Page 4

राजनीतिमा बंशवाद र नातागोता के हाे भन्दै सुहाङले सम्झाए

काठमाडौं । इलाम २ को उपनिर्वाचनको उम्मेदवार चयनमा एमालेले आइतबार एउटा ‘बोल्ड’ निर्णय गर्यो । एमालेले आफ्ना दिवंगत नेता सुवास नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई त्यस क्षेत्रका लागि आधिकारिक उम्मेदवार बनायो ।

सुहाङ जस्तै त्यो क्षेत्रमा उम्मेदवार हुन आकांक्षा राख्ने जिल्ला उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा.देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय संयोजक बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र कोशी प्रदेश सदस्य रिपल राई सुहाङलाई बधाई दिने पात्र मात्र बने ।

सुहाङ उम्मेदवार बनेपछि साहित्यकार एवम् समालोचक खगेन्द्र संग्रौलाले ट्वीट गर्दै लेखे,‘पितृशोकमा रहेका सुहाङ नेम्बाङप्रति मेरो सहानुभूति र समभाव छ । तर दिवंगत बाबुका छोराका नाताले आँशुका भोट बटुल्न सामन्ती बंशवादकै हुबहु नक्कल भएन र ? राजतन्त्र फाल्दा हामी बंशवादको विरोधमा थियौं, होइन र ?’

संग्रौलाको टिप्पणीले नेपाली राजनीतिको परम्परा जस्तै बन्दै आएको प्रवृत्तिप्रति प्रश्न खडा गरिदिएको छ । सुहाङलाई उम्मेदवार बनाएको निर्णय हेर्दा सामान्य लागेपनि राजनीतिमा ठूलो नैतिक प्रश्न बनेको भनेर टिकाटिप्पणी सुरु भएको छ । नेपाली राजनीतिमा २०४६ सालपछि यस्तै श्रृंखला दोहोरिँदै आएको छ ।

 

गाउँमा बसेर संगठन बनाउन, निर्वाचनको समयमा रातदिन खटेर मत माग्न, मतको सुरक्षा गर्नेदेखि प्रतिद्वन्द्वी शक्तिसँग भिड्ने नेताकार्यकर्ताहरु नै हुन्छन् । तर, जब नेताले अवसर वितरण गर्ने समय आउँछ, अनि उनको मुख्य ध्यानचाहिँ आफन्तको जीवन सुरक्षाका पक्षमा जाने गरेको प्रशस्त दृष्टान्तहरु पाउन सकिन्छ । नाता, त्यसमाथि आफ्नो परिवारकै सदस्य, निकटको आफन्त र विश्वास प्राप्त व्यक्तितिर निर्णय तहमा रहेका नेताको नजर जानुलाई गम्भीर नैतिक प्रश्नको रुपमा हेरिएको छ ।

देशको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि सत्ताको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डसम्मका नेताहरुको सोच र शैली बंशवादमा केन्द्रित देखिन्छ । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालादेखि एमाले महासचिब मदन भण्डारीसम्मलाई हेर्ने हो भने नाताबाद र बंशवाद भन्दा माथि उठ्न नसकेको प्रशस्त उदाहरणहरु देख्न पाइन्छ ।

 

नेपालका कांग्रेस–कम्युनिष्ट पार्टी र तिनका नेताहरुको फेहरिस्त केलाउने हो भने नातावादले नराम्रोसँग जेलिएको पाउन सकिन्छ । हाल सुहाङका पक्षमा आएको एमालेको निर्णय तत्कालीन नेता रवीन्द्र अधिकारीको निधन हुँदापनि श्रीमती विद्या भट्टराईको भाग्य उसैगरी चम्किएको थियो ।

कास्की क्षेत्र नम्बर २ बाट एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएर संघीय संसदमा प्रवेश गराउन सफल भयो । तत्कालीन पर्यटन मन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा विद्यालाई अघि सारिएको थियो ।

 

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको मुस्ताङमा कांग्रेसले पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा योगेशलाई २०७९ को निर्वाचनमा उम्मेदवार मात्र बनाएर संघीय सदनमै प्रवेश गरायो । अस्वस्थ्य शरीरका कारण राजनीतिमा विश्रामकै अवस्थामा पुगेका रोमीले छोरालाई राजनीतिमा स्थापित गराएरै छाडे ।

राजनीतिमा नातागोता र बंशवादको श्रृंखला लामो छ । स्थानीय तह, प्रदेश तह सबैतिर नातागोताको जगजगी छ । जसका कारण संगठनका सिपाहीहरु अवसरबाट बञ्चित हुने गरेका छन् ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी स्वर्गीय नेता मदन भण्डारीको श्रीमती हुन् भन्ने कुरा सबै नेपालीलाई जानकारी छ । राजनीतिमा सामान्य सक्रिय मात्र रहेकी उनले मदनकै श्रीमती भएका कारण राजनीतिक उचाइ लिइन् । त्यतिमात्र होइन कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग उनको दाजु–बहिनीको साइनो नै छ ।

 

राष्ट्रपति भण्डारी पूर्व राष्ट्रपति रामवरण यादवको भतिजी किरणकी सम्धिनी पनि हुन् । पूर्व राष्ट्रपति यादवका छोरा डा.चन्द्रमोहन पनि कांग्रेसका नेता नै हुन् । परिवारका व्यक्तिहरु राजनीतिमा भएका कारण विद्यालाई उत्प्रेरित गरेको बुझ्न सकिन्छ ।

नेपाली राजनीतिमा कोइराला परिवारको प्रभाव सबैभन्दा बढी देखिन्छ । सिन्धुलीको दुम्जा थातथलो भएका कोइराला परिवार विराटनगर बसाइसराइ भएपछि राजनीतिमा सक्रियता मात्र बढाएनन् कांग्रेसको राजनीतिमा ठूलो प्रभाव नै जमाए ।

 

मुलुकका तीन प्रधानमन्त्री जन्माउने कृष्ण प्रसादका जेठा छोरा मातृकाप्रसाद हुन् । उनी नेपालको प्रधानमन्त्री, नेपाली राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको सभापति भए । प्रधानमन्त्री भएर पनि राजदूत हुने उनी पहिलो व्यक्ति हुन् ।

