Page 5

अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : विदेश जाने श्रमिकमाथि अभद्र व्यवहार नहोस्

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन हेरेर देशको अवस्था कस्तो छ भन्ने कुरा विदेशीले थाहा पाउने भएकाले सुधार आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) अध्यागमन विभागको निरीक्षणमा पुगेका गृहमन्त्री लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमनलाई सुधार गर्न निर्देशन समेत दिएका छन् ।

अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न उपप्रधान तथा गृहमन्त्री लामिछानेले आग्रह गरेका थिए । ‘विदेशीका लागि अध्यायमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ,’ लामिछानेले भनेका थिए ।

गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने नेपालीलाई अध्यागमनले सहानुभूतिसहितको व्यवहार गर्नुपर्ने बताएका थिए । ‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह छ । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुहुन आग्रह छु,’ लामिछानेले भनेका थिए ।

नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा लामिछानेले जोड दिएका थिए । उनले अध्यागमनमा खटिने जनशक्तिलाई पर्याप्त तालिमको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै, कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती भएपनि सुधारको प्रयास जारी राख्नुपर्ने बताए ।

अध्यागनमा केही खराब मान्छेका कारण इमानदार कर्मचारीले पनि दुःख पाउने गरेको लामिछानेको भनाइ थियो । ’खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न । भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न । दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।’

अध्यागमन विभाग कालिकास्थान, काठमाडौंमा भएको कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए । विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे गृहमन्त्री र सचिवालाई जानकारी गराएका थिए ।

कांग्रेसपछि हाम्रो नेपाली पार्टीले पनि फिर्ता लियो बागमती सरकारलाई दिएको समर्थन

हेटौडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशमा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

केन्द्रमा नयाँ समीकरण बनेपछि गत फागुन २३ मा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ । हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीमा समेत आफ्नो दाबेदारी पेश गरको छ ।

केन्द्रको गठबन्धन अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा माओवादीका २१, एमालेका २७, एकीकृत समाजवादीका ७ गरि ५५ सदस्यको समर्थन रहेको छ । त्यस्तै ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस ३७ सिटसहित सबैभन्दा ठुलो दल रहेको छ । प्रदेशमा राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । बागमती प्रदेशमा राप्रपाका साभामुख रहेका छन् ।

यस्तो अंक गणितमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत लिन एक मत आवश्यक रहेको छ ।

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

default

म्याग्दी, १३ चैत : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो ।

“नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।”

सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताउनुभयो । यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ ।

सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो ।

तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो ।

विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ ।

सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

“सामान्य अवस्थामा २० मिनेटमा बेनीबाट मालढुङ्गा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ”, उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।” यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।

बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् ।

‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरलानाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्दै

कीर्तिपुर (काठमाडौँ), १३ चैतः राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।

व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउँन बन्दरगाह आइरहनुहुन्छ । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ । यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो ।

समुद्रसँग सम्पर्क नभएको हाम्रो देशमा यसअघि बनेका १४ वटा सुक्खा बन्दरगाहमध्ये चोभार बन्दगाह सबैभन्दा कान्छो, अत्याधुनिक र सुविधायुक्त छ । प्रायः सबै बन्दरगाह भारत वा चीनको सीमामा बनेका र अध्यागमनसहितका भए पनि यो भने देशको प्रमुख बजार नजिक र विशुद्ध मालसामान आयात निर्यातसँग मात्र सम्बन्धित छ । यतिमात्र नभई बन्दरगाहको एक भागलाई व्यवसायीले आफ्ना सामान भण्डारण गरेर राख्न सक्नेगरी आन्तरिक गोदामका रूपमा सञ्चालन गरिएको छ ।

आयात–निर्यातका लागि अत्यावश्यक मानिएका ‘लोड–अनलोड’ गर्ने यन्त्र, तिनलाई राख्ने गोदाम र र्याक व्यवस्था गरेर यसअघि भन्सारमा सामानको सुरक्षा सम्बन्धमा उठ्ने गरेका गुनासोलाई सम्बोधन गर्न खोजिएको छ । साथै सिसिटिभी क्यामेरा, सुरक्षाकर्मी तथा कन्टेनरको व्यवस्थापन आधुनिक तवरले गरिएको छ । सामानको भन्सार जाँचपास प्रक्रियाका लागि सबै संयन्त्रका साथै बैंक सुविधा पनि यहीँ उपलब्ध छ । विगतमा हिमाल सिमेन्ट कारखाना रहेको सुक्खा बन्दरगाहमा पाँच सयवटा कन्टेनर राख्न सकिन्छ ।
द्रुतमार्गको प्रतीक्षा

बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउने हो भने देशमा भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार हुनुपर्छ । त्यसैगरी निर्यात गरिने सामान पनि बन्दरगाहको जाँचपछि सोझै देशबाट बाहिरिने अवस्था हुनुपर्छ । “अहिले त्यसो हुन सकिरहेको छैन”, उहाँ भन्नुहुन्छ “अहिले देशमा आयातित सामान सर्वप्रथम वीरगञ्जलगायत सीमा कार्यालयमा रहेका भन्सार कार्यालयमा जाँचपास हुन्छन् र काठमाडौँ आइपुग्छन् । त्यसरी काठमाडौँ आइपुगेका सामानयुक्त कन्टेनरलाई चोभार पुग्नु र पुनः त्यहाँबाट फर्काएर बल्खु हुँदै विभिन्न गन्तव्यतर्फ लैजानु एउटा झैझन्झटको काम भएको छ ।”

“द्रुतमार्ग सञ्चालनमा आएपछि अहिले आयात र निर्यातकर्ताले भोग्नुपरिरहेका झन्झटिया प्रक्रिया खारेज हुन्छन्”, कार्यकारी निर्देशक गजुरेल बताउनुहुन्छ, “काठमाडौँबाट तराईलाई जोड्ने ७२ किलोमिटर लामो द्रुतमार्ग निर्माणाधीन छ । यो मार्ग सञ्चालनमा आएपछि सुक्खा बन्दरगाह नजिकबाट तराई (बारा जिल्लाको निजगढ) एक घण्टामा पुग्न सकिन्छ । यसले मालसामान ढुवानीका अधिकांश समस्याको समाधान गर्छ ।”

दु्रतमार्गको निर्माण एकातर्फ भइरहँदा बन्दगाहको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग सगकार्य गरेर व्यवसायीमैत्री ढङ्गले चलाउन थालिएको कार्यकारी निर्देशक गजुरेल बताउनुहुन्छ । यसका लागि गत वर्षसम्म बन्दरगाहलाई कार्यालय आफैँले व्यवस्थापन गरेकामा यस वर्षदेखि बोलपत्र आह्वान गरेर त्यसको व्यवस्थापन निजी क्षेत्रबाट हुन थालेको छ । ट्रान्स नेपाल टिआरएस लोजीपार्कले बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको छ । उक्त कम्पनीका प्रतिनिधि हरिश जोशीका अनुसार बन्दगाहको प्रयोगका लागि निजी क्षेत्र क्रमशः उत्साहित बन्दै जान थालेका छन् । वार्षिक रु तीन करोड बुझाउने गरी बन्दगाहको व्यवस्थापन गरिरहेको छ । कार्यकारी निर्देशक गजुरेल यसलाई समृद्धिका लागि निजी क्षेत्रसँग गरिएको वास्तविक हातेमालो भन्न रुचाउनुहुन्छ ।

व्यवसायी उत्साहित
पहिलोपटक चोभार बन्दगाह प्रयोग गरेका व्यवसायी पनि उत्साहित भएका छन् । इटालीबाट आयातित सामानको भन्सार जाँचपासका लागि त्यहाँ पुगेका एभेन्यु ट्रेड कन्र्सनका सञ्चालक विभोरकुमार अग्रवाल मुख्य कारोबार थलो (काठमाडौँ उपत्यका) नजिकै भन्सार जाँचपास गर्न पाउँदा सहज भएको बताउनुहुन्छ । “यसअघि हामीलाई भन्सार जाँच प्रक्रिया सम्पन्न गराउन यहाँबाट वीरगञ्ज गइरहनुपर्ने र सम्बन्धित ठाउँमा आफ्नो सामानबारे प्रष्ट पार्न नपाउने समस्या हुन्थ्यो । चोभारबाटै भन्सार पास हुने भएपछि धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो । भन्सारसम्बन्धी सबै प्रक्रिया अपनाउँदा सीमानाकाको भन्दा करिब १२ दिन चाँडो भन्सार जाँच भइसक्ने अनुभव उहाँले सुनाउनुभयो ।

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

राँझा (बाँके), १३ चैतः नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।

वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो । “यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका रिजालले भन्नुभयो, “वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत सङ्कलनको माध्यम पनि बन्दै गएको छ ।”

नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताउनुभयो ।

विसं २०६५ मा सुुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छभने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटरपार्क क्षेत्रभित्र छदेखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ । नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ । वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ । एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी वैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताउनुभयो ।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिनुभयो । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो ।

