Page 7

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

काठमाडौँ, १२ चैतः होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।

गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको हकमा छानबिन भइरहेको छ ।”

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे्रे सात वटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।

फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली

भक्तपुर, ११ चैत : ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् ।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि आज पूर्णिमासम्म भीमसेन गुठीका गायजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसंगै बिदाई गर्दथे । तर अहिले मल्लकालीन समयमा नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी यस्ता गीत एवं दाफा लोपोन्मुख अबस्थामा पुगेको छ । फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई कमलपोखरीमा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हँुदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेका घर र पसलहरुमा घुमाएर चिर स्वायगू गरेपछि यहाँ फागु सुरु हुने परम्परा रहँदै आएको छ ।

दत्तात्रयस्थित भीमसेन मन्दिरमा वर्षौंदेखि पुजारीका रुपका काम गर्दै आउनु भएकी केशरी कपालीले भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकका रुपमा मानिदै आएको परम्परालाई धान्दै आउनु भएको छ । उहाँको छोरा कमल कपालीले यसको पुरानो परम्पराहरुमध्ये धेरै लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । उहाँले चार सय वर्ष पुरानो यो परम्परलाई धान्दै आएको बताउदै चिर स्वायगुको दिन काठबाट निर्मित भीमसेनको लिङ्गलाई काँधमा बोकेर कमलपोखरीमा लगेर सफा गरी बाजागाजाका साथ नगर परिक्रमा गर्दै मन्दिरमा ल्याएर झुण्ड्याउने गरिएको बताउनुभयो ।

लिङ्गको एक सातासम्म पूजा गर्ने परम्परा रहेको भन्दै उहाँले सन्तान नभएकाहरुले यसको पूजा गरेर प्रसाद ग्रहण गरेपछि सन्तान सुख प्राप्त हुने र छोरा नहुनेको छोरा हुने विश्वास अहिले पनि रहेको उहाँ बताउनुहुन्छ । भजन गाउने भजन मण्डल नै कम भएपछि यो परम्परा पनि लोप हुने अवस्थामा पुगेको छ । यसरी घर पसल घुमाउँदा भक्तजनले स्पर्र्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदै गएको उहाँ बताउनुहुन्छ ।

नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अर्थात लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा चार सय वर्ष अगाडिदेखि चल्दै आए पनि लिङ्गलाई काँधमा बोकेर घर, पसल डुलाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेको उहाँको भनाइ छ । पसल र घर टोलमा डुलाएपछि त्यसलाई ढोगेर दक्षिणा दिदाँ सन्तान सुख प्राप्त हुने र पसलमा व्यापार व्यवसाय बढ्ने जनविश्वास रहेको उहाँको भनाइ छ ।

‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रुपमा मनाइने यो पर्वमा यस्ता भजन एवं गीतहरु लोप हुने अवस्थामा पुगेको पूजारी कपाली बताउनु हुन्छ । यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात अबिरको होली, रिसायौँ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्साएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने उहिल्यको प्रचलन अहिले लोप भइसकेको भीमसेन मन्दिरमा वर्षौदेखि पूजारीको रुपका कार्यरत केहरी कपाली बताउनुहुन्छ ।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएकोे छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ । सात दिनसम्म स्थानीयले लिङ्ग र योनीको पूजा एवं दर्शन गर्ने गरेका छन् । काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनि आकारको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिन्छ । भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएका छन् ।

पाटीमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्छ, यसलाई यौन समागमको रुपमा लिइन्छ । विगतमा भीमसेन पाटीको बाहिर नै झुण्ड्याउने परम्परा रहे पनि यहाँबाट महिलाहरुलाई आवतजावत गर्न अप्ठ्यारो भएको गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलाको भीमसेन मन्दरमा झुण्ड्याउने गरेको कपाली बताउनुहुन्छ । यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने र द्रौपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने र दक्षिण चढाउने गर्छन् । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ भने कपासलाई बीर्यको प्रतिको रूपमा लिइन्छ । यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास रहेको उहाँ बताउनुहुन्छ ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वको रुपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ ।” वर्षांैदेखि यहाँ प्रेम र यौनको प्रतीकका रुपमा होली पर्व मनाउँदै आएको उहाँ बताउनुहुन्छ । डा श्रेष्ठले भन्नुहुन्छ, “भीमसेन भैरव हो, भैरव महादेव हो, द्रौपदी भैरवी हो, अर्थात् पार्वती, द्रौपदीका पाँच पति भनेर नकारात्मक सन्देश प्रवाह गरिन्छ, वास्तवमा पूर्वजन्ममा द्रौपदीको विवाह नै नभई मृत्यु भयो, अर्को जुनीमा उनले महादेवको तपस्या गरी पति माग गरेपछि महादेवले पाँच पटक तथास्तु भनेर वरदान दिएपछि पाँच पाण्डव उनको पति भए, त्यो पनि महादेवकै लीला हो, यसमा तान्त्रिक शक्ति छ, गलत अर्थ लगाउनुहुन्न ।”

