Page 8

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व प्रतिस्थापन विधेयकमा समयको चाप

काठमाडौँ, १० चैत : आर्थिक वर्षको बजेट ल्याउनु तीन महिना अघि नै संसद्मा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल गर्ने व्यवस्थासहितको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ यही चैत २१ गतेभित्र पारित हुनुपर्ने बाध्यता रहेको छ ।

तत्कालीन समयमा संसद्को अधिवेशन सञ्चालन नभएकाले सरकारले गत माघ ४ गते ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश’ ल्याएको थियो । नेपालको संविधानको धारा, ११४ को उपधारा (२) बमोजिम उक्त अध्यादेश ६० दिनभित्र सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत भई पारित हुनुपर्नेछ ।

दुवै सभाबाट फागुनको पहिलो साता उक्त अध्यादेश पारित भए पनि सरकारले यही चैत ९ गते मात्रै प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक दर्ता गराएकाले उक्त अवधिभित्र पारित गर्न चुनौती देखिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।

प्रतिनिधिसभाको बैठक यही चैत १८ गतेयता बस्ने कार्यक्रम राखिएको छैन । त्यसपछिका तीन दिनमा छलफल र संशोधनका प्रक्रियाबाट दुवै सदनबाट पारित हुन समयको चाप परेको धमलाको भनाइ छ ।

चालु आर्थिक वर्षको बजेटको छलफल गर्दा बजेट ल्याउनु तीन महिनाअघि नै छलफल गर्नुपर्ने व्यवस्था बनाउनुपर्ने भनेपछि सरकार सहमत भएको थियो । अध्यादेशबाट तीनमहिनापूर्व छलफल गर्नुपर्ने व्यवस्था कायम गरी सिद्धान्त र प्राथमिकताबारे छलफल गरिएको हो ।

यसअघि आर्थिक वर्षको बजेट ल्याउनु १५ दिन अघि मात्रै संसद्मा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल गर्ने व्यवस्था थियो ।

मस्कोमा भएको आतङ्कवादी हमलाको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, १० चैत : नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दाेष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याउनुपर्ने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

काठमाडौँ, १० चैत : ‘विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको सो विधेयकमा एक सय ६३ धारा छन् । उक्त विधेयकमा एक सय ५२ सांसदले एक हजार सात सय ८५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

एक सय ६३ दफा रहेको सो विधेयकमाथि समितिका दुईवटा बैठकयता संशोधनकर्तासँग छलफल हुन थालेको छ । हालसम्म आठ संशोधनकर्ता सदस्यका विचार मात्र प्रस्तुत भएका छन् भने बाँकी एक सय ४४ संशोधनकर्ताले आफूले राखेका संशोधनको औचित्य प्रस्तुत गर्न बाँकी रहेको छ ।

उक्त विधेयक छिटो ल्याउन सांसद र सरोकारवाला पक्षले आवाज उठाइरहेका बेला धेरै संशोधन भएकाले यसले छलफलमा समय लिने देखिएको छ । संशोधनकर्ता सांसदले विचार राखिसकेपछि समितिमा दफाबार छलफल प्रारम्भ हुनेछ । समितिबाट पारित भएको विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा जानेछ ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले विद्यालय शिक्षा विधेयकलाई संसद्भित्र र बाहिर उत्तिकै चासो र महत्व दिइएकाले यसमा सम्भवतः अन्य विधेयकका तुलनामा धेरै सांसदबाट अधिकांश दफामा संशोधन परेको बताउनुभयो । उहाँले संसद् सचिवालयमा प्राप्त संशोधन प्रस्तावलाई दर्ताक्रम, विधेयकका प्रस्ताव, नेपालको संविधान र संसदीय नियमावली अनुकूल भए÷नभएको यकिन गर्न एक महिनाभन्दा बढी समय लागेको बताउनुभयो ।

सहायक प्रवक्ता धमलाले संशोधनका कतिपय प्रस्ताव संविधानमा रहेका तीन तहका सरकारका कार्यक्षेत्रसँग बाझिने किसिमका भएकाले पनि समितिले यति धेरै संशोधनलाई छिट्टै पार लगाउन कठिन हुने जानकारी दिनुभयो ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण र संशोधनका लागि तत्कालीन शिक्षामन्त्री अशोककुमार राईको कार्यकालमा गत भदौ २७ गते प्रतिनिधिसभामा सो विधेयक दर्ता भएको थियो ।