उनकै छोरा कमल कोइराला कम्युनिष्ट नेता भएर काम गरेका थिए भने उनी पनि राजदूत भएर दक्षिण कोरियामा बसेका थिए । कृष्ण प्रसादका माइला छोरा विश्वेश्वर प्रसाद(बीपी)नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री नै भए । बीपीका कान्छा पुत्र डा. शशांक कोइराला कांग्रेस केन्द्रीय सदस्य छन् ।

बीपीका जेठा छोरा प्रकाश कोइरालाले पनि लामो समय राजनीति नै गरे । ५१ र ५६ सालको संसदीय निर्वाचनमा विजयी भएर वन तथा भू संरक्षण मन्त्रीसम्म भए । कृष्ण प्रसादका काइला छोरा केशव र पत्नी नोना कोइराला कांग्रेसको सक्रिय राजनीतिमा थिए । केशव र नोनाका जेठा छोरा डा. शेखर कोइराला कांग्रेस केन्द्रीय सदस्य छन् ।

कृष्ण प्रसादका अन्तरे छोरा तारणी प्रसाद कोइराला राजनीतिको साथै साहित्य र पत्रकारितामा समेत संलग्न थिए । उनको निधनपछि छोरी कल्पनाका श्रीमान् लक्ष्मण बहादुर बस्नेत कांग्रेसको राजनीतिमा सक्रिय भए । उनले कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको २२ वर्षसम्म अध्यक्षको पद छाडेनन् ।

कृष्ण प्रसादकै कान्छा छोरा गिरिजा प्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री भए । उनी नवौंदेखि ११औं महाधिवेशनसम्म पार्टीको सभापति भए । गिरिजा प्रसादकी एक मात्र छोरी सुजाता कोइराला मन्त्री र उपप्रधानमन्त्री भइसकेकी छन् भने हाल कांग्रेसको राजनीतिमा सक्रिय छिन् । सुजातालाई स्थापित गराउन गिरिजाले ठूलो कसरत गरेका थिए ।

कृष्ण प्रसादकी जेठी छोरी इन्दिरा आचार्य पनि राजनीतिमा थिइन् । इन्दिराकी जेठी छोरी शैलजा आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री बन्न सफल भइन् ।

इन्दिराकी कान्छी छोरीसँग कांग्रेस नेता चक्र बास्तोलाको विवाह भएको थियो । बास्तोलाकी भाञ्जी सरिता प्रसाईं कांग्रेसको राजनीतिमै सक्रिय छिन् । पूर्वउपप्रधानमन्त्री सुवर्ण शमशेरका नातेदारहरू कांग्रेसको राजनीतिमा हाल उदयशम्शेरले स्थान जमाइरहेका छन् ।

कांग्रेसका पूर्वउपसभापति तथा नेता प्रकाशमान सिंह कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंह र नेपाल महिला संघकी सस्थापक नेता मंगलादेवी सिंहका छोरा हुन् । गणेशमान सिंहका धर्मपुत्र पीएल सिंह काठमाडौं महानगरका मेयर नै भए ।

कांग्रेस प्रवक्ता तथा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण र डा. रामशरण महत नाताले दाजुभाइ हुन् । प्रकाशशरण निर्वाचनमा विजयी नै नभइ अर्थ, ऊर्जा र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाए । रामशरण कहलिएका अर्थमन्त्री भए ।

कांग्रेसका युवा नेता तथा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा बारम्बार मन्त्री भएका अर्जुननरसिंह केसी ज्वाइँ–ससुरा हुन् । केसीकी कान्छी छोरीसँग गगनको विवाह भएको हो । पूर्वसांसद जगदीश्वर नरसिंह केसी अर्जुननरसिंहका सहोदर भाइ हुन् । उनी कांग्रेस नुवाकोटको सभापति समेत भए ।

कांग्रेसका केन्द्रीय सदस्य स्वर्गीय खुमबहादुर खड्काकी श्रीमती शिलालाई सांसद नै बनाइयो । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड र सांसद मञ्जु खाँड श्रीमान श्रीमती हुन् । मञ्जु अहिले सांसदको लोगो भिरेर हिड्न सफल भएकी छिन् ।

 

कांग्रेस नेता उमेशजंग रायमाझी र राष्ट्रिय सभाका निवर्तमान सांसद रमेशजंग रायमाझी सहोदर दाजुभाइ हुन् । उनीहरुले राजनीतिमा प्रशस्त अवसर लिएका छन् ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्य र पूर्वएमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा श्रीमान–श्रीमती हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल र पूर्व सभासद् मीरा ध्वजु श्रीमान श्रीमती हुन् । उनीहरुले पार्टीबाट विभिन्न फाइदा लिइसकेका छन् ।

नेता राजेन्द्र पाण्डे र अर्का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे दाजुभाइ हुन् । पूर्व उपसभामुख डा. शिवमाया तुम्वाहाम्फे र प्रतिनिधिसभाका सदस्य भइसकेका विजय सुब्बा दाजु–बहिनी हुन् ।

 

नेकपा मालेका संस्थापक महासचिव सीपी मैनाली कम्युनिस्ट नेता राधाकृष्ण मैनालीका सहोदर भाइ हुन् । उनीहरुले राज्यको जिम्मेवार पदमा बसेर काम गर्ने अवसर पाए ।

प्रदेश मुख्यमन्त्री भइसकेका शंकर पोखरेल र प्रतिनिधिसभा सांसदमा जिम्मेवारी सम्हालिसकेकी सुजिता शाक्य श्रीमान–श्रीमती हुन् । पूर्वकानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ र प्रदेश सांसद भइसकेकी उषाकला राई श्रीमान श्रीमती हुन् । हालका मन्त्री रघुवीर महासेठ र प्रतिनिधिसभा सदस्य भइसकेकी जुली महतो श्रीमान श्रीमती हुन् ।

एमालेका पूर्वअध्यक्ष स्वर्गीय मनमोहन अधिकारी र एमाले नेता भरतमोहन अधिकारी दाजुभाइ हुन् । मनमोहनका छोरा बुहारी शान्ति अधिकारी सांसद नै बनिन् ।

 

नेकपा केन्द्रीय सदस्य पूर्व मुख्यममन्त्री हिक्मत कार्की र पूर्व सभासद् दीपक कार्की दाजुभाई हुन् । कार्की दाजुभाई एमाले अध्यक्ष केपी ओलीकै क्षेत्रका भएकाले पनि पटक पटक अवसर लिइरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकोे मेयर छिन् । रेणुलाई मेयरको टिकट दिलाउने बेलामा प्रचण्डले तत्कालीन गठबन्धनसँग ठूलै संघर्ष गर्नुपरेको थियो ।