मन्दिरमा झुड्याइएको काठको लिङ्ग भीमसेनको प्रतीकको रुपमा रहेको बताउदै उहाँले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । यो पुरुष शक्तिको प्रतीकको रुपमा रहेको भन्दै उहाँले तान्त्रिक विधिअनुसार यो वर्षौंदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर बलात्कारीको लिङ्ग भनेर गलत अर्थ लगाएर इतिहास, धर्म र संस्कृति मास्न खोज्नु गलत भएको उहाँको भनाइ छ । धार्मिक र इतिहासका प्रत्येक प्रमाणले यो बलात्कारीको लिङ्ग होइन, भीमसेनको प्रतीकका रुपमा राखिएको हो भन्ने पुष्टि गर्ने आधार धेरै रहेको भन्दै उहाँले वर्षांैदेखिको मान्यतालाई मास्ने प्रयास गर्न नहुने बताउनुभयो ।

साङ्केतिकरुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषतः भक्तपुरमा भीमसेन र द्रौपदीको यौन समागमसँग सम्बन्धित रहेको उहाँको भनाइ छ । चिर स्वायगू अर्थात लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होलीभरि शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँका केही व्यक्तिले धार्मिक आस्थामै ठेस पुग्ने गरी हचँुवाका भरमा बलात्कारीको लिङ्ग भनेर प्रचार गर्नु, धर्म संस्कृति र परम्परा मास्न खोज्नु गलत भएको इतिहास एवं संस्कृतिविद् डा श्रेष्ठ बताउनुहुन्छ । पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वासकै आधारमा झुण्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन् ।

आज फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा खनेको खाडलमा लगेर चोपल्ने र पखालेर पुनः मन्दिरमा राखेपछि यस वर्षकोे होली समाप्त हुने मान्यता छ । मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेको सन्तान नहुने र छोरा नहुने पुरुष हरेक वर्ष लिङ्ग बोकेर खोलामा लैजान पालो कुरेर बस्ने गरेको पुजारी कपाली बताउनुहुन्छ ।

वसन्तऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ । वसन्त ऋतुमा मानिसको मात्रै नभई चराचुरुङ्गी र पशुपक्षीमा पनि कामवासना हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । नेपाल भाषाका पत्रकार एवं स्थानीय अध्यता कृष्ण प्रजापतिले भीमसेनको मन्दिर चार सय वर्ष पुरानो रहेको भन्दै उहाँले यो परम्परा पनि चार सय वर्ष पुरानो रहेको बताउनुहुन्छ ।

भक्तपुरमा साक्षात दोलखा भीमसेनका रुपमा मानिँदै आएको पश्चिमतर्फ फर्केको परदेशी भीमसेनमा रातभरि जाग्राम बसेर बोला बली दिइ भोज गर्ने र रातभरि भजन गाएर धुनी जगाएर बस्ने परम्परा अहिले पनि रहेको छ । यहाँका गुठीहरुले यो परम्पराअनुसार आज होलीको दिन भीमसेनको लिङ्गको प्रतीकलाई पूजा गर्ने र द्रौपदीको योनी अर्थात् चिरलाई दहीको टीका लगाएर खटमा राखेर टोलमा घुमाउने गर्दछन् ।

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

काठमाडौँ, ११ चैतः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानकोे रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ ।

आगामी आवका लागि प्रदेशलाई रु ६० अर्ब र स्थानीय तहलाई रु ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएको आयोगले जनाएको छ ।

सङ्घीय सञ्चित कोषबाट सरकारले प्रदेश र स्थानीय तहलाई उनीहरुको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अनुदान तय गरी सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो ।

यो अनुदान सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान गरेर तीनवटा शीर्षकमा विभाजन गरिएको आयोगले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रदेशहरुले पाउने गरी सिफारिस गरिएको वित्तीय समानीकरण अनुदानको कुल रु ६० अर्बमध्ये न्यूनतम समानीकरण अनुदानका रुपमा रु १५ अर्ब, सूत्रमा आधारित समानीकरण अनुदानका रुपमा रु ४२ अर्ब ६० करोड र कार्यसम्पादनका आधारमा रु दुई अर्ब ४० करोड बराबर रहेको आयोगले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदानतर्फ कोशी प्रदेशलाई रु आठ अर्ब ९४ करोड ३२ लाख, मधेस प्रदेशलाई रु सात अर्ब ७९ करोड ९२ लाख, बागमती प्रदेशलाई रु आठ अर्ब २४ करोड ३४ लाख र गण्डकी प्रदेशलाई रु सात अर्ब ६३ करोड ८८ लाख बराबर उपलब्ध गराउन सिफारिस गरिएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशलाई रु आठ अर्ब २८ करोड ६४ लाख, कर्णाली प्रदेशलाई रु १० अर्ब ३६ करोड ६३ लाख र सुदूरपश्चिम प्रदेशलाई रु आठ अर्ब ७२ करोड २७ लाख बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन आयोगले सिफारिस गरेको छ ।