संशोधनकर्तासँग छलफलअघि समितिले सरोकारवाल पक्ष, विज्ञ र विद्यालय सञ्चालक पक्षसँग विभिन्न चरणमा सुझाव मागेको थियो । विधेयकका विभिन्न पक्षमाथि केन्द्रित भएर संसद्बाहिर पनि छलफल र बहस भइरहेको छ ।

विधेयकमा आफ्ना माग र आफूहरुसँग भएका सहमतिको पालना भई छिटो कार्यान्वयनमा ल्याउन नेपाल शिक्षक महासङ्घलगायतले दबाब दिइरहेका छन् भने स्थानीय तहका जनप्रतिनिधिले संविधानमा उल्लिखित विद्यालय तहको आफूहरुको अधिकारमा तलमाथि भए अदालत जाने चेतावनी दिँदै आएका छन् । सामुदायिक विद्यालयका शिक्षक आफूहरुको सरुवा, अभिलेखलगायत काम प्रदेश सरकारबाट गराउन चाहन्छन् ।

समितिका सभापति भानुभक्त जोशी गत फागुन २३ गते पुनःगठित मन्त्रिपरिषद्मा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि रिक्त पदमा यही चैत ७ गते सांसद अम्मरबहादुर थापा निर्वाचित हुनुभएको छ । नयाँ सभापतिले यही चैत ९ गते बैठक आह्वान गरी विधेयकमा संशोधन हाल्ने सात सांसदसँग छलफल गराउनुभएको छ ।

समितिमा गत फागुन २० गते संशोधनकर्ता सदस्यसँग पहिलो छलफल भएकामा त्यस दिन बोलाइएमा मध्ये एक सांसद मात्रै उपस्थित हुनुभएको थियो । सभापति थापाले हालसम्म आठ संशोधनकर्तासँग मात्रै छलफल भएकाले विधेयकलाई टुङ्गो लगाउन कति समय लाग्छ भन्ने यकिन गर्न नसकिने बताउनुभयो ।

सांसदहरुले व्यस्तताका साथै अरु समितिमा पनि बैठक पर्ने भएकाले अमन्त्रित सदस्य नआइँदिदा संशोधनमाथिको छलफल प्रभावित हुने गरेको बताउनुभएको छ । समितिले सो विधेयकलाई प्रदेशस्तरमा पनि छलफलका लागि लाने योजना बनाएको छ । यसरी जाँदा चालु हिउँदे अधिवेशनमा विधेयक पारित हुने सम्भावना झिने रहेको सांसदहरु बताउँछन् ।

शिक्षक महासङ्घलगायत सरोकारवाला पक्षले विद्यालय शिक्षा विधेयक छिटो पारित गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र समितिलाई आग्रह गर्दै आएका छन् । महासङ्घका अध्यक्ष कमला तुलाधरसहितको टोलीले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र मन्त्राललयका सचिव सुरेश अधिकारीलाई गत साता सिंहदरबारमा भेटेर विगतमा भएका सहमतिअनुसार विधेयक चाँडो ल्याउन ध्यानाकर्षण गराउनुभएको थियो ।

राहत शिक्षक सङ्घर्ष समितिको मागका आधारमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रशितसम्म कोटा दिने सहमति कार्यान्वयन गर्न चुनौतीपूर्ण देखिन्छ भने प्रारम्भिक बालविकासका शिक्षकलाई दरबन्दीमा राख्न स्रोत साधनको अपर्याप्तता देखिन्छ ।

सरकारले संसद्मा विधेयक दर्ता गराएपछि असन्तुष्ट महासङ्घले काठमाडौँकेन्द्रित आन्दोलन गरेपछि गत असोज ५ र १२ गते दुई चरणमा शिक्षक र कर्मचारीका माग तथा मुद्दामा सहमति भएको थियो । सहमतिलाई तत्कालिन मन्त्री राईले प्रतिनिधिसभाकामा सैद्धान्तिक छलफलको जवाफका क्रममा प्रस्तुत गर्नुभएको थियो । नयाँ शिक्षामन्त्रीले उक्त सहमतिलाई कसरी स्वामित्व लिने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

संविधानबमोजिम विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण गर्न, विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरूपता र गुणस्तर कायम गरी विद्यालयको स्थापना, सञ्चालनसम्बन्धी विषयलाई व्यवस्थित गर्न यो विधेयक ल्याइएको हो । सो विधेयक पारित भई ऐन जारी भएपछि शिक्षा ऐन, २०२८ खारेज हुनेछ ।