पर्यटकले मोटरबोट चढ्न रु दुई सय ५० तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालले बताउनुभयो ।

सशस्त्रको एक पल्टुनको एक फौज २४सै घण्टा सीमा गस्तीमा

काठमाडौँ, १३ चैतः सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको छ ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली २४सिै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँले सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको बताउनुभयो ।

यसकासाथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ । जिम्मेवारी ईलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक लगायतका वर्तमान स्थितिबारे जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुनगई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिबृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन हुनेछ । साथै एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग ‘लिङ्कअप’ गरी गस्तीलाई चक्रको रुपमा निरन्तरता दिने जनाइएको छ ।

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, १३ चैतः जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविद् राजु प्राधानाङ्गले आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको जानकारी दिनुभयो । विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको छ भने पारदर्शिता चार किलोमिटर छ । आजको न्यूनतम तापक्रम १३ डिग्री सेन्टिग्रेड तथा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्छिग्रेडको बीचमा रहनेछ । मौसमविद् प्राधानाङ्गले भन्नुभयो, “आज दिउँसोपछि काठमाडौँमा बदली भई हल्का वर्षाको सम्भावना छ ।”

यसैगरी आज राति देशभर आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे सो महाशाखाले जनाएको छ ।

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन

कञ्चनपुर, १३ चैत : शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पूख्र्यौली पेसाले जीविका चलाउन नसकेपछि उहाँको परिवार मुम्बई पलायन भयो । मुम्बई पुगेपछि उहाँको श्रीमान्को उतै मृत्यु भयो । श्रीमान्को मृत्युपछि परिवार चलाउनै मुस्किल भयो । ज्ञानुको दुख झन् थपियो । ज्ञानुको दुई वर्षअघि नेपाल आउने क्रममा रेलबाट खसेर दुवै खुट्टा गुमे ।

“रेलबाट खसेपछि दुवै खुट्टा काटिए”, उहाँले भन्नुभयो, “नजिकै रहेका प्रहरी र यात्रुहरुले रेल मुनिबाट तानेर ज्यान जोगाए ।” अस्पतालमा लागेको उपचार खर्च आफन्तसँग सापटी लिएर तिर्नुभयो । काटिएका दुवै खुट्टा अझै निको भएका छैनन् । ऋण लागेपछि दुवै छोराको पढाइ रोकियो । सामाजिक सुरक्षा भत्ता पाइएमा केही राहत हुने आशा छ । आफ्नो घर भत्किएपछि भारतबाट फर्केर छिमेकीकहाँ शरण लिएर बस्नुभएको छ ।

ज्ञानु बादी एउटा प्रतिनिधि पात्र मात्र हो । गर्जमुनिका १० परिवार बादीमध्ये पाँच परिवार भारत गएका छन् । मोहन, राजु, गणेश, पप्पु र भरत बादी घरमा ताल्चा लगाएर भारत गएका हुन् । मोहन, राजु र पप्पु बादीले छोराछोरी बस्तीकै अरुका जिम्मामा छोडेका छन् ।

“अरु परिवार श्रीमती छोराछोरी लिएर भारत गएका छन्”, श्यामकुमाल बादीले भन्नुभयो, “तीन परिवारले मेरै जिम्मामा उनीहरुका केटाकेटी छाडेर गएका छन् ।” भारतमा पुरुषले कुल्ली, चौकीदार, ज्यालादारी मजदुरी गर्छन् । महिलाले घर सरसफाइको काम गर्दै आएको उहाँले बताउनुभयो ।

बादी समुदायको पूख्र्यौली पेसा सुल्पा, हुक्कालगायत माटोका भाँडा बनाउने हो । तर समयक्रमसँगै त्यस्ता सामानले बजार नपाएपछि मजदुरीका लागि भारत जानुपरेको उहाँको भनाइ छ । “विगतमा नाचगान गर्दै गाउँटोलमा माग्ने काम चलन पनि थियो, केहीले गाउँका जमिन्दारको हलो जोत्थे”, उहाँले भन्नुभयो, “अहिले मागेर कसैले दिदैनन् माग्न पनि नराम्रो लाग्छ, त्यो काम सबैले छोडिसके ।”

आर्थिक अवस्था कमजोर भएकाले बादी समुदायका बालबालिकाका नियमित विद्यालय जान सकेका छैनन् । विद्यालयले किताब निःशुल्क दिएपनि पोसाक, कापी, कलमलगायतका स्टेसनरी खरिद गर्न धौधौ छ ।