त्यसैगरी, स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदानतर्फ रु ८८ अर्ब उपलब्ध गराउन सिफारिस गरिएको छ । न्यूनतम समानीकरण अनुदानका रुपमा रु २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित समानीकरण अनुदानका रुपमा रु ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादन कार्यसम्पादनका आधारमा रु तीन अर्ब ५२ करोड बराबर उपलब्ध गराउन सिफारिस गरिएको आयोगले जनाएको छ ।

“प्रदेश तथा स्थानीय सरकारहरुले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान कुल वित्तीय समानीकरण अनुदानको क्रमशः २५ प्रतिशत र ३० दशमलव ३२ प्रतिशत हुने गरी हिस्सा निर्धारण गरिएको छ । यसरी न्यूनतम वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेशका हकमा जनसङ्ख्या र क्षेत्रफललाई ५०/५० प्रतिशत भार दिई प्रत्येक प्रदेशले प्राप्त गर्ने न्यूनतम अनुदानको हिस्सा निर्धारण गरिएको छ”, आयोगको सिफारिसमा भनिएको छ ।

त्यसैगरी, स्थानीय तहका हकमा न्यूनतम अनुदान सिफारिस गर्दा जनसङ्ख्यालाई मुख्य आधार बनाइएको छ । “न्यूनतम अनुदान सिफारिस गर्दा १० हजारभन्दा कम जनसङ्ख्या भएका स्थानीय सरकारलाई रु दुई करोड ७५ लाख र १० हजारभन्दा बढी तर दुईलाख भन्दा कम जनसङ्ख्या भएका स्थानीय सरकारलाई प्रतिदश हजार जनसङ्ख्या वृद्धिमा रु २५ लाख अनुदान रकम वृद्धि गरिएको छ”, आयोगले भनेको छ, “दुई लाखभन्दाबढी जनसङ्ख्या भएका स्थानीय सरकारलाई एकमुष्ठ रु सात करोड ७५ लाख न्यूनतम समानीकरण अनुदान निर्धारण गरिएको छ ।”

आयोगका अनुसार प्रदेश तथा स्थानीय तहहरुले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान कमशः रु १५ अर्ब र रु २६ अर्ब ६८ करोड ५० लाख समेत गरी कुल रु ४१ अर्ब ६८ करोड ५० लाख निर्धारण गरिएको छ । कुल वित्तीय समानीकरण अनुदानमा न्यूनतम वित्तीय समानीकरण अनुदानको हिस्सा २८ दशमलव १७ प्रतिशत छ ।
सूत्रमा आधारित वित्तीय समानीकरण अनुदान निर्धारण गर्दा सम्बन्धित प्रदेश तथा स्थानीय तहको मानव विकास सूचकाङ्क, आर्थिक–सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी पाँच वटा शीर्षकमा मूल्याङ्कन गरिएको आयोगले जनाएको छ ।

सूत्रमा आधारित वित्तीय समानीकरण अनुदानको रकम प्रदेशलाई रु ४२ अर्ब ६० करोड र स्थानीय तहलाई रु ५७ अर्ब ७९ करोड ५० लाख गरी कुल रु एक खर्व २९ करोड ५० लाख निर्धारण गरिएको छ । कुल समानीकरण अनुदानमा सूत्रमा आधारित समानीकरण अनुदानको हिस्सा ६७ दशमलव ८३ प्रतिशत रहेको छ ।

प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने कुल वित्तीय समानीकरण अनुदानको चार प्रतिशतले हुन आउने रकम अर्थात् रु पाँच अर्ब ९२ करोडलाई कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदानका रुपमा सिफारिस गरिएको छ । जसमध्ये रु दुई अर्ब ४० करोड प्रदेशलाई र रु तीन अर्ब ५२ करोड स्थानीय तहका लागि सिफारिस गरिएको छ ।

कार्यसम्पादनमा कोशी अब्बल, लुम्बिनी कमजोर
राट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा नेपाल सरकारबाट आगामी आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानका लागि प्रदेश र स्थानीय तहहरुको कार्यसम्पादन पनि विश्लेषण गरिएको छ ।

कार्यसम्पादनमा कोशी प्रदेशले सबैभन्दा धेरै ४० दशमलव ८९ अङ्क प्राप्त गरेको छ । मधेश प्रदेशले ३७ दशमलव ३१, बागमतीले ३७ दशमलव २९, गण्डकी प्रदेशले ३३ दशमलव ०७, कर्णाली प्रदेशले ३० दशमलव ९८ र सुदूरपश्चिम प्रदेशले ३१ दशमलव ०८ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर लुम्बिनी प्रदेश देखिएको छ । लुम्बिनीले २६ दशमलव ९९ अङ्क पाएको छ ।

आयोगले विभिन्न ११ वटा सूचकका आधारमा प्रदेशहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको हो । जसमध्ये, दुईवटा सूचकमा सबै प्रदेशको अङ्क शून्य देखिएको छ ।

सूचक दुई अर्थात् ‘प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम आयोगले तोकको आधार लागू गरी सशर्त अनुदान प्रदान गरेको/नगरेको’मा सबै प्रदेशले शून्य अङ्क पाएका छन् । यो सूचकको अङ्कभार १० छ ।