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल

काठमाडौँ, १० चैत : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको सो छलफलमा उहाँले मित्रराष्ट्र चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिनुभयो ।

सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ११ गते जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै हुनुहुन्छ ।

चीनमा रहँदा उहाँले त्यहाँका विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणमा दुई देशबीचका सम्बन्धलाई सुदृढ गर्ने तथा द्विपक्षीय पारस्परिक सहायता अभिवृद्धिका बारेमा केन्द्रित हुने बताउनुभयो । “अहिलेको मेरो चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुद र पारस्परिक सहयोगात्मक सम्बन्धलाई पनि राम्रो बनाउने छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन प्रक्रियाका बारेमा चिनियाँ पक्षसँग छलफल हुनेछ ।”

छलफलमा राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, अर्थ मन्त्रालयका सचिव (राजस्व) डा रामप्रसाद घिमिरे, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारीलगायत सहभागी हुनुहुन्थ्यो ।

लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा

काठमाडौँ, १० चैत : अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गर्नुभएको छ ।

बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उहाँहरुलाई औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएको बताउनु भएको थियो ।

जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिनुहुँदै नेपाल र विश्व बैङ्कबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताउनुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराउनुभएको थियो । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उहाँले विश्व बैङ्कसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब

काठमाडौँ, १० चैत : मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको पहिलो सार्वजनिक कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा समस्या रहेको र त्यसलाई सुधार गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउनुभएको थियो ।

यही चैत ३ गते राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’मा अर्थमन्त्री पुनले सार्वजनिक वित्तको क्षेत्र सुधारमार्फत लक्ष्यअनुसार राजस्व सङ्कलन गर्ने तथा विकास बजेट खर्च बढाउने गरी काम गर्ने बताउनुभएको थियो । हरेक औपचारिक तथा अनौपचारिक कार्यक्रममा उहाँले सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रका समस्याबारे बोल्ने गर्नुभएको छ ।

सत्ता साझेदार पाँच राजनीतिक दलले गत मङ्गलबार सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ ले पनि सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौती रहेको उल्लेख गर्दै राजस्व र खर्चबीच बढिरहेकोे अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गरिने उल्लेख गरेको छ । विभिन्न सरकारी निकायले सार्वजनिक गरेका तथ्याङ्क हेर्दा पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र अझै चुनौतीपूर्ण देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले रू एक खर्ब ३७ अर्बभन्दा ठूलो बजेट घाटा व्यहोरेको छ । गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनाको अवधिमा सरकारको आम्दानीभन्दा खर्च रू एक खर्ब ३७ अर्ब ७४ करोड ९९ लाख बढी छ ।

कार्यालयका अनुसार यो आठ महिनामा कूल रू छ खर्ब ६३ अर्ब ८३ करोड २९ लाख बराबर आम्दानी गर्दा सरकारले रू आठ खर्ब एक अर्ब ५८ करोड २८ लाख खर्च गरेको छ । अर्थात् मुलुकले गर्ने आम्दानी र खर्च बीचको खाडल निरन्तर बढिरहेको छ ।

यो अवधिमा सरकारले कर राजस्वतर्फ रू पाँच खर्ब ७८ अर्ब ६७ लाख २६ हजार र गैरकर राजस्वतर्फ रू ६० अर्ब ३७ करोड ७५ लाख असुली गरेको छ भने रू दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान उठाएको छ । जबकि, सरकारको वार्षिक लक्ष्य हेर्दा कर राजस्वतर्फ रू १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख, गैरकर राजस्वतर्फ रू एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर उठाउने लक्ष्य छ ।

चालु आवमा रू ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान सहायता लिने सरकारको योजना छ । फागुन मसान्तसम्मको कूल राजस्व असुली वार्षिक लक्ष्यको ४५ दशमलव ०८ प्रतिशत मात्रै छ । जसमध्ये कर राजस्व असुली ४४ दशमलव ३३, गैरकर राजस्व असुली ५१ दशमलव ५७ र वैदेशिक अनुदान प्राप्ति पाँच दशमलव ५२ प्रतिशत मात्रै हो ।

