Page 3

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ, १५ चैत : पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।

मौसमविद् झाले रासससँग कुरा गर्दै भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।”

टरवाइनको परीक्षण अन्तिम चरणमा

रसुवा, १५ चैत : उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ ।

स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले निर्माण गरेका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो ।

तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न भइसकेको र बाँकी एकको परीक्षण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेका अनुसार रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने कार्य, बालुवा थिग्रयाउने, तीन पोखरी तथा रेडरेस एवं पेनस्टक सुरुङ र विद्युत्गृहसमेतका संरचना सम्पन्न गरी जडान गरिएका सबै उपकरणको परीक्षणमा पूर्ण रूपको सफलता मिलेकाले हालसम्म कार्यरत प्राविधिक उत्साहित भएका छन् ।

सो हाइड्रोपावरले वार्षिक रूपमा ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताउनुभयो । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दा वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदको याममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिट प्राप्त हुने बताइएको छ ।

निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको प्राविधिकले बताएका छन् । राष्ट्रिय प्रसारण लाइन निर्माणका लागि प्राविधिक तथा मजदुर अहोरात्र खटिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण लाइन महाशाखा प्रमुख थर्कबहादुर थापाका अनुसार टावर निर्माणकार्य द्रुत रूपमा अगाडि बढिरहेको छ । दैनिक रूपमा पाँच सय ५० मजदुर तथा दर्जनौँ प्राविधिकले रसुवाका डाँडापाखामा काम गरिरहेका छन् ।

उहाँका अनुसार समग्रमा टावर निर्र्माणको प्रगति ९५ प्रतिशत पूरा भइसकेको छ । अब एक महिनाभित्र रसुवागढीले उत्पादन दिने तर राष्ट्रिय प्रसारण लाइन भने कहिलेसम्म तयार हुन्छ भन्ने जानकारी प्राप्त भएको छैन ।

थाम्वुचेतबाट त्रिशूलीसम्म २८ किमी र त्रिशूलीबाट मातातीर्थसम्म ४८ किमी दूरी रहेको छ । निर्माण गर्नुपर्ने राष्ट्रिय प्रसारण लाइनका ७५ टावरमध्ये भौगोलिक विकटताका कारण अब निर्माण पूरा गर्न बाँकी १० वटा रहेका जनाइएको छ । ती टावरको काम यथाशक्य छिटो सम्पन्न गराउन प्रसारण महाशाखाका सम्पूर्ण प्राविधिक रसुवा केन्द्रित भइरहेको बताइएको छ ।

निर्माणको चरणमा रु १३ अर्ब ६० करोडको लागत अनुमानबाट सम्पन्न हुने सुरुको प्रक्षेपण गरिएको भए पनि भौगोलिक विकटता बाढीपहिरो सामान ढुवानीमा ढिलाइ, भूकम्प, कोभिड–१९ महामारीजस्ता विविध कारणले निर्माणमा ढिलाइ हुँदा वर्तमान अवस्थाको लागत ब्याजबाहेक रु १८ अर्ब ४७ करोडको हाराहारीमा खर्च हुने जनाइएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनको सामाजिक कार्यअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाले थुप्रै काम सम्पादन गरेको छ । सम्पादित काममा टिमुरेको तल तातोपानी पोखरी र पाटी निर्माण, टिमुरे गाउँमा भित्री सडक तथा नाली निर्माण, टिमुरे–खैदी बाटो, तातोपानी–दालगाउँ सडक, रोङ्गा–थुमन सडक, थुमन गाउँमा गुम्बा, फोहर व्यवस्थापन गर्न टिमुरेमा ल्याण्डफिल साइट, धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका लागि तीनतले कार्यालय भवन निर्माणलगायत आकस्मिक रूपमा परिआउने दर्जनौँ काम निर्माण सम्पन्न गरिसकेको र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सहयोग गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षायाममा स्याफ्रु–रसुवागढी खण्डको सडक दैनिक अवरुद्ध भइरहँदा आयोजना निर्माणको समयदेखि नै जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा रसुवागढी जलविद्युत् आयोजनाले सडकको अवरोध हटाएको थियो ।