त्यस्तै, पाँच अङ्कभार रहेको सूचक तीन अर्थात् ‘गत आर्थिक वर्ष २०७९/८० मा सवारी साधन करवापत बाँडफाँट गरिएको ४० प्रतिशत रकम प्रदेश सरकारले मासिक रुपमा सम्बन्धित स्थानीय तहलाई चैत मसान्तभित्र उपलब्ध गराएको/नगराएको’ मा पनि सबै प्रदेशले शून्य अङ्क पाएका छन् ।

अङ्कभार १५ रहेको सूचक एक अर्थात् ‘अघिल्लो आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणबाट औँल्याएको बेरुजु फछ्र्यौटको अवस्था’ मा कोशी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशको शून्य अङ्क छ । यस सूचकमा मधेस प्रदेशले एक दशमलव ८१, बागमतीले पाँच दशमलव ९८ र गण्डकीले सात अङ्क पाएका छन् ।

प्रदेश सरकारको गत आर्थिक वर्ष २०७९/८० को विनियोजित रकमअनुसार खर्चको अवस्थाले सूचक चारलाई जनाउँछ । १५ अङ्कभारको यस सूचकमा गण्डकी र सुदूरपश्चिम प्रदेशको शून्य अङ्क छ । कोशीले चार दशमलव ३३, बागमतीले शून्य दशमलव १६, लुम्बिनीले एक दशमलव ६३ र कर्णालीले शून्य दशमलव ०६ अङ्क पाएका छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा प्रदेशले आफ्नो अधिकार क्षेत्रको राजस्व परिचालनलाई बुझाउने सूचक ५ को अङ्कभार २० छ । यसमा कोशी प्रदेशले एक दशमलव ५६, मधेस प्रदेशले १० दशमलव ५१, बागमती प्रदेशले एक दशमलव १५ र गण्डकीले एक दशमलव ०७ अङ्क पाएका छन् । त्यसैगरी, यस सूचकमा लुम्बिनी प्रदेशको शून्य दशमलव ३६, कर्णालीको पाँच दशमलव ९२ र सुदूरपश्चिमको प्राप्ताङ्क एक दशमलव ०८ छ ।

स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण स्थानीय तहले चैत मसान्तभित्र उपलब्ध गराएको/नगराएको मापन सूचक छले गर्छ । पाँच अङ्कभारको यो सूचकमा सबै प्रदेशले पाँच अङ्क पाएका छन् ।

सूचक सातले आगामी आर्थिक वर्षको आय–व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०८० पुस मसान्तभित्र सङ्घीय अर्थ मन्त्रालयमा पेश गरे/नगरेको जनाउँदछ । यो सूचक पाँच अङकभारको छ । मधेस र लुम्बिनीले यस सूचकमा शून्य अङ्क पाएका छन् भने अरु सबै प्रदेशले पूर्ण अङ्क पाएका छन् ।

गत आर्थिक वर्षको बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी त्यसको विवरण २०८० कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको कुरालाई सूचक आठले जनाउँदछ । पाँच अङ्कभारको यस सूचकमा मधेस प्रदेशले शून्य अङ्क पाएको छ भने अरु सबै प्रदेशले पूर्ण अङ्क पाएका छन् ।

गत आर्थिक वर्षको प्रदेश तहको वायुको गुणस्तर सूचकाङ्क मापन गर्ने सूचक नौको अङ्कभार पाँच छ । यस सूचकमा गण्डकी र कर्णाली प्रदेशले शून्य अङ्क पाएका छन् भने अरु सबै प्रदेशले पूर्ण अङ्क पाएका छन् ।

सूचक १० मा कोशी र मधेस प्रदेशले पूर्ण अर्थात् पाँच अङ्क पाएका छन् । बाँकी प्रदेशले शून्य अङ्क पाएका छन् । सूचक १० ले व्यवस्थित वनले ढाकेको क्षेत्रफलमा भएको वृद्धिलाई जनाउँछ ।

अङ्कभार १० रहेको सूचक ११ मा सबै प्रदेशले पूर्ण अङ्क पाएका छन् । यो सूचकले आयोगले कार्यसम्पादन सूचकका सम्बन्धमा तयार गरी प्रयोगमा ल्याएको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिभित्र प्रविष्टि गरे/नगरेको कुरालाई जनाउँदछ ।

विश्व क्षयरोग दिवसः उपचारको दायरामा आउने न्यून

काठमाडौँ, ११ चैत : ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस मनाइँदैछ । राष्ट्रिय क्षयरोग केन्द्रकाअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् ।

नयाँ थप बिरामीमध्ये करिब आधा मात्र उपचारका दायरामा आएकाकेन्द्रले जनाएको छ । तथ्याङ्क हेर्ने हो भने नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएका देखिन्छन् । साथै क्षयरोगका कारण बर्सेनी १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भन्नुभयो, “क्षयरोगको जोखिममा १५ देखि ४४ वर्ष उमेर समूहका मानिस छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दामाथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।” हाल मुलुकभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध हुने गरेको उहाँले जानकारी दिनुभयो ।