चालु आवको सुरुआती आठ महिनामा वार्षिक लक्ष्यको आधा जति पनि राजस्व उठ्न नसकेको अवस्थामा बाँकी चार महिनाको अवधिमा उठ्ने राजस्वले कसरी वार्षिक लक्ष्य प्राप्ति हुन्छ भन्ने प्रश्न उठेको छ ।

सरकारको आम्दानी मात्र नभई खर्चको अवस्था पनि निराशाजनक छ । चालु प्रकृतिको साधारण खर्च र सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा हुने वित्तीय व्यवस्थातर्फको खर्चको दायित्व बढिरहेको छ भने पूँजी सृजना गर्ने विकास खर्चमा उल्लेख्य सुधार देखिन सकेको छैन ।

सरकारी खर्चको अवस्था हेर्दा दोस्रो त्रैमासिक अवधिसम्ममा चालुतर्फ वार्षिक लक्ष्यको ५० दशमलव ९८ प्रतिशत अर्थात् रू पाँच खर्ब ८२ अर्ब १० करोड ९९ लाख रहेको छ । पूँजीगततर्फ वार्षिक लक्ष्यको २६ दशमलव ८९ प्रतिशत अर्थात् रू ८१ अर्ब २१ करोड ४८ लाख बराबर खर्च भएको छ । यही अवधिमा वित्तीय व्यवस्था शीर्षकमा वार्षिक लक्ष्यको ४४ दशमलव ९७ प्रतिशत अर्थात् रू एक खर्ब ३८ अर्ब २५ करोड ८१ लाख बराबर खर्च भएको छ ।

चालु आवका लागि लागि सरकारले चालुतर्फ रू ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख, पूँजीगततर्फ रू तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन गरेको थियो ।

गत माघ अन्तिम साता मात्रै सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत राजस्व र खर्चको अनुमान घटाएको थियो । सुरुआती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् रू १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख बराबर मात्रै बजेट खर्च गर्नेगरी संशोधित अनुमान तय गरिएको छ । सुरुआती विनियोजनको तुलनामा चालु शीर्षकमा ८८ दशमलव ८४, पूँजीगत शीर्षकमा ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्था शीर्षकमा ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अनुमान सरकारको छ ।

सरकारको आम्दानी र खर्चमा असन्तुलन बढ्दै जाँदा सार्वजनिक ऋणको खाडल पनि बढ्दै गएको छ । घाटा बजेट पूर्तिका लागि सरकारले आन्तरिक र बाह्य ऋण लिने गर्दछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋण रू २३ खर्ब ८८ अर्ब २६ करोड नाघेको छ । यो अवधिसम्ममा आन्तरिक ऋणको दायित्व रू ११ खर्ब ८५ अर्ब ८२ करोड बराबर छ भने बाह्य ऋणको दायित्व रू १२ खर्ब दुई अर्ब ७३ करोड बराबर छ । गत माघपछि नेपालको आन्तरिक ऋणभन्दा बाह्य ऋणको आकार बढी देखिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको आठमा महिनामा रू एक खर्ब ६६ अर्ब ५८ करोड बराबर सार्वजनिक ऋण थपिएको छ । गत असार मसान्तसम्ममा कुल सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड थियो । चालु आवको दोस्रो चौमासिक अवधिसम्ममा आन्तरिक ऋणको साँवा भुक्तानीमा रू एक खर्ब दुई अर्ब ९७ लाख र ब्याज भुक्तानीमा रू ४३ अर्ब ६७ करोड गरी कूल रू एक खर्ब ४६ अर्ब ६४ करोड बराबर खर्च भएको देखिन्छ । यही अवधिमा बाह्य ऋणको साँवामा रू २३ अर्ब छ करोड र ब्याजमा रू पाँच अर्ब ७९ करोड गरी कूल रू २८ अर्ब ८६ करोड बराबर खर्च भएको कार्यालयको विवरणमा उल्लेख छ ।

सरकारको आम्दानी र खर्चको असन्तुलन तथा ऋणको चापसँगै वैदेशिक व्यावारमा देखिएको असन्तुलनमा पनि मुलुकको अर्थतन्त्रमा देखिएको मुख्य समस्या हो । भन्सार विभागको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा मुलुकले कूल रू नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार बराबर व्यापार घाटा व्यहोरेको छ । कूल रू १० खर्ब ३० अर्ब २२ करोड २६ लाख बराबरको आयात हुँदा रू एक खर्ब ६१ करोड ७४ लाख बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात दुई दशमलव ६६, निर्यात तीन दशमलव ९९ र व्यापार घाटा दुई दशमलव ५२ प्रतिशतले घटेको विभागले जनाएको छ ।

कसले लेख्ने सीमान्तकृतको इतिहास ?

सामाजिक र भौगोलिक विविधताले नेपालको सौन्दर्य भरिपूर्ण छ तर यहीँ विविधताभित्र अनेकौँ असमानता पनि छन् । ती असमानतालाई विभिन्न कोणबाट निरुपण गर्न प्राज्ञिक माध्यमबाट पनि प्रयास थाल्नुपर्ने ठूलो आवश्यकता छ । विकास र शान्तिका लागि सामाजिक असमानता ठूलो बाधक हो ।

समतामूलक समाज निर्माणका लागि विगतमा भएका कमजोरीको इतिहास बटुलेर त्यसलाई निफल्न जरुरी छ । विगतमा राज्यबाटै ऐन निर्माणका क्रमबाट भएका कमीकमजोरीले कतिपय जातिगत र सामाजिक समूह अहिले पनि सीमान्तकृत अवस्थामा गुज्रिएका छन् । त्यसैले सीमान्तकृतको छुट्टै इतिहास लेखनको क्षेत्रले पनि यथोचित प्रोत्साहन पाउन सकेन । नेपालको इतिहास भनेकै राजा महाराजाको गाथा हो भन्ने धारणालाई चिर्न पनि अब सीमान्तकृतको इतिहास लेखनले उचित वातावरणको खोजी गरिरहेको यस प्रसङ्गमा स्मरणीय छ ।

नेपालको इतिहास लेखन

तत्कालीन इष्ट इन्डिया कम्पनीका कर्णेल विलियम कर्कप्याट्रिकले सन् १८११ (वि.सं.१८६८) मा प्रकाशित गरेको ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाउल’ नेपालका बारेमा लेखिएको पहिलो इतिहासको पुस्तक हो । उनी १८४९ सालमा नेपाल आएका थिए । एक महिना जति नेपाल बस्दा उनले जे जति टिपोट गर्न भ्याए, त्यसैलाई उनले पुस्तकका रुपमा प्रकाशित गरे । त्यसको आठ वर्षपछि फ्रान्सिस ह्यामिल्टनले ‘एक एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ (सन् १८१९) प्रकाशित गरे । नेपालको इतिहास लेखिएको यो दोस्रो पुस्तक हो ।

नेपालमा इस्ट इन्डिया कम्पनीको रेजिडेन्स खुलेपछि ह्यामिल्टन एक चिकित्सकका रुपमा नेपाल आएका थिए । त्यही मौकामा उनले नेपालको इतिहास बटुलेर पुस्तकको आकार दिए । विदेशी लेखकले नेपालको इतिहास प्रकाशित गरेको एक सय तीन वर्षपछि १९७९ सालमा बल्ल एक नेपाली लेखक अम्बिकाप्रसाद उपाध्ययले ‘नेपालको इतिहास’ प्रकाशित गरे । भारतमा रहेर कानुनविदका रुपमा काम गरिरहेको बेला उनले यो पुस्तक प्रकाशित गर्दा चन्द्रशमशेरले नेपालको शासन चलाइरहेका थिए । ‘नेपाल देशका अधिपति’, ‘विष्णुको अंश’ आदि विशेषणका साथ चन्द्रशमशेरलाई नै समर्पण गरिएको यो पुस्तक राणाहरुको प्रशंसाले भरिएको छ ।

राणाकाल जस्तो त्यो अन्धकार युगमा पुस्तक प्रकाशित गर्नु एक जोखिमपूर्ण काम थियो । त्यस्तो जोखिमपूर्ण समयमा प्रा तोत्रराज पाण्डे र पं नयराज पन्त मिलेर २००४ साल ‘नेपालको संक्षिप्त इतिहास’को प्रकाशन भयो । त्यहीँ बेला भारतमा आएको नवजागरणले त्यहाँ रहेका नेपालीलाई पनि प्रभाव पारेको थियो । त्यसैबेला दार्जिलिङमा सूर्यविक्रम ज्ञवालीले द्रव्य शाह र पृथ्वीनारायण शाहको इतिहास लेखेका ज्ञवालीले ‘भानुभक्तको जीवनी’, ‘अमरसिंह थापा’, ‘वीर बलभद्र’ जस्ता इतिहास पनि लेखे । भानुभक्त आचार्य, अमरसिंह थापा, बलभद्र कुँवरहरु कुनै राजा महाराजा होइनन् ।

भुइँबाट उठेर देशको सेवा गर्ने यी व्यक्तित्वहरुको इतिहासको लेखनले त्यसबेलै इतिहास राजा महाराजाहरुको मात्रै हुँदैनन् भन्ने मान्यता स्थापित हुन पुगेको थियो । राणाशासनकै समयमा सिक्किमको गान्तोकमा रहेर इमानसिंह चेम्जोङले ‘किरात इतिहास’ लेखेर इतिहास लेखनको क्षेत्रमा अर्को आयाम थपे । उनले जातिगत र सामाजिक समूहको पनि छुट्टै इतिहास लेख्न सकिन्छ भन्ने अवधारणा त्यसबेलै प्रस्तुत गरेका थिए तर त्यसपछि लेखिएका इतिहासहरु राजा महाराजाकै सेरोफेरोबाट खासै मुक्त हुन सकेको देखिँदैन ।

सीमान्तकृत समूह

राजा जयस्थिति मल्लको थितिलाई नेपालको प्रारम्भिक कानुनको प्रारुप मानिएको छ । वि.सं.१९१० मा जङ्गबहादुरले बनाएको मुलुकी ऐन नै नेपालको पहिलो लिखित कानुन हो । यो ऐनले नेपालका जाति र सामाजिक समूहलाई विभेदयुक्त ढङ्गले विभाजित गरेर एउटै अपराधमा जातिअनुसार कसैलाई धेरै र कसैलाई कम सजाय दिने व्यवस्था गर्यो । ‘छोइछिटो हाल्नु पर्ने अछूत’ र ‘छोइछिटो हाल्नु नपर्ने अछूत’ भनी कानुनीरुपमा तोकेरै छुवाछूतलाई मुलुकी ऐनले मान्यता दियो भने ‘मासिन्या मतुवाली’ र ‘नमासिन्या मतुवाली’ भनेर समुदायमा अर्को विभेदको पर्खाल पनि मुलुकी ऐनले नै खडा गर्यो ।

आज यिनै जाति तथा समुदाय सीमान्तकृत अवस्थामा छन् । विगतमा गरिएका यस्ता कमीकमजोरीले कतिपय जाति तथा समुदाय सीमान्तकृत अवस्थामा छन् । उनीहरु आर्थिक, सामाजिक, शैक्षिकजस्ता सबै क्षेत्रमा पछौटेपन र अवसरविहीनताको सिकार बनेका छन् । उनीहरुको इतिहास पनि न्यायोचित ढङ्गले लेख्नु त कता हो कता, अग्रज इतिहासकारले यसप्रति गम्भीर भएर विचार गर्ने चेष्टासमेत गरेको पाइँदैन । त्यसैले पनि इतिहास भनेकै राजा महाराजाको गाथा भन्ने धारणा बलियो रुपमा स्थापित हुन पुगेको हो । यसले इतिहास विधालाई नै न्याय गरेको ठहर हुँदैन ।

इतिहासको स्रोत

लिखित दस्तावेज नै इतिहासको मूल स्रोत हो । इतिहास भनेको विगतको घटनाको प्रामाणिक लेखन र प्रस्तुति हो । विगतमा लेखिएर सुरक्षित रुपमा राखिएका दस्तावेजहरुका आधारमा प्रामाणिक इतिहास लेखिन्छ । यसैगरी, सम्बन्धित घटनाका साक्षीले व्यक्त गरेको धारणाहरु पनि इतिहासका प्रमाणहरु हुन् । सीमान्तकृत समुदायको इतिहास लेखनको मूल समस्या भनेकै उनीहरुसँग सम्बन्धित लिखित दस्तावेजको अभाव हो । सीमान्तकृत समुदायमा अहिले पनि लेखन तथा दस्तावेजीकरणको अभाव छभने विगतमा लेखन र दस्तावेजीकरणको परम्परा नै थिएन । इतिहासको महत्वपूर्ण स्रोतका रुपमा रहेका शिलालेख, भोजपत्र, लालमोहर, इस्तिहार, मुद्रा आदि विगतमा राजा, मुख्तियार वा भारदारहरुबाट प्रसारित हुने गर्थे ।

यस्ता सामग्रीमा तत्कालीन समाजका कुलीन र अधिकारसम्पन्न वर्गका सवालले मूलरुपमा प्राथमिकता पाउने गर्दा पनि सीमान्तकृत समुदायको इतिहास लेखनमा समस्या आएको हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । नेपाली लेखकको कलमबाट इतिहास लेखनको परम्परा सुरु हुँदा सम्बन्धित लेखकले तत्कालीन समयका शासकको गुणगानका प्रशस्त कलमको मसी खर्च गरेको प्रसङ्ग माथि उल्लेख गरिसकिएको छ । नेपालमा राजतन्त्र सक्रिय रहँदासम्म पुराना ऐतिहासिक सामग्रीहरुको अध्ययनको पहुँच सहज पनि थिएन । यस्तो अहसज परिस्थितिमा राजदरबारको प्रतिकूल हुने गरी इतिहास लेख्नु जोखिमपूर्ण पनि थियो । त्यसैले नेपाली इतिहासकारहरुले सकेसम्म राजदरबारप्रति नरम भाषा प्रयोग गर्दै इतिहास लेख्दै जाँदा इतिहास भनेकै राजा महाराजाको गुणगान हो भन्ने प्रतीत हुन पुग्यो । यिनै कारणहरुले इतिहासकारहरुले सीमान्तकृतहरुको सवाललाई सीमान्तमा मात्र पारेनन्, यसप्रति उनीहरुको खासै ध्यानाकर्षण हुन सकेन । परिणाममा सीमान्तकृतहरुको इतिहास लेखिएन ।

हिजो सीमान्तकृतहरुको इतिहास लेखिएन भनेर अब लेखकहरुले कलम थन्क्याएर बस्न पनि भएन । सीमान्तकृतहरुको इतिहास लेखनको क्षेत्र व्यापक छ तर यसमा लेखन प्रयासहरु भने नगण्य छ । त्यसो त राजा महाराजाहरुबाट प्रसारित शिलालेख, लालमोहर, इस्तिहार, सनद आदिबाटै सीमान्तकृतहरुको ऐतिहासिक सवाल खोज्न नसकिने होइन । उदाहरणका लागि, तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री भीमशमशेरले १९८९ भदौ ६ मा जारी गरेको इस्तिहारलाई लिन सकिन्छ । यो इस्तिहारमा विगतमा तामाङ लेख्न नपाइने अवस्था रहेकामा अबदेखि भोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नू भन्ने उल्लेख छ । यसबाट विगतमा तामाङहरुले भोग्न परेको जातीय पहिचानकै इतिहासलाई खोजतलास गर्न ठूलो सहयोग मिल्छ ।

यस्तै १८८८ कात्तिक सुदी १४ मा तत्कालीन राजाले दूधकोशी र बहादुरा खोला पूर्व र अरुण पश्चिम माझकिरातका तालुकदारहरुको नाममा जारी गरेको एक रुक्कामा राई, मझिया, किराती, मुर्मी आदिका प्रत्येक घरबाट हरेक वर्ष जनावरको छाला अनिवार्य सङ्कलन गरी सरकारले सञ्चालन गरेको मेगेजिन अड्डामा दाखिल गर्न आदेश दिइएको छ । जनावरको छाला बुझाउन नसक्ने प्रत्येक घरबाट हरेक वर्ष दुई-दुई आनाको दरले दस्तुर उठाउन उल्लेख गरेकामा कामी र सार्कीको घरबाट आठ-आठ आना दस्तुर उठाउन आदेश दिइएको छ । यो आदेशबाट अहिले पनि दलित उत्पीडित अवस्थामा रहेका कामी र सार्कीहरुलाई राज्यबाट कस्तो आर्थिक उत्पीडन र शोषण परेको थियो भन्ने इतिहासको खोजी गर्न ठूलो सहयोग मिल्छ ।

कसले लेख्ने इतिहास ?