नेपाल–चीनको आयात तथा निर्यात हुने मालसामान बोकेका कन्टेनर गुडाउन र स्थानीय बासिन्दाको आवतजावतमा सहज पारेर सडक यातायात सञ्चालनको सहजताले भन्सारको राजस्व असुलीमा सहयोग पुग्दै आएको गोसाइँकुण्ड गाउँपालिका–२ को कार्यालयले जनाएको छ ।

यस्तै रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन माथिल्लो र तल्लो साञ्जेन–२ जलविद्युत् आयोजनामध्ये १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनबाट विद्युत् उत्पादन भई उत्पादित विद्युत् चिलिमे केन्द्रको हवबाट राष्ट्रिय प्रसारण लाइनमा पठाइसकिएको छ ।

यसैगरी ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि निर्माण कार्य पूरा भई उपकरण तथा संरचना परीक्षण कार्य भइरहेका कारण सो आयोजनासमेत राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा रहेको प्राविधिकले बताएका छन् । राष्ट्रिय प्रसारण लाइनको काम यति समयसम्म सकिन्छ भन्ने जिम्मेवार प्राविधिकले अझै टुङ्गो लगाउन सकेका छैनन् ।

अब निर्माणको चरणमा अगाडि बढेका आयोजनालाई निर्माण भइरहेको राष्ट्रिय प्रसारण लाइनले साञ्जेन र रसुवागढीका अलावा २० मेगावाट लाङ्टाङ खोला, एक सय २० मेगावाट भोटेकोशी, दुई सय १६ मेगावाट अपरत्रिशूली–१, छ मेगावाट सुपर मैलुङ, ७३ मेगावाट सालासुङ्गी, १४ दशमलव तीन मेगावाट माथिल्लो मैलुङ, २० मेगावाट फलाखु खोला, ३७ दशमलव तीन मेगावाट त्रिशूली थ्रीबीका विद्युत् एकीकृत रूपमा केन्द्रीकृत गरी राष्ट्रिय प्रसारण लाइनमा पठाउन सहज हुने प्राविधिकले बताएका छन् ।

यसभन्दा अगाडि निर्माण भएको २२ मेगावाट चिलिमे, पाँच मेगावाटको मैलुङ दोभान, १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, २२ मेगावाटको चिलिमे विद्युत् स्याफ्रुबेँसी–माद्रेढुङ्गा ३८ किमी दूरीको राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् प्रवाह भइरहेको बताइएको छ । चिलिमेबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजान निर्माण गरिएको लाइनलाई दीर्घकालीन सोचले बढी पावरको लाइन निर्माण हुन नसक्दा पछिल्लो समय उत्पादित बिजुली प्रसारण गर्न समस्या आएको बताइएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो ।

कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्खलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ ।

यसअघि आयरल्याण्ड ‘ए’सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी–ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २–० ले जितेको थियो । पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच छलफल

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहनुभएको छ ।

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन

सौराहा (चितवन), १५ चैत : सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ । कोरानाकाल र त्यसपछिका दुई÷तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गररेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ ।” उहाँ पर्यापर्यटन नै आफूहरुको जीविकोपाजर्नको आधार भएको बताउनुहुन्छ ।

रत्ननगर नगरपालिका–६ सौराहाको रिभर साइडमा कोल्डस्टोरको व्यापार गर्दै आउनुभएकी सीता भट्ट पनि चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक यहाँका वन्यजन्तु, नदी, ताल, वनजङ्गल हेर्न नै आउने भएकाले तिनको संरक्षणका लागि सरोकारवाला निकायसँगै स्थानीय सबै लाग्नुपर्ने बताउनुहुन्छ । सो क्षेत्रका अधिकांश जनताको रोजगारी र आयको मुख्य स्रोत निकुञ्जको पर्यापर्यटन समेत बनेको उहाँको भनाइ छ ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवन राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्रमध्ये राजस्व सङ्कलनमा अब्बल बन्दै आएको छ । अपार जैविक विविधताको धनी यो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षकको केन्द्र हो । यो निकुञ्ज चितवन, पर्सा, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी चार जिल्लामा फैलिएर रहेको छ । निकुञ्जको राजस्व आम्दानीको प्रमुख स्रोत नै पर्यापर्यटन हो । संरक्षण क्षेत्रमा पर्यापर्यटन, काठ दाउरा र गैरकाष्ठ वन पैदावार बिक्री तथा न्यायिक दण्ड सजायलगायत शीर्षकमा राजस्व सङ्कलन गरिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा मातहतका संरक्षित क्षेत्रबाट आर्थिक वर्ष २०७९÷८० मा रु ७५ करोड ७७ लाख राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट मात्र रु २८ करोड १३ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार चालु आवमा निकुञ्जमा गत फागुनसम्म दुई लाख पर्यटक प्रवेश गरेको र रु २६ करोड हाराहारी राजस्व आम्दानी भएको छ । उहाँ भन्नुहुन्छ, “पर्यटक प्रवेशबापतको राजस्व सानो अंश मात्र हो । योभन्दा कैयौँ गुणा अन्य विभिन्न लाभहरु छन्, यसले समग्र मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाएको छ, होटल, रेष्टुराँ, पर्यटन व्यवसाय, होमस्टे, यातायातका साधनको सञ्चालन तथा स्थानीय उत्पादनको खपतले ठूलो मात्रामा रोजगारी र आम्दानी समेत सिर्जना भएको छ ।”

विश्व सम्पदा सूचीमा रहेको यस निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली हात्ती, गोहीलगायत वन्यजन्तु, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी, दृश्यावलोकन, स्थानीय सांस्कृतिक भेषभूषा आदि पर्यटकका मुख्य आकर्षकका केन्द्र रहेको प्रमुख संरक्षण अधिकृत पुनको भनाइ छ ।

पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु विचरन भइरहेको दृश्यावलोकनको लागि विभिन्न स्थानमा टावर निर्माण, जीप सफारी, पैदलयात्रा, डुङ्गा विहार, हात्ती सफारी आदि सेवा उपलब्ध गराइएका छन् । “यसबाहेक सौराहा सङ्ग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना, होमस्टेको सुरुआत र सञ्चालनले पर्यापर्यटन व्यवसाय प्रवद्र्धनमा टेवा पुगेको छ”, उहाँ भन्नुहुन्छ ।

एकसिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, जङ्गली हात्ती तथा घडियाल गोही यस निकुञ्जमा पाइने दुर्लभ वन्यजन्तु हुन् । दुर्लभ एकसिङ्गे गैँडा तथा पाटेबाघको मुख्य बासस्थानको रुपमा रहेको यो निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । निकुञ्जमा स्तनधारी, पन्छी, घस्रने, उभयचर, माछा, गौर, घडियाल गोहीलगायत विविध प्रजाति र वनस्पतिका साथै ठूला घाँसे मैदान, ताल र सिमसार छन् । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको छ । विसं २०३० असोज ४ गते स्थापना भएको यस निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किमी रहेको छ भने मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७२९.३७ वर्ग किमी रहेको छ ।

क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहा विभिन्न होटलमा चार हजार ८०० भन्दा बढीले रोजगारी पाएका छन् । “रोजगारी पाएका व्यक्तिका परिवारदेखि स्थानीय कृषि उत्पादन बिक्री वितरण र अन्य विभिन्न कार्यबाट थप हजारौँले रोजगारी पाएका छन्”, उहाँ भन्नुहुन्छ । सौराहा क्षेत्रमा मात्रै १६८ पर्यटकीय होटल छन् ।

अध्यक्ष गिरी चितवनलाई विश्वले चिनेको कारण नै निकुञ्ज भएको बताउँदै यहाँ पर्यटकको मुख्य आकर्षक निकुञ्ज र यसमा रहेका वन्यजन्तु नै भएको उल्लेख गर्नुहुन्छ । “यहाँको पर्यापर्यटन वन्यजन्तुसँग सम्बन्धित छ, संरक्षण गर्न वन्यजन्तुको बासस्थानको थप सुरक्षा र प्रवद्र्धन आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “चोरी शिकार नियन्त्रणका लागि सुरक्षा पोष्ट वृद्धि गर्नुपर्ने देखिएको छ । निकुञ्जको दिगो व्यवस्थापनका लागि स्थानीयमा जनचेतना र वैकल्पिक आयआर्जनका अवसर प्रदान गर्नुपर्छ ।” पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै राज्यले पनि पर्यापर्यटन विविधिकरणका लागि लगानी बढाउनुपर्ने अध्यक्ष गिरीको सुझाव छ ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कूल ७५२ गैँडा रहेकामा यस निकुञ्जमा सबैभन्दा धेरै छ सय ९४ रहेका छन् । यस्तै नेपालमा कुल पाटे बाघको सङ्ख्या तीन सय ५५ रहेकामा यस निकुञ्जमा एक सय २८ वयस्क बाघ रहेको निकुञ्जको तथ्याङ्क छ । निकुञ्ज क्षेत्रभित्र एक सय नौ र मध्यवर्ती क्षेत्रमा २१ गरी एक सय ३० साना ठूला ताल र घोल छन् भने नारायणी, राप्ती र रीउ नदी तथा स–साना खोल्सा रहेका छन् । अनुपम भौगोलिक बनावट तथा अद्वितीय जैविक विविधताले भरिपूर्ण यो निकुञ्ज २०४१ सालमा विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो ।

सौराहाका स्थानीय सुनिमा चौधरी निकुञ्जको पर्यापर्यटनले गर्दा नै घरआँगनमै रोजगारीका अवसर प्राप्त भएको बताउनुहुुन्छ । “आफ्नो योग्यता र सीपअनुसारको आयआर्जन गर्ने अवसर सिर्जना भएको छ । अर्काेतिर कृषि उत्पादनले बजार पाएको छ । गाउँगाउँमा बजारीकरण भएको छ । यसले स्थानीय जनतामा निकुञ्जको संरक्षणप्रति अपनत्वको अनुभव समेत भएको छ”, उहाँ भन्नुहुन्छ ।

यस निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यअन्तर्गत जैविक विविधता संरक्षण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, प्रजाति संरक्षण तथा व्यवस्थापन, पूर्वाधार विकास निर्माण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको चोरी शिकार नियन्त्रण, स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकास, पर्या–पर्यटन प्रवद्र्धन, मध्यवर्ती सामुदायिक वन व्यवस्थापन, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणलगायत गतिविधि सञ्चालन हुँदै आएका छन् । यसमा निकुञ्ज र सम्बन्धित कर्मचारी, नेपाली सेना, उपभोक्ता समिति, दातृ निकाय तथा साझेदार संस्था, संरक्षणकर्मी स्थानीयलगायत सरोकारवालाको योगदान छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण एवं विकासका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल मुख्य साझेदारका रुपमा रहेका छन् । नेपाल सरकारले डब्लुडब्लुएफ नेपालको आर्थिक सहयोगमा तराई भू–परिधि कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालमा संरक्षित क्षेत्रहरु आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रमुख गन्तव्य स्थानको रुपमा रहेका छन् । आव २०७९÷८० मा संरक्षित क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३२ हजार पाँच सय ३२ रहेको छ । चितवनमा मात्र दुई लाख ९२ हजार ३९२ पर्यटकले भ्रमण गरेका थिए । त्यसमध्ये नेपाली दुई लाख एक हजार आठ सय ८१, सार्क मुलुकका ३५ हजार सात सय ११ र विदेशी ५४ हजार आठ सय पर्यटक रहेका छन् । नेपालमा आउने पर्यटकको ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।

निकुञ्जको सौराहा, घटगाई, कसरा, वनकट्टा, मेघौली, कुजौली लौखानी र अमलटारी गरी नौ स्थानबाट पर्यटकलाई निकुञ्ज प्रवेश गर्ने सुविधा दिइएको छ । सौराहा प्रवेशद्वारबाट सबैभन्दा बढी ९०.८० प्रतिशत पर्यटक निकुञ्जभित्र प्रवेश गर्ने गरेका छन् । निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुङ्गाना निकुञ्जकै कारण यस क्षेत्रमा प्रत्यक्ष रोजगारीका साथै किसानले उत्पादन बिक्री गर्न पाएक बताउनुहुन्छ ।

“स्वरोगारका सम्भावना पनि बढेका छन् । यस क्षेत्रको ८०÷९० प्रतिशत रोजगारीका सिर्जनाको आधार नै पर्यापर्यटन हो । नमूना जैविक विविधता नै पर्यटकको आकर्षणका आधार हुन्”, उहाँ भन्नुहुन्छ । निकुञ्जको दिगो व्यवस्थापन लागि वातावरणमैत्री पूर्वाधार निर्माण आवश्यकतामा जोड दिँदै अध्यक्ष ढुङ्गाना यसका लागि तीनै तहका सरकारबीचको समन्वयमा दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिनुहुन्छ ।

यस निकुञ्जमा गैँडा, पाटेबाघ, सोस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइसरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राले यस निकुञ्जलाई अझ धनी बनाएका छन् ।
–––

सहकारी प्रकरणदेखि विनोद चौधरीबारे गृहमन्त्री : प्रतिशोध राख्ने काम हुनेछैन्

काठमाडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले उजुरी दर्ताको विषय सिधैँ गृहमन्त्रीकै तहबाट हेर्नेगरी संयन्त्र निर्माण गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासो आएको भन्दै यसको लागि व्यवस्थित संयन्त्रको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले भने, ‘उजुरी दर्ताको प्रवृत्तिमा गुनासो धेरै छ । त्यस्ता गुनासोहरु हाम्रो निकायका अधिकारीहरुले गरेका कमी कमजोरीहरुलाई गृहमन्त्रीकै तहबाट हेर्ने एउटा संयन्त्र बनाउने तयारीमा छौं । त्यसका लागि छलफल अन्तिम चरणमा छ ।

त्यस्तो हुँदा सोझै गृहमन्त्रीलाई पनि खबर आउने र आम जनमानसको चेतनालाई मध्यनजर राख्न सकिन्छ भन्ने लागेको छ । सोझै हामीसम्म आईपुग्ने संयन्त्रको लागि अन्तिम तयारीमा छौ ।’

यस्तै, उनले सांसदहरुले सुरक्षाको सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदैँ सुविधाका नाममा राष्ट्रसेवक कसैको भाडा माँझेर, लुगा धोएर र अगाडि पछाडी हल्लिएर नहिड्ने स्पष्ट पारे ।

उनले भने, ‘सांसदहरुले सुरक्षा माग गर्दा त्यसको अवस्था हेरेर गम्भीरतापूर्वक लिइएको छ । तर सुविधाका नाममा हाम्रा राष्ट्रसेवक कसैको भाडा माझेर, लुगा धोएर बस्दैनन् र अगाडि पछाडी हल्लिएर हिड्दैनन् । आवश्यकताका आधारमा गृहमन्त्री गम्भीर र जिम्मेवार छ । तर कानूनी अधिकारको दुरुपयोग गर्ने हो भने त्यसलाई हामी स्वीकार गर्न सक्दैनौ ।’

उनले राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने मानिस पदको लायक नभएको भन्दै आफ्नो कार्यकालमा कहींकतै त्यसको गुन्जायस नहुने दाबी गरे ।

उनले भने, ‘राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने हो भने त्यो मानिस त्यसका लागि लायक हुदैन् । राजनीतिक वा अन्य पूर्वाग्रहम आफ्नो कार्यकालमा आफ्नो तर्फबाट कहींकतै त्यसको गुन्जायस नहुने कुराको सुनिश्चित व्यक्त गर्न चाहन्छु । कानुनले दिएको अधिकारलाई दुरुपयोग गर्ने हो भने समाज कहाँ जान्छ, हामी यसमा सचेत छौ ।’

उनले विधिको शासनलाई ध्यानमा राखेर कानुन पालना गर्ने कुरामा कानुन पल्टाउने भन्दै कानुनभन्दा बाहिर रहेर प्रतिशोध राख्ने काम आफूबाट नहुने पनि बताए । सहकारी प्रकरणमा आफ्नो नाम मात्र उल्लेख भएको स्पष्ट पारे ।

‘उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,’उनले भने ।

उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै अहिले प्रभावित हुने काम नहुने बताए ।

त्यस्तै उनले सांसद विनोद चौधरीका बारेमा पनि जवाफ दिएका छन् । उनले पहिला थुन्ने र कुरा सुन्ने काम चौधरीको हकमा सरकारले नगरेको स्पष्ट पारे ।

‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन । पहिला सुन्नपर्छ, नसुनी थुन्न हुँदैन भन्ने कुरामा मेरो बुझाई छ’, उनले भने, ‘त्यहीअनुसार माननीय विनोद चौधरीको केसमा पनि भएको हो । कसैप्रति दुषित पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।’

गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद भएको हतियारबारे पनि स्पष्ट जवाफ दिएका छन् ।

‘दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरेको देखिएको छ’, उनले भने, ‘हतियारको मालिक एकजना देखियो । तर प्रयोग अर्कैले गरेको पाइयो। चलाउने ब्यक्तिको हातमा हतियार नभएको कुरा थाहा भएपछि अनुसन्धान हुँदैछ ।’ उनले कसैलाई विना कारण छाड्नुपरे आफैं पद छाड्ने पनि बताए ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन लागिरहने बताएका छन् । उनले उक्त हत्या प्रकरणबारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको पनि विश्वास दिलाएका छन् । आज (बुधबार) राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’ यसअघि गृहमन्त्री बन्दा लामिछानेले निर्मला पन्तको हत्यारालाई कारबाही गरेरै छाड्ने उद्घोष गरेका थिए । तर, उनी त्यतिवेला नागरिकता विवादको कारण ३२ दिनमै सरकारबाट बाहिरिएका थिए ।

नेपाल प्रहरीका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणमा शंकास्पद भूमिका देखिएपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्रियको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आईजीपी कुँवरले सो बताएका हुन् । महराले पीएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताए । “माननीय कृष्णबहादुर महराको विषय छ । आयोगको सिफारिस अध्ययन गर्यौँ । उहाँको स्वास्थ्यका कारण लिवरल हुने नै भन्ने थियो । तर, हामीलाई आभास भयो कि पक्राउ गर्नुपर्ने हो कि भन्ने त्यसैले ल्याइएको हो,” आईजीपी कुँवरले भने, “पीएसओ र गाडी छोडेर हिँड्नुभएको अवस्था थियो । त्यसपछि पक्राउ आवश्यक देखियो ।”

उनले अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए । “अदालतले पनि अस्पतालमै राखेर मुद्दाको कारबाही अघि बढाउनु भनेको र हिरासतमा बस्दा बस्दै अर्को घटना नहोस् भनेर छाडिएको हो,” कुँवरले भने, “हामी दबाब प्रभावमा परेको होइन ।”

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

काठमाडौँ, १४ चैत : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताउनुभयो । “हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ, अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ”, उहाँले भन्नुभयो, “यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन, आजदेखि सुदूरपश्चिम र मध्यमपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना छ ।”

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता

काठमाडौँ, १४ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको उक्त भेटघाटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण रुपमा कुराकानी भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राख्नुभएको थियो ।

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको जानकारी राजदूतले गराउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस प्रसङ्गमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गर्नुभएको थियो । साथै नेपालबाट चोरी भई अमेरिका पु¥याइएका मूर्तिहरु नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले जानकारी दिनुभएको थियो ।

छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराउनुभएको थियो ।

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

भक्तपुर, १४ चैत : बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पु¥याइएको जानकारी दिनुभयो । उहाँले परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभयो ।

“भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु”, शर्माले भन्नुभयो, “साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।” उहाँका अनुसार चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।

पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

परीक्षा दिने पाँच लाख बढी

बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट दुई/दुई, रुपन्देहीबाट चार जना छन् ।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जापानमा एक परीक्षा केन्द्र

यस वर्षको एसइई परीषमा जापानबाट २३ जना सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले बताउनुभयो । उहाँका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

प्रश्न पत्र र उत्तरपुस्तिका जिल्लाजिल्लामा

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तर पुस्तिकालगायतका सम्पूर्ण सामग्री बोर्डले सम्बन्धित जिल्ला पु¥याएको छ । बोर्डले यसवर्ष पाँच लाख प्रश्नपत्र छापेको जनाएको छ ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने छ ।

उत्तरपुस्तिका एवम् अन्य सामग्री कार्यालयले सातै प्रदेशबाट जिल्लाजिल्ला पठाइसकेको जानकारी दिँदै पौडेलले परीक्षाका लागि प्रदेश र जिल्लाले गर्ने तयारी पनि पुरा भएको जानकारी आएको बताउनुभयो । परीक्षा सञ्चालनका लागि आवश्यक बजेट भने सातवटै प्रदेशका प्रदेश सरकार, सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ ।

जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ । जापानमा केन्द्र रहेको स्कूलको प्रिन्सिपललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । हुलाकमार्फतमा उत्तर पुस्तिका पठाइएको जापानमा परीक्षा सुरु हुनु अगाडि इमेलमार्फत प्रश्नपत्र पठाइने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

परीक्षाका लागि खटिदै जनशक्ति

बोर्डका अनुसार एसइर्ई परीक्षाका लागि प्रत्यक्षरुपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन हुने भएका छन् । प्रति केन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी एक सय परीक्षार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ परीक्षा सहायक खटाइनेछ भने ५० परीक्षार्थी बराबर एक जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटाइने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३० हजार नौ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ ।

परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मीको सङ्ख्या थप हुन सक्ने पौडेलको भनाइ छ । उहाँका अनुसार सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले थप गर्न सक्नेछ ।

परीक्षा उतीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइर्ई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक पौडेलले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । उहाँका अनुसार ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने

Bengal tiger (Panthera tigris tigris) mother with cub age four months, Ranthambhore, Rajhasthan, India

चितवन, १४ चैत : निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकलमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवसर पाउँछन् । निकुञ्ज र मध्यवर्ती घुम्ने अधिकांश पर्यटकले एक सिङ्गे गैँडा भने हेर्ने अवसर पाउँछन् ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउँदै गर्दा दुई नयाँ गन्तव्यको खोजी गरेको छ । त्योमध्येको एक पाटेबाघ यहाँ आउने पर्यटकलाई देखाउने र अर्को दियालो दरबार प्रवेशको वातावरण बनाउने रहेको थियो । गत सातादेखि दियालो बङ्गला सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ ।

यससँगै आजदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्ने अवसर महानगरले दिलाएको छ । महानगरपालिका–६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रको आज उद्घाटन गरी सर्वसाधारणका लागि बाघ हेर्ने व्यवस्था मिलाइएको हो ।

केन्द्रको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले निकुञ्जभित्र खोरमा राखिएका बाघलाई केन्द्रमा ल्याएर सर्वसाधारणका लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । विभिन्न ठाउँमा मानिसलाई आक्रमण गरेर नियन्त्रणमा लिइएको बाघ यहाँको खोरमा राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्ज र आसपासका क्षेत्रका नरभक्षी बाघलाई निकुञ्जभित्रको सट्टामा बाहिर सर्वसाधारणले हेर्न मिल्ने गरी राखिएको हो ।”

उहाँका अनुसार आजदेखि यहाँ आउने पर्यटकले बाघ नहेरी फर्कनु पर्दैन । महानगरपालिकाले बाटो, मचान, कम्पाउण्डलगायत निर्माणमा रु एक करोड खर्च गर्ने गरि सो गन्तव्यको विकास गरेको उहाँले बताउनुभयो । यस क्षेत्रमा गैँडालगायत वन्यजन्तुसमेत ल्याएर खुल्ला चिडियाखानाका रुपमा विकास गरिने उहाँले जानकारी दिनुभयो । त्यहाँ आउने पर्यटकले तिरेको राजस्वले बाघलगायत वन्यजन्तुको पालनपोषण र रेखदेखमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

उपप्रमुख चित्रसेन अधिकारीले नयाँ गन्तव्य थप गरेर भ्रमण वर्ष सफल बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाघ हेर्न यहाँ आउने पर्यटक बढ्नेछन् ।” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले अब सर्वसाधारणका लागि बाघ हेर्ने अवसर मिल्ने बताउनुभयो ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले भरतपुरको पर्यटन प्रवद्र्धनमा यो सहयोगी हुने बताउनुभयो । निकुञ्जले बाँकेबाट विसं २०७८ फागुन १८ गते ल्याएको भाले बाघ र विसं २०७७ असोज १२ गते भरतपुर–१३ को वेलशहर सामुदायिक वनबाट नियन्त्रणमा लिएको भाले बाघ यहाँ ल्याइएको छ । बाँकेबाट ल्याउँदा सो बाघ छ वर्षको र बेलसहरको ११ वर्षको रहेका थिए ।

अझै निकुञ्जभित्र दुई पोथी बाघ र सौराहामा दुई भाले बाघ खोरमा रहेका छन् । नेपालमा सबैभन्दा बढी बाघ भएको निकुञ्ज यही हो । पछिल्लो गणनाअनुसार यहाँ एक सय २८ वयस्क बाघ रहेका छन् । देशभरको तथ्याङ्क तीन सय ५८ रहेको छ । चितवन पछि धेरै बाघ बर्दियामा रहेका छन् । त्यहाँ एक सय २५ वयस्क बाघ देखिएका थिए । निकुञ्जभित्र बाघले मानिसलाई आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिएर राख्ने गरिन्छ ।
–––

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...