क्षयरोगको जोखिममा कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस रहेका डा श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रका निर्देशक डा श्रेष्ठले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै क्षयरोगविरुद्ध प्रभावकारी रुपमा लड्न नवीन रणनीति लागू गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा अझै पनि रहिरहनु चिन्ताजनक विषय भएको बताउनुभयो । उहाँले क्षयरोग निवारण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शुभकामना व्यक्त गर्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले क्षयरोग रोकथाम, निदान र उपचारको खाँचो रहेका सबैलाई उपचारको दायरामा आउन आग्रह गर्नुभयो । विशेष गरी जोखिम समूह, सीमान्तकृत जनसङ्ख्या तथा दुर्गम क्षेत्रसम्म यसको उपचार पुग्न आवश्यकता रहेको उहाँको भनाइ छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिइएको छ ।

उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

काठमाडौँ, ११ चैत : नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सुहाङ नेम्बाङ सोही क्षेत्रका एमाले नेता सुवास नेम्बाङका कान्छा छोरा हुनुहुन्छ । सुवासको मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।

नयाँ राजनीतिक सहकार्यले मुलुकमा आशाको सञ्चार

यस्तै आजको बैठकपछि उपमहासचिव ज्ञवालीले नयाँ राजनीतिक सहकार्य भएपछि मुलुकमा केहीमात्रामा आशाको सञ्चार भएको प्रतिक्रिया दिनुभएको छ ।

“हाम्रो पार्टी यस सरकार र सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्ने, अवरुद्ध भएका विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गतिदिने र देश राष्ट्रको हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस सङ्कल्प गरेको छ”, उहाँले भन्नुभयो ।

सरकारले पनि त्यही हिसाबले आफ्ना कामलाई अझबढी चुस्त बनाई समस्या केन्द्रित गरी जनतामा भरोसा जगाउने गरी अगाडि बढोस् भनेर एमालेले सुभेच्छा व्यक्त गरेको पनि जानकारी दिनुभयो । सो बैठकले मस्कोमा भएको आतङ्ककारी हमलाको निन्दा र भत्र्सना पनि गरेको छ ।

बैठकले पार्टीका नेता ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ । यसअघि महरले केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएको थियो । उपमहासचिव ज्ञवालीले नेता महरले पार्टी निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले पार्टीको विधानअनुसार उहाँलाई पुनःकेन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको बताउनुभयो ।

सन्दर्भः विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि

मध्यविन्दु (नवलपरासी), ११ चैतः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष र ८७ महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । नयाँ क्षयरोगीमध्ये दुई दशमलव आठ प्रतिशत बालबालिका छन् ।

साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको छ । क्षय रोग लागेर मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताउनुभयो । “जिल्लामा अहिले दुई सय ८४ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।”

जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताउनुभयो ।

जिल्लामा भेटिएका क्षयरोगीमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग ‘फोकल पर्सन’ डिल्लीराम तिवारीले बताउनुभयो । “जिल्लामा गत आव २०७९÷८० मा पाँच सय ४६ मा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आव २०७८÷७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाको मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७७÷७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।”

क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेको फोकल पर्सन तिवारीले बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर (ड्रक रेसिस्टेन्ट) होस्टल रहेको छ । चितवन जिल्लाका सात, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र तनहुँका एक–एक गरी १० जना डिआर क्षयरोगीको आवासीयरुपमा उपचार भइरहेको छ । “चालु आवको माघसम्म १७ जनामा डिआर क्षयरोगी भेटिएका छन् । चितवनका ११, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का चार, तनहुँ र पाल्पाका एक–एक जना डिआर क्षयरोगी परीक्षणबाट पुष्टि भएका छन्”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशमा डिआर होस्टल नवलपरासी (बर्दघाट सुस्तापूर्व)सँगै बागलुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा नौ सय ४५ डट्स केन्द्र रहेको छ । “जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङख्या बढ्दै गइरहेको छ”, फोकल पर्सन तिवारीले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”

क्षयरोग एक सरुवा रोग हो । जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उहाँले बताउनुभयो ।

विश्वका आठवटा देशमा मात्र क्षयरोगका दुईतिहाइ बिरामी रहेका छन् । ती रोगीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इण्डोनेसिया, सात दशमलव चार प्रतिशत चीन, सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।

नेपालमा गत आव २०७९÷८० मा ३७ हजार चार सय ४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा रहेको छ । सरकारले क्षयरोग निवारणका लागि आव २०७७÷७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२÷८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य निर्धारण गरेको छ ।

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

कञ्चनपुर, ११ चैत : विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताउनुभयो । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उहाँले राससलाई बताउनुभयो ।

धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताउनुभयो । “फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ”, उहाँले भन्नुभयो, “यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।”

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो । त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उहाँले बताउनुभयो । अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उहाँले बताउनुभयो ।

चराविज्ञ डगौराका अनुसार नेपालमा बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन् । तीमध्ये तीन प्रजाति रैथाने हुन् । बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्दछन् । बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ ।

उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन् । मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ । “अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “घट्नुको मुख्य कारणका रूपमा चोरी सिकारी नै हो ।” चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उहाँको भनाइ छ ।

नेपालकै मधेस प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको सिकार हुने गरेको पाइएको चौधरीले बताउनुभयो । “उखुबारीमा भएका बेला यस चराको सिकार भएको पाएका छौँ”, उहाँले भन्नुभयो, “होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ ।”

“छातीमा पहेँलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए, अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन्”, डगौराले भन्नुभयो, “पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुलर्भ भएको छ, सन् १९८० पछि पहिलोपटक देखिएका छन् ।” यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उहाँले बताउनुभयो ।

चोरी सिकारीसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा सङ्कटमा परेका छन् । बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कयौँ फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्दछन् भने सिकारी चराको सिकार पनि हुने गर्दछन् । सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्नु र कृषिमा अयिनन्त्रित तरिकाले विषादिको प्रयोग गर्दा पाहुना चरा यसबाट प्रभावित हुने गरेका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घले बगाले बगेडी चराको सन् २००४ देखि सन् २०१७ सम्म गरेको तथ्याङ्क विश्लेषणमा पनि सङ्कटापन्न अवस्थमा देखिएको छ । चराविज्ञ डगौराका अनुसार बगाले बगेडी चरा सन् २००० देखि २०१५ सम्म संवेदनशील अवस्थामा थियो । सन् २०१३ देखि २०१६ सम्म सङ्कटापन्न अवस्थामा थियो । त्यसपछि यसको सङ्ख्या निकै घटेको पाइएपछि सन् २०१७ देखि हालसम्म यो चरा अतिसङ्कटापन्न अवस्थामा छ ।

यो चरा खेतबारी र घाँसेमैदानमा पाइन्छ । साउनदेखि जेठमा प्रजनन गर्ने यो प्रजातिको पोथीले घाँसको प्रयोग गरी भुइँमा गुँड लगाउने गर्छ । यसको औषत आयु सात वर्ष हुने गरेको बताइएको छ । प्रजननका बेला पहेँलो रङमा देखिने बगाले बगेडी अरु बेला भँगेराजस्तै देखिने भएकाले चिन्न नै गाह्रो हुने गरेको छ । कैलाली, कञ्चनपुरसँगै बर्दिया, चितवन, झापा, कोशीटप्पु र मधेस प्रदेशका केही जिल्लामा बगाले बगेडी चरा पाइने गरेका जिल्लाका चरासम्बन्धी अन्य जानकारहरूले बताएका छन् ।

काठमाडौँमा आज पानी पर्ने सम्भावना

काठमाडौँ, ११ चैतः आज दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो अस्तीको तुलनामा आज मौसम केही सफा हुने भएपनि रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायूको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आशिंकदेखि मुख्यतया वदली छ ।

मौसमविद् अर्यालले भन्नुभयो, “नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आँशिकदेखि साधारणतया बदली रहेको छ ।”

काठमाडौँको अहिलेको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता पाँच किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम १३ दशमलब ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् अर्यालले बताउनुभयो ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भुभागका थोरै स्थानहरु र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

होलीमा विशेष सुरक्षा योजनाः उपत्यकामा ड्रोनबाट निगरानी

xf]nL kj{ sf7df8f}F, !! r}tM kmfu'k"l0f{dfsf] lbg cfh sf7df8f}Fsf] a;Gtk'/df /ªu v]n]/ xf]nL kj{ dgfpFb} ;j{;fwf/0f . tl:a/ M xl//fd e]6'jfn÷/f;;

काठमाडौँ, ११ चैतः नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आजदेखि तीन दिनका देशभर २९ हजार सात सय ३३ प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर सो सङ्ख्यामा प्रहरी परिचालन भएका छन्, विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ ।” होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ ।

यसैगरी प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्यूटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ ।

होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ–ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ, उच्छृङ्खल गतिविधि गर्नेलाई कारवाही हुन्छ ।”

होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाका र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखिनै जाँचको व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् भने ३० वटा मोबाइल भ्यान परिचालन भएका छन् ।

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँले फागुपर्व (होली) लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाको सुरक्षाव्यवस्थामा कडाइ गरेको छ । होली पर्वलाई सुरक्षित, मर्यादित बनाउन काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सव्य, भव्य तरिकामा फागुपर्व मनाउन सबैमा आग्रह गरेका छौँ, कानुन बिपरीत अबाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनन बमोजिम कडाभन्दा कडा कारवाही गरिने छ ।”
यसवर्षको होली पर्वका लागि उपत्यकामा मात्रै दुई हजार पाँचसय पोशाकधारी तथा पाँच सय जना सादा पोशाकमा गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । होली पर्वमा काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लापसे गरी सवारी चलाउने, मापसे गरी हो–हल्ला गर्ने, सर्व साधारणलाई त्रसिद बनाउनेलाई कडा कारवाही गरिने भन्दै प्रहरीले अहिले ठाउँ ठाउँमा माइकिङ समेत गरिरहेको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता अधिकारीका अनुसार आज दिउँसो १२ बजेसम्म उपत्यकामा होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएका छैनन् । उहाँले भन्नुभयो, “होलीकै कारण अप्रिय तथा उच्छृङ्खल गतिविधिका घटना भएको खबर आएका छ्रैनन, घटना हुन नदिन प्रहरी निकै चनाखो छ ।”

मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाईका साथ चेकजाँचको व्यवस्था गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “शान्त वातावरणमा होली मनाउन सबैमा आग्रह गरेका छौँ, होलीमा हुने सबैखाले गतिविधिहरु बिहानैदेखि ड्रोनबाट पनि निगरानी बढाइएको छ ।”

काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आज र तराईका क्षेत्रमा भोलि होली पर्व मनाइँदैछ । यसवर्ष काठमाडौँमा मर्यादितरुपमा होली मनाइरहेको देखिएको छ । युवायुवती स्वतःस्फूर्तरुपमा सडकमा आइ रङ खेलेर रमाइलो गरिरहेका देखिन्छन् । उनीहरु एकापसमा रङ र अविर साटासाट गरी रमाइलो गरिरहेका छन् । तर विगतका वर्षमा जस्तो जवरजस्ती बटुवा वा अपरिचित व्यक्तिलाई रङ फाल्ने तथा लोला हान्ने गतिविधि गरेका छैनन् ।

होलीपर्वलाई मर्यादित बनाउन प्रहरीले पनि गस्तीहरु बढाउने, माइकिङ गरी आ-आफै पर्व मनाउन र कसैलाई जवरजस्ती नगर्न आग्रह गरिरहेको छ । त्यसैगरी चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम पनि बढ्नसक्ने देखिएकाले त्यसो नगर्न पनि प्रहरीले आग्रह गरिरहेको छ ।

लुम्बिनी सम्मेलनको सन्देश : नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

लुम्बिनी, १० चैत : विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।

परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)द्वारा संयुक्तरुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् ।

‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सो सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि प्रार्थना गर्दै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्ति अपरिहार्य भएको सन्देश पनि प्रवाह गरेका थिए ।

यसका साथै उनीहरुले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण निर्माण गरिरहेको सन्देशसहित नेपालमा लगानीका लागि पनि उनीहरूले विश्वभर सन्देश प्रवाह गरेका एचसिसीएनका पदाधिकारीले बताएका छन् ।

आयोजकहरुले लुम्बिनीबाट शान्तिको सन्देशका साथै नेपाललाई लगानीको गन्तव्यका रुपमा चिनाउन र आगामी महिना नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको वातावरण निर्माण गर्न यो कार्यक्रमको आयोजना गरिएको बताएअनुसार नेपालमा विदेशी लगानी भित्र्याउने अवसरका रुपमा पनि यस सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।

धार्मिक एवं सांस्कृति पर्यटनका लागि लुम्बिनीको प्रचारप्रसार गर्न तथा नेपालमा विदेशी लगानी भित्र्याउनका लागि यहाँ लगानीको सहज वातावरण रहेको सन्देश प्रवाह गर्न लुम्बिनीमा विभिन्न देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्यदूतहरूको सहभागितामा सो कन्क्लेभको आयोजना गरिएकाले यसै विषयमा लुम्बिनीमा तीन दिनसम्म छलफल गरिएको थियो ।

आगामी महिना नेपाल सरकार, लगानी बोर्ड र उद्योग वाणिज्य महासङ्घसमेतको आयोजनामा नेपालमा लगानी सम्मेलनको आयोजना गरिएको छ । सो सम्मेलनका लागि नेपालमा बढीभन्दा बढी विदेशी लगानी भित्र्याउन यहाँ लगानीको वातावरण छ भन्ने सन्देश दिने काम यस तीन दिने सम्मेलनमा भएको आयोजकहरुले जनाएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति, समृद्धि र आर्थिक विकासलगायतका विषयमा विदेशी पाहुनाहरुसँग छलफल गर्नुभएको थियो । उहाँले शान्ति र समृद्धि एकअर्काका पूरक हुन् भन्दै यसको सन्देश लुम्बिनीबाट नै अन्तर्राष्ट्रियस्तरमा पुग्नु महत्वपूर्ण हो भन्नुभएको थियो ।

विभिन्न विषयका ‘सेसन’ आयोजना गरिएकामा ‘बिजनेस सेसन’ मा उहाँले विकासको गतिलाई थप अघि बढाउन शान्ति आवश्यक रहेको र लुम्बिनीले विश्वमा शान्तिको सन्देश दिने भएकाले यहाँबाट शान्ति र समृद्धिको सन्देश दिनु उचित रहेको बताउनुभयो ।

“नेपालमा व्यापार व्यवसाय गर्ने धेरै क्षेत्रहरु छन् । ती क्षेत्रमा लगानीका लागि कुनै कानुन वा नीतिले अवरोध गरेको छ भने त्यसलाई पुनरावलोकन गर्न नेपाल सरकार तयार छ”, उहाँले भन्नुभयो, “लगानीलाई प्रोत्साहन गर्न र आर्थिक विकासलाई गति दिन सरकारले लगानीकर्ताको सल्लाह र सुझावलाई गम्भीर रुपमा लिइरहेको छ ।”