“साँझ बिहानको खानाको छाक कटाएर शुःल्क तिर्दै आएका छौँ”, स्थानीय बिष्ना बादीले भन्नुभयो, “केही महिनाअघि सरस्वती पूजा भनेर बालबालिकाबाट रु एक सय ५० रकम विद्यालयले लियो, परीक्षा शुल्क भनेर अरु पैसा पनि लिन्छन् ।” विद्यालयले भर्ना र मासिक शुःल्क लिने गरेकाले मजदुरी गरेको पैसाले घरखर्च चलाउने की बालबालिकालाई पढाउने समस्या हुने उहाँको गुनासो छ ।

बादी समुदायको बस्ती निकुञ्जसँगै जोडिएको छ । हात्तीलगायतका जङ्गली जनावरको त्रास उत्तिकै छ । हात्ती आएको थाहा पाउन रातको समयमा बस्तीका घर देखिने बत्तिको माग गर्दै आए पनि व्यवस्था नभएको उनीहरुको गुनासो छ । स्याली नदीले बर्षेनि जग्गा कटान गरेको छ । बस्ती सुरक्षित बनाउन तटबन्धको माग गरेपनि पूरा नभएको पविसरा बादीले बताउनुभयो ।

दातृ निकाय र सरकारी निकायले सीपमूलक, आयआर्जन र रोजगारमूलक कार्यक्रममा गर्जमुनिका बादी समुदायलाई समेट्न नसकेको पविसराको आरोप छ । सुरक्षित आवास कार्यक्रमअन्तर्गत सम्पन्नले घर बनाए तर बादी समुदाय वञ्चित भए । स्थानीय सरकारले सञ्चालन गर्ने सय दिने प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत बादी समुदायलाई नसमेटिएको उनीहरुको दुखेसो छ ।

विपन्नका लागि कम्बल वितरण गर्ने कार्यक्रम नगरपालिकाले १२ वटै वडामा गरेपनि बादी समुदाय वञ्चित भएका छन् । गर्जमुनिका बादी समुदायसँग घरवासका लागि दुईदेखि तीन कठ्ठा जग्गा छ । केही परिवारले मजदुरी गरी घर बनाउन थालेपनि पूरा गर्न सकेका छैनन् । सामाजिक विभेद उत्तिकै छ ।

बादी समुदायलाई खाना पकाउन आगो बाल्न समेत समस्या छ । “निकुञ्जबाट दाउरा ल्याउन गए जरिवाना स्वरुप रु पाँच सय तिराइन्छ, सामुदायिक वनबाट दाउरा पाइदैन”, पविसराले भन्नुभयो, “बस्तीमा खानेपानीको अभाव छ । पहिला होटलमा चिया खाए गिलास धुनुपर्ने अवस्था थियो । त्यो भने हटेको छ ।”

गर्जमुनिका वडा अध्यक्ष चक्रबहादुर खडकाले बादी समुदायका लागि रु ५० हजार बजेटको व्यवस्था गरेको बताउनुभयो । बादी समुदायकै मागको आधारमा विनियोजित बजेटको कार्यक्रम बनाएर लागू गरिने उहाँले बताउनुभयो ।

नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका हुन् ।

“कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,” प्रधानमन्त्रीले भने, “असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु ।”

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्रीले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । “राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्,” प्रधानमन्त्रीले भने, “हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “म आफू पनि राष्ट्र र कानुन विपरितको कुनै पनि काम गर्दिन र तपाईहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।”

जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए ।

तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आईपुग्दा समेत पुँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्रीले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भईसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष होइन भने ।

भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गराई भुक्तानी गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी दिएको जनाएको छ ।

अख्तियारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडाअध्यक्ष राम ईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादव विरुद्ध मुद्दा दायर गर्दै जनही ९ लाख ७७ हजार १६ बराबरको बिगो कायम गर्दै सोही अनुसार सजाय गरी बिगोसमेत जफत हुन माग दाबी गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

सुदामा ताजा समाचार

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले...

राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी, काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा...

दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई...

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन...

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलबीच सहमति

काठमाडौं । यतिबेला चर्चामा रहेकोसंक्रमणकालीन न्याय सम्पादनलाई निष्कर्षमा पु¥याउन प्रमुख तीन दलहरु सहमत भएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग...

बीपी राजमार्गमा यात्रुले पाएको सास्ती

जी आचार्य गत असोज दोस्रो साता आएको अविरल वर्षाले अधिराज्यभर सामान्यदेखि मध्यमसम्मको क्षति पुर्याए पनि बीपी राजमार्गमा भने ठूलै क्षति पुर्याएको छ । यसै क्षतिका...