दाहालकी कान्छी छोरी गंगाका श्रीमान् जीवन आचार्य कोशी प्रदेशमा मन्त्री भए । प्रचण्डकी बुहारी (छोरा स्वर्गीय प्रकाशकी श्रीमती) बिना मगर खानेपानी मन्त्रीको कुर्सी सम्हालिन् । दाहालका भाइ (काकाको छोरा) नारायण दाहाल अहिले राष्ट्रिय सभा अध्यक्ष छन् । नारायणलाई अध्यक्षको पद दिलाउन प्रचण्डले सत्ता समीकरण नै परिवर्तन गर्न भ्याए ।

नेता हरिबोल गजुरेल र नेता सीपी गजुरेल दाजुभाइ (दाजुभाइका छोराहरु) हुन् । पूर्व सभामुख ओनसरी घर्ती मगर र अर्थमन्त्री वर्षमान पुन श्रीमान श्रीमती हुन् । प्रचण्डका प्रिय पात्र मानिएका पुन दम्पत्ती सक्रिय राजनीतिमा मात्र छैनन् पदीय जिम्मेवारी आलोपालो रुपमा ग्रहण गरिरहेका छन् ।

उर्जामन्त्री शक्ति बस्नेत र पूर्वमन्त्री एवं सांसद सत्या पहाडी श्रीमान–श्रीमती हुन् । पूर्व गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माका भाइ अनिल शर्मा अखिल क्रान्तिकारी हुँदै पार्टीको विभिन्न तहमा सक्रिय छन् ।

 

माओवादी केन्द्रका महासचिब देव गुरुङकी श्रीमती यशोदा गुरुङ सुवेदी प्रतिनिधिसभा सदस्य भइसकेकी छन् । हितमान शाक्य र सांसद भइसकेकी अमृता थापा मगर श्रीमान श्रीमती नै हुन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी श्रीमान श्रीमती हुन् । हिसिलाले मन्त्रीसम्मको जिम्मेवारी लिइसकेकी छिन् । भट्टराईकी छोरी मानुषी पनि राजनीतिमै सक्रिय छिन् । उनी काठमाडौं ७ बाट प्रतिनिधि सभा सदस्य पदमा चुनावी प्रतिस्पर्धा नै गरिन् ।

 

अर्धभूमिगत वामपन्थी नेता मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाकी प्रतिनिधिसभा सांसद भइसकेकी दुर्गा पौडेल श्रीमान श्रीमती हुन् । दुर्गाले समानुपातिक र प्रत्यक्षगरी प्रतिनिधि सभामा अवसर नै पाइन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पूर्वमन्त्री जयन्त चन्द बाबु–छोरा हुन् । नेता राजेन्द्र महतोकी श्रीमती शैलदेवी महतो सभासद नै भइन् । राजकिशोर यादवकी श्रीमती सरिता यादव पूर्व सांसद नै हुन् । नेताहरुको नातागोताको लहरो लामो छ ।

 

स्थानीय तह र प्रदेशमा जिम्मेवारी पाएका नेताहरुको नाता सम्बन्ध केलाउने हो भने बंशवाद र नातागोताको हाँगाबिँगा बाक्लै देख्न पाइन्छ । विश्लेषक एवम लेखक डा.देवी क्षेत्री दुलाल नातागोता र बंशवाद स्वाभाविक भएपनि योगदान, सक्रियता र क्षमतालाई पनि मूल्यांकन हुनुपर्ने बताउँछन् ।

 

‘सहानुभूतिका नाममा परिवारका जोसुकै पात्रलाई अगाडि बढाउँदा सक्रिय कार्यकर्तामा निराशा छाउनसक्छ । संगठनभित्र विग्रह हुनसक्छ । यसबारे जुनसुकै दलहरु सचेत हुनुपर्छ,’ उनले भने ।

इलाम २ उपनिर्वाचनका लागि एमालेबाट उम्मेदवार बनेका सुहाङले २०७८ मा मात्र इलाम नगर कमिटीबाट एमालेको सदस्यता लिएका थिए भने हालसम्म मतदानको प्रयोग गर्ने अवसर पाएका छैनन् ।

 

३० वर्षसम्म उनैका बुबालाई निर्वाचन जिताउन लागेका नेतालाई पछिपार्दै टिकट लिएका सुहाङले संभवत यसैपाली पहिलो पटक मताधिकार प्रयोग गर्दैछन् । आफैं उम्मेदवार बनेर पहिलो पटक मताधिकार प्रयोग गर्न पाउने पहिलो नेता संभवत उनै हुनेछन् ।

गृहमन्त्रीकै अघि बडुले सोधे : सहकारी ठगीमा तपाईंको नाममात्र मिलेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताए ।

बडुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो ।  रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाममात्र मिलेको हो कि के हो ?’

बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिनेबेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताए ।

त्यस्तै, सांसद बडुले सुन तस्करी प्रकरण सम्बन्धि छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गरिनुपर्ने बताएका छन् ।

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट आ–आफ्नै उम्मेदवार, कांग्रेस अझै अनिर्णित

काठमाडौं । आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम २ को उपनिर्वाचनका लागि सत्तारुढ दलहरुले आ–आफ्नै उम्मेदवार उठाउने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले कुनै सल्लाह नै नगरी आफ्नो उम्मेदवारको नाम फाइनल गरेपछि गठबन्धनभित्र असन्तुष्टि पनि बढेको छ ।

माओवादी केन्द्रले बुधवार विहान मात्रै इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने निर्णय गरेपछि सत्तारुढ दलहरुले साझा उम्मेदवार उठाउने संभावना न्यून बन्दै गएको हो ।

बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय माओवादी केन्द्रले गरेको हो ।

‘सत्ता गठबन्धनमा रहेका दलहरू सबैले आ आफ्नै उम्मेदवार उठाउने भनेपछि हामीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेका हौं, माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने ।

उपनिर्वाचनमा एकीकृत समाजवादीले पनि उम्मेदवारी दिने बताइसकेको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले संचारमाध्यमहरुलाई जानकारी दिए ।

त्यस्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि आफ्नो अलग्गै उम्मेदवारी दिने लगभग अन्तिम तयारी गरिरहेको छ ।

इलाम–२ को वस्तुस्थिति बुझ्न सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई लामो समयदेखि खटाएको छ। पाँचदलीय गठबन्धनमा सामेल भए पनि आफूलाई अन्य दलहरुभन्दा फरक र रचनात्मक दाबी गर्दै आएको रास्वपाले आफ्नै उम्मेदवार अघि बढाउनेगरी अन्तिम तयारी गरिरहेको छ ।

छोटो समयको तयारीका बाबजुद २०७९ को आमनिर्वाचनमा आश्चर्यजनक नतिजा हात पारेको रास्वपा सोही लयलाई निरन्तरता दिने दाउमा छ। तनहुँ–१ को उपनिर्वाचनले रास्वपामा थप विश्वास थपेको छ।

तनहुँकै जस्तो नतिजा निकाल्न नसकेपनि रास्वपा पूर्वी पहाडमा आफ्नो संगठनको उपस्थिती बढाउन खोजिरहेको छ ।

उपनिर्वाचनका सवालमा एमाले आफ्नै तरिकाले अघि बढेपछि सत्ता साझेदार दलहरु बाध्य भएर नयाँ निर्णयमा पुगेका हुन् ।

सत्ता गठबन्धनमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी गरी पाँच दल सामेल छन्। यीमध्ये कुनै पनि दल एमालेले अघि सारेका उम्मेदवारलाई आगामी उपनिर्वाचनमा समर्थन गर्ने मनस्थितीमा छैनन् ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउने बझाङमा आफ्नो उम्मेदवारलाई सघाउने वातावरण तय गर्ने मनस्थितीमा थिए ।

सोही अनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तर सहकार्य गरिरहेका दलहरु आफ्नै तरिकाले अघि बढेपछि उपनिर्वाचनका सवालमा सत्ता गठबन्धनभित्र मत भिन्नता देखिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका सवालमा कुनै निर्णय गर्न सकेको छैन् । संभवत चैत्र १९ गते पदाधिकारीको बैठक बसेर उम्मेदवारको नाम टुंगोमा पुर्याउने तयारी कांग्रेसको छ ।

उप निर्वाचनका लागि गठबन्धन दलहरु आक्रमक रुपमा अघि बढेपनि कांग्रेस आन्तरिक विवादमा रुमलिएको छ ।

कांग्रेसले क्षत्र, जिल्ला र प्रदेशबाट एक नम्बरमा भेषराज आचार्यको नाम राखेर सात जनाको नाम पठाइसकेको छ ।

दोस्रोमा पूर्वसांसद केशव थापा र तोस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ ।

त्यस्तै संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम पठाइसकेको छ ।

कांग्रेसका आकांक्षीहरु काठमाडौंमा केन्द्रीय नेताहरुको घरदैलो गरिरहेका छन् । एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो ।

सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् ।

अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा, औसत उपलब्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ ।

चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार मन्त्रालयमा समीक्षा भएको थियो । समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्थापनमा चाप परेको उल्लेख गरेका थिए । उनले पूँजीगत खर्च बढ्न नसक्नु र राजस्व सङ्कलनमा देखिएका समस्या समाधानका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

पूँजीगत खर्च बढ्न नसकेका कारण राजस्व पनि बढ्न नसकेको अर्थमन्त्री पुनको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन अन्तरमन्त्रालय तथा अन्तरनिकाय समन्वय बढाउने र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने आवश्यकता पनि उनले औँल्याए । अर्थ मन्त्रालयअन्तर्गतका नियामक निकायको कार्य सम्पादन कमजोर रहेकाले अर्थमन्त्री पुनले तोकिएको वार्षिक लक्ष्य प्राप्त गर्ने गरी तदारुकताका साथ काम गर्न निर्देशन दिएका छन् ।

चालु आवका वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेका एक सय ७५ वटा लक्ष्य (माइलस्टोन) मध्ये एक सय ४० माइलस्टोन फागुन मसान्तसम्ममा सम्पन्न भइसक्नुपर्नेमा हालसम्म ३४ मात्रै सम्पन्न भएको, ९४ वटामा काम भइरहेका र १२ वटा अझै सुरु हुन नसकेको मन्त्रालयले जनाएको छ ।

स्रोत सहमति र बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड तर्जुमा गर्ने र कूटनीतिक नियोगको कर फिर्ता स्वचालित रुपमा गर्न कार्यविधि तयार पार्ने काम मन्त्रालयले सकिसकेको छ । चालु आवभित्रै विद्यमान कर प्रणाली सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने लक्ष्य राखिएकामा त्यस्तो समिति गठन भई अन्तिम प्रतिवेदन प्राप्तिको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, नयाँ भन्सार ऐन, सुरक्षित कारोबार ऐन र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनमा संशोधनका लागि संसद्मा विधेयक दर्ता भएका छन् । विदेशी मुद्रा सटही सम्बन्धमा नीतिगत व्यवस्था गर्ने र साना किसान, घरेलु तथा साना उद्यमी तथा स्टार्टअप व्यवसायीलाई विशेष प्राथमिकता दिन नीतिगत व्यवस्था गर्नेसम्बन्धी लक्ष्य पनि मन्त्रालयले हासिल गरिसकेको छ ।

चालु आर्थिक वर्षभित्रै ‘ट्रान्सफर प्राइसिङ’ निर्देशिका जारी गर्ने मन्त्रालयको लक्ष्य रहेकामा मस्यौदा तयार भई छलफलको चरणमा छ । त्यस्तै, आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबाट प्रयोग भइरहेको प्रणालीबीच अन्तरआबद्धता कायम गरी स्वचालितरुपमा सूचना आदानप्रदान गर्ने प्रणाली निर्माण गर्ने मन्त्रालयको वार्षिक कार्ययोजनामा छ । यसका लागि कार्यदलको प्रतिवेदन प्राप्त भई प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ परिमार्जनका लागि टोली गठन भई परिमार्जनको काम भइरहेको छ । विकास सहायता नीतिमा पुनरावलोकन गरी सहायता परिचालनमा प्राथमिकीरण गर्ने मन्त्रालयको योजना रहेकामा उक्त नीतिको प्रारम्भिक प्रतिवेदन तयार भई विज्ञहरुसँग परामर्श तथा राय लिने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा संशोधन गर्ने मन्त्रालयको वार्षिक लक्ष्य रहेकामा संशोधन विधेयक तयार भई अन्तिम छलफलको क्रममा छ । साथै राष्ट्रिय बीमा नीतिको मस्यौदा तयार भई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेस भएको छ ।

सरकारी भुक्तानी गर्दाकै बखत कर कट्टी भई दाखिला हुने स्वचालित प्रणाली विकास गर्नका लागि कम्प्युटरमा आधारित सरकारी लेखा प्रणाली ९सिगास० सँग अन्तरआबद्धता गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ । त्यस्तै, गैरकर राजस्वको दरमा गर्नुपर्ने परिमार्जन सम्बन्धमा अध्ययन गर्न समिति गठन भई काम भइरहेको छ ।

सार्वजनिक संस्थानमा शेयर तथा ऋण लगानी नीति स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने वार्षिक लक्ष्य रहेकामा उक्त नीतिको मस्यौदामाथि अर्थ मन्त्रालयमा छलफल भइरहेको जनाइएको छ । झुट्टा तथा नक्कली बीजक प्रयोग गर्ने करदाताको अनुसन्धान गर्न कार्यालयगत लक्ष्य तोकी अनुसन्धानको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्ने, वित्तीय समावेशिता रणनीति तर्जुमा गरी समावेशिता सूचक तयार गर्ने, धितोपत्र बजार तथा वस्तु विनिमय बजारको संरचना सम्बन्धमा अध्ययन गर्नेलगायत माइलस्टोनमा भने काम सुरु भएको छैन ।

आर्थिक सूचकको अवस्था

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीति गतवर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आवको माघ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा सात दशमलव ८८ प्रतिशत रहेको मुद्रास्फीति दुई दशमलव ८७ प्रतिशतले घटेर पाँच दशमलव ०१ प्रतिशत कायम भएको छ ।

गत वर्षको तुलनामा कूल सरकारी खर्च बढेको छ भने पूँजीगत खर्च घटेको छ । गत आवको फागुन मसान्तसम्ममा रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर सरकारी खर्च रहेकामा चालु आवको सोही अवधिमा दुई दशमलव ८६ प्रतिशतले बढेर रू आठ खर्ब एक अर्ब ५८ करोड पुगेको छ ।

गत आवको दोस्रो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा पूँजीगत खर्च भने तीन दशमलव ६० प्रतिशतले घटेको छ । गत वर्षको फागुन मसान्तसम्मा रू ८४ अर्ब २५ करोड बराबर पूँजीगत खर्च रहेकामा चालु आवको सोही अवधिमा रू ८१ अर्ब २१ करोड बराबर मात्रै रहेको जनाइएको छ ।

मन्त्रालयका अनुसार राजस्व परिचालन छ दशमलव ९७ प्रतिशतले बढेको छ । गत आवको दोस्रो चौमासिक अवधिमा रू छ खर्ब १७ अर्ब ९८ करोड बराबर राजस्व उठेकामा चालु आवको सोही अवधिमा रू छ खर्ब ६१ अर्ब सात करोड बराबर सङ्कलन भएको छ । कूल आयात, निर्यात र व्यापारघाटा घटेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ ।

विप्रेषण आप्रवाह गत आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा रू छ अर्ब ८९ करोड ८८ लाख रहेको चालु आर्थिक वर्षको सोही अवधिमा बढेर रू आठ खर्ब ३९ लाख पुगेको छ ।

गत फागुन मसान्तसम्ममा बीमाको पहुँच ४२ दशमलव ०२ प्रतिशत नागरिकसम्म पुगेको छ । चालु आव सकिँदासम्म बीमाको पहुँच ४२ दशमलव दुई प्रतिशत पु¥याउने सरकारी लक्ष्य थियो । पूँजी बजारमा पहुँच पुगेको सङ्ख्या अर्थात् डिम्याट खाता ५९ लाख ७१ हजार रहेको छ ।

चालु आवको अन्त्यसम्ममा सहुलियतपूर्ण कर्जा प्रवाह रू दुई खर्ब पाँच अर्ब पु¥याउन लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा रू एक खर्ब ५४ अर्ब पुगेको छ । यो अवधिसम्ममा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन रू ६१ खर्ब सात अर्ब र कर्जा लगानी रू ४९ खर्ब ९४ अर्ब बराबर रहेको छ ।

चालु आवको फागुन मसान्तसम्ममा व्यावसायिक स्थायी लेखा नम्बर ९बि–पान० लिनेको सङ्ख्या १९ लाख ५७ हजार दुई सय ५८, व्यक्तिगत स्थायी लेखा नम्बर ९पि–पान० लिनेको सङ्ख्या ४० लाख ५९ हजार सात सय ९१ र र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ९डब्ल्यु–पान० लिनेको सङ्ख्या ३१ हजार आठ सय ४० बराबर रहेको मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहलाई रू दुई खर्ब १२ अर्ब ३४ करोड १७ लाख र प्रदेशतर्फ रू ८७ अर्ब ६९ करोड ३० लाख बराबर हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा मन्त्रालयले फछ्र्यौट गर्नुपर्ने बेरुजु रू ८६ अर्ब पाँच करोड ३७ लाख २१ हजार बराबर रहेको छ ।

मेयर हमालका छोरी गोवाबाट सम्पर्कविहीन

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन हुनुभएको छ ।

ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी हिजोदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले छोरीको खोजीमा सहयोग गरी दिन हुन गोवामा रहेका नेपालीलाई आग्रह गर्नुभएको छ । मेयर छोरी आरती ओशो साधक हुनुहुन्थ्यो ।

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ।  प्रधानमन्त्री कार्यालयमा मङ्गलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभएको हो।

उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताउनुभयो।

“आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउनेछ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन्।” उहाँले तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन दिर्नेशन दिनुभयो।

“मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ।”

उहाँले सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिनुभयो।

सोह्रौं योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुर्‍याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ।”

वर्तमान राजनीतिक समीकरण जनताको समृद्धि र स्थायित्वका लागि हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

उदयपुर (गाईघाट), १३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभएको छ ।

उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताउनुभयो । देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र सुदृढ बनाउन वर्तमान समीकरण गरिएको उहाँको भनाइ थियो । एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो ।

भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने उल्लेख गर्दै उहाँले कानुनबमोजिम कारबाहीका लागि एमालेले पहल गरिरहेको उल्लेख गर्नुभयो । कोशी प्रदेशमा चाँडै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । एमाले उदयपुरको आजदेखि सुरु हुने नवाँै जिल्ला अधिवेशनमा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।

कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, स्थायी समिति सदस्य तथा उदयपुर इञ्चार्ज परशु मेघी गुरुङ, केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव टीकाराम चेमजोङ, एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

काठमाडौँ, १३ चैतः काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भएपनि यसले मूर्तरुप लिन भने सकेको छैन ।

बालाजु, पाटन र भक्तपुरमा सञ्चालित औद्योगिक क्षेत्रहरुको जीर्ण पूर्वाधार संरचना, घना मानवबस्तीमा सुरक्षा जोखिम र प्रदुषणको असरलगायत कारण स्थानान्तरण गरिनुपर्ने आवाज उठ्दै आएको छ । तर, एकातर्फ सरकारको योजना कार्यान्वयनमा सुस्तता देखिएको छ भने अर्कोतर्फ उद्योगीहरु पनि स्थानान्तरण गर्दा सिर्जना हुनेसक्ने समस्यामा सरकारको साथ खोजिरहेका छन् । यी क्षेत्रका उद्योगलाई कहाँ, कसरी र कहिले सार्ने टुङ्गो लाग्न सकेको छैन ।

पहिलोपटक आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमार्फत् सरकारले उपत्यकाभित्रका उद्योगहरु सार्ने नीति सार्वजनिक गरेको थियो । उक्त आर्थिक वर्षको बजेटमा दुई वर्षभित्र काठमाडौँ उपत्यकामा रहेका औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने व्यवस्था मिलाइने उल्लेख थियो । बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रका उद्योगलाई हेटौँडाको मयुरधापमा सार्ने योजना सरकारको थियो । तर मयुरधाप औद्योगिक क्षेत्र आफै बन्ने नबन्ने टुङ्गो नलाग्दा त्यहाँ उद्योग सार्ने योजना कार्यान्वयन हुन सकेन ।

केन्द्र सरकारको मात्र नभई प्रदेश सरकारले पनि उपत्यकाका उद्योगहरु सार्नका लागि सहजीकरण गर्ने नीति लिएको छ । बागमती प्रदेशको आर्थिक ऐन, २०७९ मा काठमाडौँ उपत्यकाभित्र रहेका उत्पादनमूलक उद्योगहरुले बागमती प्रदेशका अन्य जिल्लामा उद्योग स्थानान्तरण गरेमा उद्योगको नाममा जग्गा खरिद गर्दा लाग्ने घरजग्गा रजिष्ट्रेसन शूल्कमा ५० प्रतिशत छुट दिइने उल्लेख छ । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको आर्थिक ऐनमा पनि यो व्यवस्था राखिएको छ । तर उद्योगहरु आफै उपत्यका छोडेर जान नचाहँदा सरकारको नीतिको प्रभावकारिता उल्लेख्य रुपमा देखिन सकेको छैन ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद कँडेल उपत्यकाभित्रका औद्योगिक क्षेत्र सार्ने तत्काल कुनै योजना नरहेको बताउनुहुन्छ । “केही समयअघि यो विषय आएको थियो । तर अहिले नयाँ औद्योगिक क्षेत्र निर्माणबारे मात्रै हामीले सोचिरहेको छौँ । उपत्यकाका उद्योगलाई बाहिर सार्ने कुनै योजना छैन”, उहाँले भन्नुभयो ।

बालाजु औद्योगिक क्षेत्रमा एक सय ३५ वटा उद्योग सञ्चालनमा छन् भने चारवटा निर्माणाधिन छन् । त्यसैगरी, पाटनमा एक सय ११ वटा उद्योग सञ्चालनमा र चार वटा निर्माणाधिन छन् । भक्तपुरमा ३८ वटा सञ्चालनमा र एउटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् ।

मयुरधाप औद्योगिक क्षेत्र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) अझै स्वीकृत हुन नसकेको र त्यहाँ औद्योगिक क्षेत्र बन्ने हो वा होइन भन्नेसमेत टुङ्गो नलागेको निमित्त महाप्रबन्धक कँडेल बताउनुहुन्छ ।

उपत्यकाका औद्योगिक क्षेत्र अन्यत्र सार्नका लागि उद्योगीहरु आफै पनि तयार छैनन् । उद्योग सार्नेक्रममा सिर्जना हुने दायित्वको बोझ उद्योगहरुले बोक्न चाहिरहेका छैनन् । “उद्योगीहरुको ठूलो लगानी भएको हुन्छ । स्थानान्तरण गर्दा हुने खर्चको क्षतिपूर्ति कसरी दिने भन्ने स्पष्ट भएन । एउटा उद्योग भत्काएर अन्यत्रै लैजानु सजिलो काम होइन”, कँडेलले रासससँग भन्नुभयो, “पहिले यो विषय बजेटमा आउँदा उद्योगीहरुबाट केही विरोध पनि आयो । तत्कालीन समयमा उनीहरुले उद्योग सार्दा लाग्ने लागतको क्षतिपूर्ति सरकारले दिन्छ वा उद्योगी आफैले ब्यहोर्नुपर्छ भन्ने स्पष्टता खोजेका थिए । त्यसपछि सरकारको नीति तथा कार्यक्रम र बजेटमै यो विषय आउन छाड्यो ।”

उपत्यकाको घना बस्तीका बीचमा रहेका उद्योगबाट सिर्जित प्रदुषणको असर, दशकौं पूराना संरचना जीर्ण अवस्थामा पुग्दासमेत मर्मतसम्भार नहुनु, उद्योगका लागि नविनतम प्रविधि जडान गर्न नसक्नुलगायत कारण औद्योगिक क्षेत्र सार्नुपर्ने आवश्यकता महसुस सरकारले गरेको थियो । मुलुकको पहिलो औद्योगिक क्षेत्रका रुपमा रहेको बालाजु औद्योगिक क्षेत्र स्थापना भएको ६० वर्ष बित्यो । सरकारी निकायबाट त्यहाँ ४० भन्दा बढी औद्योगिक भवन, २० भन्दा बढी गोदाम, अन्य ग्यारेजसहितका २३ भन्दा बढी भवन बनाइएका छन् । निजी क्षेत्रबाट पनि संरचना बनाइएका छन् । त्यस्तै, विसं २०२० सालमै स्थापना भएको पाटन औद्योगिक क्षेत्र र विसं २०३६ सालमा स्थापना भएको भक्तपुर औद्योगिक क्षेत्रका पूर्वाधार संरचना जीर्ण बनिसकेका छन् ।

“स्थापनाकालमा औद्योगिक क्षेत्र वरिपरि बस्ती थिएनन्, तर अहिले बस्ती बसेका छन् । जसकारण वातावरणीय समस्याका विषयहरु पनि आएका छन्”, निमित्त महाप्रबन्धक कँडेल भन्नुहुन्छ, “न्यून वातावरण प्रदुषण हुनेगरी कसरी व्यवस्थापन र सञ्चालन गर्न सकिन्छ भन्नेबारे औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले काम गरिरहेको छ ।”

काठमाडौँ उपत्यकाभित्रका औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने वा नगर्ने र निश्चित प्रकृतिका उद्योगलाई मात्रै सार्नेबारे पनि बेला बेला बहस हुने गरेको छ । “यहाँका उत्पादनमूलक उद्योग सार्ने र सेवा क्षेत्र तथा सूचना प्रविधिका क्षेत्रका उद्योग मात्र त्यहाँ राख्ने भन्ने विषय पनि उठ्ने गरेका छन् । तर फेरि कुनै समस्या आए अत्यावश्यक वस्तु तथा सेवा बाहिरबाट ल्याउन सकिँदैन भन्ने पनि छ । औद्योगिक क्षेत्र भनेको उद्योगहरुका लागि हो, सेवा क्षेत्रलाई किन दिने भन्ने पनि हुनसक्छ । यहाँभित्रका उद्योगहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर एकीकृत धारणा बन्नसकेको छैन”, कँडेल भन्नुहुन्छ ।

उद्योगहरुको स्तरोन्नति तथा क्षमता बृद्धि गर्दा सहुलियत दिने नीति अहिले सरकारले लिएको भएपनि स्थानान्तरणका लागि भने कुनै योजना तथा कार्यक्रम नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमारका अनुसार नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने, उद्योगहरुलाई नयाँ प्रविधिका उपकरण जडानलगायतका काममा सहुलियत दिने नीति सरकारको रहेपनि स्थानान्तरण नै गर्नेबारे भने कुनै योजना छैन ।

बालाजु र पाटन आद्योगिक क्षेत्रका अधिकांश पूर्वाधार संरचना ६० वर्ष पुराना छन् । जीर्ण अवस्थामा पुगिसकेका भवन पुनःनिर्माण गरिनुपर्ने वा उद्योगीहरुलाई नै बनाउन सरकारले अनुमति दिनुपर्ने माग उद्योगीहरुले राख्दै आएका छन् । जीर्ण भवनका कारण उद्योगका कामदारलाई सुरक्षा जोखिम छ ।

औद्योगिक फोहोर व्यवस्थापनको समस्या छ । ढल व्यवस्थापनका लागि पनि समस्या रहेको छ । धेरै वर्षअघि बनेका यी औद्योगिक क्षेत्रमा ढल व्यवस्थापनका लागि अब खाली जग्गा छैन । धुँवा निस्किने उद्योगहरुमा अलिकति धुँवा आउने बित्तिकै स्थानीयहरुले गुनासो गर्ने गरेका छन् । विद्युत्, पानीलगायतका पूर्वाधारहरु पनि जीर्ण अवस्थामा छन् । जीर्ण अवस्थामा रहेको पूर्वाधारहरुलाई मर्मतसम्भार गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग पर्याप्त स्रोत साधन नरहेको निमित्त महाप्रबन्धक कँडेल बताउनुहुन्छ ।

“नयाँ संरचना निर्माण र मर्मतसम्भारका लागि हामीसँग भएको स्रोत साधनले भ्याउँदैन । भाडा पर्याप्त छैन । सरकारको स्रोतमा भर पर्नुपर्ने हुन्छ । आफ्नै आम्दानीले पूर्वाधार मर्मतसम्भार गर्नसक्ने अवस्थामा हामी छैनौँ”, उहाँले भन्नुभयो ।

यी ओद्योगिक क्षेत्रको भाडा समायोजनसम्बन्धी विवाद पनि लामो समयदेखि सुल्झिन सकेको छैन । अहिले यो विषय अदालतसम्म पुगेको छ । हरेक पाँच वर्षमा भाडा समायोजन गर्ने प्रावधानअनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गतवर्ष भाडा बढाउने निर्णय गरेको थियो । तर उद्योगीहरुले त्यसको विरोध गरे । उच्च अदालत पाटनबाट लिमिटेडको पक्षमा फैसला भएको र अदालतको आदेशको पूर्णपाठ आएपछि भाडा निर्धारणसम्बन्धी प्रक्रिया अघि बढाइने कँडेलले बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समिति सदस्य तथा नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहिरा पाठक पनि उपत्यकाका औद्योगिक क्षेत्रका संरचना जीर्ण बन्दै गएको र यसको पुनःनिर्माण आवश्यक रहेको बताउनुहुन्छ । “६० वर्षअघि परिकल्पना गरिएका औद्योगिक क्षेत्रका संरचना जीर्ण बनिसकेका छन् । केही धरापको अवस्थामा छन् भने कतिपय संरचना पूरानो प्रविधिका लागि मात्र उपलब्ध छन् । आधुनिक प्रविधिको मेसिन राख्नका लागि उपलब्ध छैनन्”, पाठक भन्नुहुन्छ, “जीर्ण र काम नलाग्ने बनिसकेको पूर्वाधार संरचनालाई कि सरकारले बनाउनुपर्छ कि त उद्योगीहरुलाई नै बनाउन दिनुपर्छ ।” केही उद्योगका पूराना प्रविधिका मेसिनहरु अहिले काम नलाग्ने र नयाँ प्रविधिले प्रतिस्थापन भइसकेका छन्, तर तिनको व्यवस्थापन हुन नसकेको उहाँ बताउनुहुन्छ । उहाँले उपत्यकाका उद्योगहरुलाई बाहिर सार्ने भनेर बजेटमा आएको विषयमा उद्योगीहरुसँग सल्लाह नभएको बताउनुहुन्छ ।

“उद्योग भनेको एकपल्ट लगाइसकेपछि आजीवन त्यहाँ हुन्छ भन्ने मान्यता छ । डेराजस्तो सारिरहन सकिँदैन । यदि अन्यत्र सार्ने नै हो भने त्यसपछि सर्न नपर्ने भन्ने स्पष्टता चाहिन्छ । भोलि त्यहाँ पनि बस्ती बस्दैन भन्ने सुनिश्चितता सरकारले गर्नुपर्छ”, पाठक भन्नुहुन्छ, “वातावरण प्रदुषण बढी भयो र जनघनत्व बढी भएका ठाउँमा उद्योगहरु सञ्चालन गर्नु चुनौतीपूर्ण हुन्छ भन्ने तर्क सुनिन थालेका छन् । तर सरेर जाने ठाउँमा ती समस्या आउँदैनन् भन्ने कुराको सुनिश्चितता के छ ?”

औद्योगिक क्षेत्र सार्दा केही उद्योगहरु सार्न सक्ने अवस्था रहेपनि सबै उद्योगलाई भने बाहिर सार्नै नसकिने तर्क पाठकको छ । पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका काष्ठकला, धातु तथा मूर्तिकलासँग सम्बन्धित उद्योगहरुको उदाहरण दिनुहुँदै पाठकले ती उद्योगहरु बाहिर सार्ने हो भने अस्तित्व नै सकिने दाबी गर्नुहुन्छ । त्यस्तै, उद्योगहरु सार्नका लागि लामो समय चाहिने भएकाले सार्ने अवधिभरको आर्थिक दायित्व कसरी व्यहोर्ने भन्ने पनि समस्या रहेको उहाँ बताउनुहुन्छ ।

“हामीले उत्पादित वस्तु ग्राहकसम्म पुर्‍याउने भनेर सम्झौता गरेका हुन्छौँ । यदि त्यो पुर्‍याउन सकिएन भने हामीलाई मात्र होइन बजारलाई पनि समस्या हुन्छ । विदेशबाट वस्तु आयात गरेर त्यसको माग पूर्ति गर्नुपर्ने अवस्था आउँछ”, उहाँले भन्नुभयो ।

भूकम्प, नाकाबन्दी, कोभिड-१९ महामारीलगायत कारण समस्यामा परेको उद्योगहरु अहिले विस्तारै तङ्ग्रिने क्रममा रहेको पनि उहाँले बताउनुभयो । यद्यपि, अस्थिर राजनीतिका कारण अझै अनेकौ समस्या भोगिरहेको पाठक बताउनुहुन्छ ।

“राजनीतिक उथलपुथल धेरै भयो । करका दरमा, बैंकका ब्याजदरमा स्थिरता देखिँदैन । सरकार परिवर्तन हुँदा नीति पनि परिवर्तन हुने अवस्था छ । एउटा निश्चित नीति बनाएर जानुपर्छ”, उहाँले भन्नुभयो । कुनै उद्योगी व्यवसायीले गरेको खराब कामका कारण समग्र निजी क्षेत्रलाई नै खराब भन्न नहुने पनि पाठक बताउनुहुन्छ ।

आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो

काठमाडौ १३ चैत : आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपालले आयरल्याण्डलाई जितको लागि एक सय ९९ रनको लक्ष्य दिएको थियो । जवाफमा आयरल्याण्डको पारी १८ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै एक सय २७ रनमा समेटियो । आयरल्याण्डका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए । उनले १३ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै मोर्गन टपिङ्गले २१, केड कारमाइकलले १८ तथा कप्तान निल रकले १७ रन बनाए ।

बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले तीन तीन तथा विवेक यादव, कुशल भुर्तेल र करण केसीले एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे ।

त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए ।

बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए ।

गाजा युद्धविराममा संयुक्त राष्ट्रको मतदान पछि बाइडेन–नेतान्याहूबीच टकराव

काठमाडौं । पछिल्लो समय अमेरिकाका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको खटपट सतहमा आएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–हमास युद्ध सुरु भएदेखि पहिलो पटक गाजामा तत्काल युद्धविरामको पक्षमा मतदान भएपछि अमेरिका र इजरायलको सम्बन्धमा केही चिसोपना आएको विदेशी संचारमाध्यमहरुले बताएका छन् ।

पटक-पटक अमेरिकाले युद्ध विरामको विषयमा मतदान गर्न खोज्दा भिटो प्रयोग गर्दै आएकोमा यस पटक भिटो प्रयोग गरेन । संयुक्त राष्ट्र संघको मतदानमा अमेरिका अनुपस्थित रह्यो भने अरु १४ सदस्यहरुले सुरक्षा परिषदले ल्याएको युद्धविरामको प्रस्तावको पक्षमा मतदान गरेको ‘द गार्जियन’ले जनाएको छ ।

‘रमादान महिनाको लागि तत्काल युद्धविराम गर्ने र त्यसपछि लामो युद्धविरामका लागि प्रस्ताव गर्ने र त्यसलाई नै लामोसमयसम्म लगेर स्थायी शान्तिको पहल गर्ने’ प्रस्तावमा उल्लेख छ । त्यसैगरी दुवैतर्फ बन्धक भएकाहरुलाई पनि रिहाइ गर्नु पर्ने उल्लेख गरिएको छ ।

उता, इजरायली प्रधानमन्त्री नेतान्याहुले मतदानमा अनुपस्थित भएर संयुक्त राष्ट्र संघमा अमेरिकाले आफ्नो नीति त्यागेको प्रतिक्रिया दिएका छन् । उनी अहिले पनि युद्धविरामको पक्षमा नरहेकाले यो प्रस्तावले लाभ नहुने बताए ।

इजरायलका दुई मन्त्रीको अमेरिका भ्रमण पनि रद्ध भएको छ । नेतन्याहुको कार्यालयले दक्षिणी गाजा सहर रफाहमा इजरायली आक्रमणको योजनाबद्ध रूपमा छलफल गर्ने उद्देश्यले आफ्ना दुई मन्त्रीहरू वाशिंगटन पठाउने तय गरे पनि संयुक्त राष्ट्र संघमा युद्धविरामको पक्षमा भएको मतदानमा अमेरिका अनुपस्थित भएपछि भ्रमण नै रद्द भएको हो ।
इजरायली २ मन्त्रीको अमेरिका भ्रमण रद्द हुनुलाई वासिंग्टनले निराशा व्यक्त गरेको छ ।

त्यस्तै, संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले सुरक्षा परिषद्को मतदानलाई ‘मानवताको विजयको लागि भोट’ को संज्ञा दिएका छन् । उनले यसलाई एक टर्निङ प्वाइन्टको रुपमा लिनुपर्नेमा जोड पनि दिएका छन् ।

मतदानलाई हमासले स्वागत गर्दै इजरायलसँग तुरुन्त कैदी आदानप्रदानका लागि तयार रहेको पनि बताएको छ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...