सरकार परिवर्तन हुनु भनेको नीतिमा परिवर्तन नभएको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “म सबै राजदूत र कूटनीतिज्ञहरुलाई आ–आफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गर्दछु ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं एचसिसीएनका सहायक डिन चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धको महत्वका बारेमा चर्चा गर्दै नेपालमा लगानीका लागि विश्व समुदायसँग आग्रह गर्नुभयो ।

अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्तिको सन्देश विश्वव्यापी फैलाउन र नेपालमा लगानीका अत्यधिक अवसरहरु रहेकाले ती अवसरको सदुपयोग गरी यहाँ लगानी गर्न कूटनीतिक समुदायमार्फत विश्वका लगानीकर्तासमक्ष आग्रह गर्नुभयो ।

“शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू बिना कुनै डर स्वतन्त्रपूर्वक सञ्चालन हुँदा लगानीको वातावरण थप प्रवद्र्धन हुँदै उद्यमशीलता विस्तार हुन्छ र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण निर्माण हुन्छ”, उहाँले भन्नुभयो, “लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको सन्देश विश्वभर पुर्याउँ र लगानीको वातावरणको उपयोग गरी नेपालमा थप लगानी भित्र्याउँ भनी विश्वका लगानीकर्ताहरुलाई म आह्वान गर्दछु ।”

अध्यक्ष ढकालले नेपालमा आगामी महिना आयोजना गरिएको लगानी सम्मेलनमा बढीभन्दा बढी लगानीकर्ताहरुलाई सहभागी गराइ लगानी जुटाउन, आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत् तथा स्वच्छ ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा बाह्य लगानीका लागि लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गरिरहेको पनि जानकारी दिनुभयो ।

नेपाल लगानी बोर्डका प्रमुख सुशील भट्टले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालमा वैदेशिक लगानीका लागि राम्रो अवसर र सहज वातावरण रहेको बताउँदै लगानीकर्तालाई ढुक्कसँग नेपालमा लगानी ल्याएर आउन आह्वान गर्नुभयो ।

नेपालमा कृषि, ऊर्जा, पर्यटन, उद्योग जस्ता क्षेत्रमा वैदेशिक लगानीका लागि राम्रो अवसर भएको उहाँले बताउनुभयो । नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावना र लुम्बिनीको पर्यटकीय महत्वको बारेमा जानकारी गराउनुभयो । उहाँले लुम्बिनीजस्तो शान्ति भूमिमा धार्मिक एवं सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्ने खालको लगानी गर्दा राम्रो हुने धारणा राख्नुभयो ।

एचसिसीएनका तर्फबाट डिन विष्णुकुमार अग्रवालले यस सम्मेलनले समृद्धिका लागि शान्तिको आवश्यकतामा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वका कैयन् राष्ट्रका राजदूतको यो उपस्थितिले बुद्ध जन्मभूमिलाई सम्मान मात्र गरेको छैन, अझ बढी शान्तिपूर्ण र समृद्ध विश्व बनाउनका लागि पनि योगदान गरेको छ ।”

उहाँले एचसिसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्नुका साथै प्रविधि स्थानान्तरण तथा व्यापार व्यवसाय विस्तारमा भूमिका निर्वाह गर्दै आएको जानकारी पनि दिनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले लुम्बिनी क्षेत्रमा पर्यटन पूर्वाधार र आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रमा पर्याप्त विकास भए पनि यस खालका अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना हुँदा आर्थिक गतिविधि बढ्ने अपेक्षा गर्नुभयो ।

उहाँले राज्य तथा निजी क्षेत्रले लुम्बिनीलाई प्राथमिकतामा राखेर यस प्रकारका अन्तर्राष्ट्रिय सम्मेलनहरुको आयोजना नियमित रुपमा गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

सो सम्मेलनका सहभागीहरुले विश्व शान्तिको केन्द्र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित सम्मेलन शान्तिपूर्ण र समृद्ध विश्व बनाउने आधारशिला निर्माणमा उपयोगी भएको विश्वास व्यक्त गर्दै विश्वका लगानीकर्ताहरुलाई नेपाल एक आकर्षक लगानी एवं पर्यटन गन्तव्य भएको सन्देश प्रवाह गर्न सफल भएको बताएका थिए ।

शुक्रबार सम्पन्न सो सम्मेलनमा सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिकका गैरआवासीय राजदूतको सहभागिता थियो ।

सुदामा ताजा समाचार

खुर्पा प्रहार गरी छोराको हत्या

१७ जेठ, चितवन । पूर्वी नवलपरासी नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६३ वर्षीय...

आर्थिक वर्षको बजेटले राख्यो,सुरुङमार्गलाई विशेष प्रामिकतामा

 काठमाडौं । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ...

बेलबारी फुटबल क्लवले जित्यो,भीमनारायण गोल्डकपको उपाधि

हिले, जेठ १७ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार...