसम्पादन गर्दा विभेदपूर्ण तरिकाले निर्णय गर्ने गरेको उहाँले आरोप लगाउनुभयो ।

न्यायपालिकाबाट भइरहेका निर्णयको छानबिन गर्न र न्यायाधीशको आचरण हेर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग सांसद डा सिंहले गर्नुभयो । उहाँले न्यायप्रणाली दूषित बन्दै गएकाबारे संसद्मार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । न्यायपरिषद्मा परेका उजुरीको छानबिन निकै कम हुने गरेको पनि उहाँले बताउनुभयो ।

देउवानिवासमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो २ः०० बजे बस्ने छ ।

कांग्रेसले कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा कांग्रेसको भावि बाटोको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका सवालमा कुनै निर्णय गर्न सकेको छैन् । संभवत मंगलबारको बैठकले उम्मेदवारको नाम टुंगोमा पुर्याउने तयारी कांग्रेसको छ ।

कांग्रेसले जिल्ला र प्रदेशबाट एक नम्बरमा भेषराज आचार्यको नाम राखेर सात जनाको नाम पठाइसकेको छ ।दोस्रोमा पूर्वसांसद केशव थापा र तोस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ ।

त्यस्तै संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम पठाइसकेको छ ।

कांग्रेसका आकांक्षीहरु काठमाडौंमा केन्द्रीय नेताहरुको घरदैलो गरिरहेका छन् ।उक्त क्षेत्रमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो

काठमाडौँ, १८ चैतः ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आज संयुक्तरुपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार ४९३ मि लामो सुरुङ ‘ब्रेक थ्रु’ छ । मुख्य सुरुङको व्यास सात दशमलव चार मिटर रहनेछ । अब मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गरिनेछ । मुख्य सुरुङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गरिनेछ ।

सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

“कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोसी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

“मुख्य बाँध निर्माणका लागि नदी फर्काउने र मुख्य सुरुङ ब्रेक थु्र गरी आयोजनाका मुख्य माइलस्टोनहरु पूरा भएका छन्, निर्माणाधीन ठूलो जलाशययुक्त आयोजना तोकिएकै समयमा सम्पन्न गर्न बाँध निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन, परामर्शदाता निर्माण व्यवसायी सबै जिम्मेवार भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माण चाँडै अगाडि बढाइने बताउनुभयो ।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

मुख्य संरचनालाई तीन प्याकेजमा विभाजन गरिएको छ । निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगति ५४ प्रतिशत छ । समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणका लागि जग खन्ने र बाँध निर्माण अवधिसम्म नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध निर्माण धमाधम भइरहेको छ ।

आगामी असार दोस्रो साताभित्र जग खन्ने काम सम्पन्न गरी त्यसपछि मुख्य बाँधको जग निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । प्याकेज–१को समग्र भौतिक प्रगति २९ प्रतिशत छ ।

प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेशन, भियतनाम–कालिका कन्स्ट्रक्सनले काम गरिरहेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माणको काम सिनो हाइड्रो कर्पोरेशन, चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने काम सम्पन्न गरी कङ्क्रिटिङ स्वीचयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायतका काम भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ५५ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुई वटा सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्ध निर्माणलगायतका गरी ५६ वटा परियोजना सम्पन्न भएका छन् । सात वटा परियोजना निर्माणाधीन छन् । आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् ।

साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउन खोजेको पनि उनले बताए । दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको दाबी कोइरालाले गरे ।

‘उपसभापतिको प्रतिवेदनमा जनयुद्ध शब्द लेखिएको थियो । त्यसको विरोध प्रचण्डजीले गर्नुभयो । र महामन्त्रीको प्रतिवेदनमा उल्लेख ०८४ को चुनाव हामी एक्लैले लड्ने कुराको पनि विरोध गर्नुभयो । महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन नेपाली कांग्रेसको हो ।

 

प्रचण्डजीले कांग्रेसको प्रतिवेदन माओवादीले लेखिदेओस भन्ठान्नुभएको थियो होला,’ उनले थपे, ‘मलाई लाग्दैन यि कारणले उहाँ कांग्रेस छाडेर एमालेसित जानुभएको हो । यसमा भूराजनीतिक परिस्थिति प्रमुख हो ।

 

सत्य निरुपण तथा मेलमिलापमा कांग्रेस लचिलो छ तर एमाले अप्ठ्यारो भएको छ । टीआरसी विधेयक पास नभए अप्ठ्यारोमा पर्छु भन्ने लागेको हुनसक्छ उहाँलाई ।’

शनिबार काठमाडौंमा आयोजित वीपी स्मृती सामुदायिक सहकारी अस्पतालको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गरेका कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९’ –टीआरसी विधेयक पास गराउन एमालेको समर्थनका लागि दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाएको बताए ।

उनले त्यो बाहेक भुराजनीतिक कारण पनि रहेको भन्दै टीआरसी विधेयकमा अब कांग्रेस लचिलो नहुने बताए । टीआरसी विधेयमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्ने कोइरालाले स्पष्ट पारे ।

‘कांग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । कांग्रेस अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित संघसंस्थाको न्यूनतम मापदण्डलाई लिएर अघि बढ्छ । पीडितमैत्री विधेयक बन्नुपर्ने कांग्रेसको मान्यता छ । यी कुरा पूरा नभए जतिसुकै संसदबाट ऐन पास भएर आए भनेपनि त्यो ऐन लागु हुन सक्दैन’, कोइरालाले चेतावनी दिए ।

स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेसलाई घाटा भएको बताएका नेता डा.कोइरालाले अब कांग्रेस कुनै गठबन्धन गरेर चुनाब नलड्ने दाबी गरे । साथै उनले देश र कांग्रेसको हालत दुवै ठिक नभएको टिप्पणी गरे ।

कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले देशमा अराजकता बढेको बताए । उनले सरकार सरकारसँग नचलेको र अराजकता बढेको बताए । कार्यक्रममा सांसद प्रदिप पौडेल, पूर्वन्यायाधीश बाबुराम रेग्मी, डा.केदारनरसिंह केसीलगायतले आफ्नो धारणा राखेका थिए ।

 

एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने

सिन्धुली, १७ चैत : राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओलीलगायतको टोलीले आज सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा रहेको आयोजनास्थलमा निरीक्षण गर्नुभएको छ ।

निरीक्षण अवलोकनपछि ऊर्जामन्त्री बस्नेतले तोकिएको समयभित्र काम सम्पन्न गर्न आयोजनाका लागि स्रोत साधनको अभाव हुन नदिने बताउनुभयो । “यो आयोजना सरकारको विशेष प्राथमिकतामा छ । आयोजनामा स्रोत साधनको कुनै समस्या आउन दिँदैनौँ”, उहाँले भन्नुभयो । अहिलेसम्मको कामको प्रगति सन्तोषजनक रहेको बताउनुहुँदै उहाँले तोकिएको समयभित्रै काम सक्न निर्देशन दिनुभयो ।

ऊर्जामन्त्री बस्नेतसहितको उच्चस्तरीय टोलीले शुक्रबार आयोजनाको बाँधस्थल निरीक्षण गरेको थियो । यसअघि ऊर्जामन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजनास्थल नछाड्न र हरेक १५ दिनमा आयोजनाको प्रगति अवस्थाबारे मन्त्रालयलाई जानकारी दिन निर्देशन दिनुभएको थियो ।

तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको जनाइएको छ ।

निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति देखिँदैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । त्यो स्वीकृतिको अन्तिम चरणमा छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पु¥याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।

आयोजनाका लागि सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

विसं २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय

टोकियो (जापान), १७ चैत : जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ ।

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा) का पदाधिकारीसँग केही समयअघि भएको भेटमा जापानमा हाल करिब आठ हजारको सङ्ख्यामा नेपाली रेष्टुरेन्ट सञ्चालनमा रहेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा सुरुआती दिनमा भारतीयद्वारा सञ्चालित रेष्टुरेन्टमा भान्सेका रुपमा पुगेका नेपाली नागरिक पछिल्लो समय आफैँ उक्त व्यवसाय सञ्चालन गर्दैआएका छन् । अहिले नेपाली रेष्टुरेन्ट सञ्चालकले उल्टै ठूलो सङ्ख्यामा भारतीय र पाकिस्तानी नागरिकलाई रोजागारी प्रदान गरेको पाइएको छ ।

नेपालीले जापानका विभिन्न ठाउँमा कम्पनीकारुपमा रेष्टुरेन्ट खोल्ने र नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा नेपाली रेष्टुरेन्टको सङ्ख्या ह्वात्तै बढेको छ । रेष्टुरेन्टमा काम गर्ने नेपाली भान्सेको मासिक सरदर न्यूनतम रु एक लाख ५० हजारसम्म कमाइ हुने गरेको छ । नेपाली व्यवसायीले लगानी र सञ्चालनका आधारमा मुनाफा प्राप्त गर्दैआएका छन् ।

पछिल्लो समय जापानमा एउटै नेपालीले २० वटासम्म रेष्टुरेन्ट सञ्चालन गर्दैआएको पाइएको छ । त्यसभन्दा कम रेष्टुरेन्ट सञ्चालन गर्ने नेपाली व्यवसायीको सङ्ख्या उल्लेख्य रहेको छ । रेष्टुरेन्ट व्यवसायीले नेपालबाट कामदार मगाउँदासमेत शुल्क लिने गरेकाले यो व्यवसाय दोहोरो रकम आर्जनको माध्यम बनेको छ । जापानमा रेष्टुरेन्ट व्यवसायमा देशका अरु भागको तुलनामा खासगरी बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाका बासिन्दा बढी संलग्न छन् ।

विदेशमा रहेर पनि नेपाली परिकार खान पाइने भएकाले साँझ र बिहान त्यस्ता नेपाली रेष्टुरेन्टमा नेपालीको उपस्थिति बाक्लो देख्न पाइन्छ । नेपाली रेष्टुरेन्टमा ८० प्रतिशत ग्राहक भने जापानी नै हुने गरेको पाइएको छ । नेपाली रेष्टुरेन्टमा भारतीय खाना ‘नान’ र ‘करी’ पनि उत्तिकै लोकप्रिय छ । जापानमा अध्ययनका सिलसिलामा आएका हजारौँ विद्यार्थी पनि आफ्नो पढाइ सकिएपछि रेष्टुरेन्ट व्यवसायमा संलग्न हुने गरेका गैरआवासीय नेपाली समाजका अभियन्ता भुषण घिमिरे बताउनुहुन्छ ।

जापानको टोकियोमा होस् वा ओकिनावामा, यहाँ सञ्चालित रेष्टुरेन्ट व्यवसायका माद्यमबाट नेपाली कला, संस्कृति, वेशभूषा, खानपान र भाषाको प्रवद्र्धनमा उलेख्य योगदान पुगेको छ । रेष्टुरेन्टको नाम पनि रातोमाटो, नमस्ते, एभरेष्ट, गोधुली, मनकामना, लुम्बिनी, निम्तो, चिनो, आँगन, हार्दिक र चमेलीजस्ता नेपाली मौलिक नाम राखिएको पाइन्छ । त्यसो त कतिपय जापानी रेष्टुरेन्टको अग्रभागमा काम गर्नेसमेत नेपाली नै रहेका हुन्छन् । हाल जापानमा अध्ययनसहित विभिन्न पेसा व्यवसायमा रहने नेपालीको सङ्ख्या करिब एक लाख ६३ हजार रहेको छ ।

दालभात, तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार तथा ब्यञ्जनले नेपाली खानालाई जापानमा परिचित बनाएको छ । अहिले जापानमा रेष्टुरेन्ट व्यवसायी, भान्से अथवा ‘वेटर’मात्र नभई विभिन्न क्षेत्रमा स्थापित रही ख्याति कमाउनेको सङ्ख्या पनि थुप्रै छ ।

टोकियो होस् वा अरु कुनै सहरका रेष्टुरेन्टमा फहराइएको नेपाली झण्डाले मुलुकको चिनारी र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याइरहेकोे सहजै अनुमान गर्न सकिन्छ । नेपाली रेष्टुरेन्टमा तयार हुने चिकेन, मटन, छोइला, हल्का पेयपदार्थ जापानी युवायुवतीमाझ लोकप्रिय बन्न पुगेको छ । जापानमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि साँझ÷रातिको समय मिलाएर त्यस्ता रेष्टुरेन्टमा काम गर्ने अवसर मिलेको छ । उनीहरुले त्यो समयमा काम गरेबापत अतिरक्ति आम्दानीसमेत प्राप्त गर्दै आएका छन् । होकाइडोदेखि ओकिनावासम्म त्यस्ता नेपाली रेन्टुरेन्ट छयाप्छाप्ती छन् ।

जापानमा कुनै पनि कम्पनी खोलेपछि रेष्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न सहज हुने गर्छ । कम्पनीअन्तर्गत अधिकांशले सजिलोका लागि रेष्टुरेन्टलाई नै लिने गरेको पाइएको छ । जापानमा रु ५० लाख ऐन धरौटी राखेपछि कम्पनी खोल्न पाइन्छ । जापानमा लगानीअनुरुप खाना खुवाएबापत रेष्टुरेन्टबाट राम्रै आम्दानी प्राप्त हुने भए पछि नेपालीहरुमा रेष्टुरेन्ट सञ्चालनको मोह बढेको हो । पछिल्लो समय यस व्यवसायमा प्रतिस्पर्धा भएसँगै खानाको गुणस्तर र दररेट भने खुम्चिएको पाइएको छ ।

टोकियोको सिञ्जुस्थित सिनोगुवोमा नेपाली नागरिक बसोबास गर्ने तथा रेष्टुरेन्ट सञ्चालन गरिएको क्षेत्र हो । जापानीमा भात नै रेष्टुरेन्टको एउटा मुख्य मेनु भएकाले नेपाली रेष्टुरेन्टमा दालभात तरकारी नै प्रायः खाने गरेको पाइन्छ । जापानमा सञ्चालनमा रहेका रेष्टुरेन्टमा कम्तीमा तीनदेखि पाँच जनासम्म कामदारले रोजगारीको अवसर प्राप्त गरेको पाइएको छ । जापानमा कुनै पनि कामदारलाई मासिक रु एक लाख ८० हजारभन्दा कम तलब दिन मिल्दैन । तर नेपालबाट भर्खर गएका र आवश्यक सीप हाँसिल गरिनसकेका ‘वेटर’ले भने सालाखाला रु एक लाख ३० हजार तलब सुविधा प्राप्त गरेको पाइयो । अरु स्थानका तुलनामा टोकियो महँगो सहर भएकाले यहाँका ग्रामीण क्षेत्रमा काम गर्नेको कमाइ बढी हुने गरेको छ ।

सिनोकुवामा रेष्टुरेन्टका सबै मेनुमा नेपाली खाना रहने गरी खोलिएको भूषण घिमिरेको नेपाली मःम रेष्टुरेन्ट पनि त्यस क्षेत्रको लोकप्रिय रेष्टुरेन्टको सूचीमा छ । नेपाली रेन्टुरेन्टमा ग्राहकले नेपाली खानाको मूल्य रु एक हजारदेखि रु दुई हजार पाँचसयसम्म तिर्ने गरेको पाइयो । एउटा रेष्टुरेन्टले सामान्य हिसाबले सञ्चालन गर्न मासिक न्यूनतम रु ३० लाखसम्मको कारोबार गर्नुपर्छ । नेपाली खानाका अतिरिक्त जापानी, भारतीय, थाईलैण्ड र भियतनामका परिकार पनि त्यस्ता रेष्टुरेन्टमा बढी पाइन्छ ।

ठूला महल र व्यापारिक चोकमा भाडा तथा खाना महँगो पर्छ । होटल तथा विभिन्न कम्पनीमा काम गर्ने नेपाली महिलाको सङ्ख्या पनि उल्लेख्य छ । टोकियोको मध्यभागमा नेपाली मौलिक परम्परागत काठ र रातोका सामग्रीबाट सजावट गरिएको रातोमाटो रेष्टुरेन्टका सञ्चालक शिवहरि पौडेलले आफ्नो रेन्टुरेन्टमा नेपाली परिकारको स्वाद लिन युवायुवतीको बाक्लो उपस्थिति रहने गरेको प्रतिक्रिया दिनुभयो ।

जापानमा पछिल्लो समय रेष्टुरेन्टलगायतका व्यवसाय बढेको र आफूले १२ नेपालीलाई रोजगारी प्रदान गरिरहेको अभियन्ता घिमिरे बताउनुहुन्छ । एक दशकअघिसम्म जापानको कमाइले नेपालका ठूला सहरमा घरजग्गा किन्न सकिने भएपनि पछिल्लो समय भने नेपालमा बढेको महँगीले सकस भएको उहाँको भनाइ छ । पछिल्लो समय नेपालमा भएको महँगी र बेरोजारीको समस्याले अप्ठ्यारोमा पारेको अभियन्ता घिमिरे बताउनुहुन्छ । विदेशबाट फर्केका कैयौँ नेपाली स्वदेश फर्किएपछि पुनः विदेशिन परेका प्रशस्त उदाहरण छन् । जापानमा रहेका विदेशीमध्ये छैटौँ ठूलो जनसङ्ख्या नेपाली रहेको तथ्याङ्क छ । जापानमा रहेका नेपालीमा सबैभन्दा बढी विद्यार्थी छन् ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्षअघिदेखि नै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ रहीआएको छ । नेपालको विकासमा सहयोग गर्ने मुलुकमा जापान अग्रस्थानमा पर्छ ।

नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

काठमाडौँ, १७ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ ।

सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको हो । पार्टीका सबै कमिटीमा आबद्ध नेता तथा सम्बन्धित भूगोलमा अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाले परिपक्व नेतृत्व स्थापित गर्न सहयोग पुग्ने पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्य व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहितका कार्य गर्दै आएको छ । सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउन तथा सदस्यहरु विस्तार गर्न सदस्यता शुल्क, ‘लेबि’लाई व्यवस्थित गराउने र कार्यालय व्यवस्थापनको लागि सम्पर्क मञ्चहरु र सम्बन्धित कमिटीलाई आवश्यकताअनुसार दायित्व तोक्न सक्ने व्यवस्था गरिएको छ ।

महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक अवस्था तथा अन्तर्राष्ट्रिय घटनाक्रमको समीक्षा गरिएको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकतालाई केन्द्रमा राखिएको छ ।

प्रतिवेदनमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय समावेश गरिएको छ ।

मौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताउनुभयो । “हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि सुधार हुनेछ ।”

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताउनुभएको छ ।

चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया (बिएफए) लाई बिहीबार नेपालका तर्फबाट सम्बोधन गर्दै उहाँले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जिडिआइ) अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिनसक्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जिडिआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी पनि दिनुभयो ।

जिडिआइको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि चिनफिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर–सम्बन्धलाई जोड दिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन् ।”

पूर्वअर्थमन्त्री पौडेलले भन्नुभयो, “चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छ । पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र क्षमता विकासजस्ता क्षेत्रमा बढ्दो सहयोगले नेपालको राष्ट्रिय विकास प्रयासलाई गति दिनेमा हामी विश्वस्त छौँ । हामी पनि हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउने र नेपालको विशिष्ट विकास आवश्यकतालाई सम्बोधन गर्नेगरी परियोजनाहरू अघि बढाउन तत्पर छौँ ।”

जिडिआइको दिगो र समतामूलक विकासका लक्ष हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरु स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै उहाँले यसको पारदर्शिता र ऋण दिगोपनका चिन्तलाई भने दूर गर्न जरुरी रहेको बताउनुभयो ।

त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकता अनुरूप निर्माण हुने परियोजनाहरूले जिडिआइको उद्देश्य, आपसी विश्वास र समावेशीतालाई थप बलियो बनाउने उहाँको धारणा थियो ।

नेपालले बहुपक्षीयतालाई महत्व दिने र जिडिआई ढाँचा र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा हुने छलफलमा सक्रियरूपमा योगदान गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी सार्वभौमिक र सबैका लागि लाभदायक विकास एजेन्डालाई थप प्रवद्र्धन गर्न चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्न इच्छुक छौँ । विश्वमा थप समृद्धि, शान्ति र दिगो भविष्य निर्माण गर्न जिडिआइ एक शक्तिशाली माध्यम बन्न सक्छ भन्ने कुरामा नेपाल विश्वस्त रहेको छ ।”

बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्वपूर्ण अवसर दिएको उहाँको भनाइ छ । यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वल्र्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ ।

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो धारणा राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतका तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ । तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न । महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ । त्यसैले आजको दुनियाँमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ ।”

पछिल्लो समय सशक्तीकरणको विषय शक्तिसँग जोडिएकोमा पनि प्रधानमन्त्रीले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ । शक्ति अर्थसँग जोडिएको छ । आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तीकरण हुन सक्दैन । यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ ।”

सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई अझ बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “महिला उद्यमशीलताको विकासका माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ । सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवद्र्धन गर्न कर छुटदेखि अन्य सहुलियतपूर्ण व्यवस्था गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ ।”

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...