इतिहास अनुसन्धानमा हात बसिसकेका इतिहासकारहरुले सीमान्तकृतहरुको इतिहास लेखी दिए अत्युत्तम हुने थियो । अझ इतिहास लेखनमा नाम चलेका र स्थापित इतिहासकारहरुले नै सीमान्तकृतहरुको इतिहास लेखिदिए त उनीहरुको नामसँगै सीमान्तकृतहरुको ऐतिहासिक सवालहरु सहज रुपमा स्थापित हुने थियो तर स्थापित इतिहासकारहरुले सीमान्तकृतहरुको इतिहासलाई आजसम्म त्यति महत्व दिएनन् । त्यसैले अब सीमान्तकृतहरु आफैँ आफ्नो इतिहास लेखनका लागि तयार हुनु नै एक उत्तम विकल्प हुन सक्छ । गौतम बुद्धको भनाइ छ, ‘अप्पो दीपो भवः’ अर्थात आफ्नो दीपक आफैँ बन । आफ्नो इतिहासप्रति चिन्ता हुनेहरुले आफ्नो इतिहासको अन्वेषण र लेखन आफैँगर्न तत्पर हुनुपर्छ । अरूको भर परेर हुँदैन । (लेखक इतिहास अध्ययनमा रुचि राख्ने पत्रकार हुनुहुन्छ)

डिजिटल मुद्रा प्रचलनमा ल्याउने व्यवस्था समेटेर बाफिया विधेयक संसद्मा दर्ता

काठमाडौँ, ९ चैतः बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत महत्वपूर्ण व्यवस्था राखेर उक्त विधेयक अर्थ मन्त्रालयले गत सोमबार प्रतिनिधिसभामा दर्ता गराएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिमसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न आवश्यक रहेको भन्दै यो विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लेखित तीनवटै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्न आवश्यक भएकाले बाफिया विधेयक ल्याइएको जनाइएको छ ।

त्यसैगरी नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको जनाइएको छ ।

बाफिया विधेयकमा डिजिटल मुद्रालाई परिभाषित गर्न खोजिएको छ । “डिजिटल मुद्रा भन्नाले नेपाल राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झिनुपर्छ”, विधेयकमा भनिएको छ । डिजिटल मुद्राबारे अहिले नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ ।

त्यसैगरी, डिजिटल बैंकलाई बैंकिङ तथा वित्तीय कारोबारको अधिकार दिनका लागि विधेयकमा नयाँ व्यवस्था राखिएको छ । “बाफिया ऐन, अन्य प्रचलित कानुन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, शर्त वा निर्देशनको अधीनमा रही डिजिटल बैंकले राष्ट्र बैंकले तोकेबमोजिमको निक्षेप लिने, कर्जा प्रवाह गर्नेसमेतका बैंकिङ तथा वित्तीय कारोबारसमेत गर्न सक्नेछ”, विधेयकमा भनिएको छ । डिजिटल बैंकलाई बैंकको परिभाषाभित्र समेटिएको छ भने विद्युतीय माध्यामबाट जम्मा गरेको रकमलाई निक्षेप मान्न सकिने व्यवस्था गर्न लागिएको छ ।

बैंक तथा वित्तीय संस्थामा ‘कार्यकारी अध्यक्ष’ को परिभाषा हटाएर अध्यक्षको प्रावधान मात्रै राखिएको छ । त्यसैगरी, ‘उल्लेख्य स्वामित्व’को परिभाषा पनि परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । “उल्लेख्य स्वामित्व भन्नाले कुनै व्यक्ति वा संस्थासँग मिली संयुक्तरुपमा कुनै बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको वा शेयर स्वामित्वका कारण बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्नसक्ने अवस्था बुझ्नुपर्दछ”, भनी विधेयकमा उल्लेख छ । विद्यमान बाफिया ऐनले यस्तो व्यवस्था दुई प्रतिशत मानेको छ ।

बैंक तथा वित्तीय संस्थाको ऋणीको परिभाषा पनि संशोधन प्रस्ताव गरिएको छ । “ऋणी भन्नाले कर्जा लिने वा बैंकले जारी गरेको क्रेडिट कार्ड वा त्यस्तै प्रकृतिको अन्य उपकरण धारण गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्था सम्झनुपर्छ”, विधेयकमा भनिएको छ । यसअघि क्रेडिट कार्ड सुविधा लिने व्यक्ति तथा कम्पनीलाई ऋणीको परिभाषाभित्र समेटिएको थिएन । विधेयकमा धितोको परिभाषामा थप गरिएको छ । “धितो भन्नाले ऋणीले बैंक वा वित्तीय संस्थाबाट लिएको कर्जाको सुरक्षणबापत बैंकलाई उपलब्ध गराएको सम्पत्ति सम्झनुपर्दछ”, भनी थप व्यवस्था राखिएको छ ।

एकभन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गर्न आवश्यक रहेको भन्दै कुनै बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक बन्न नसक्ने व्यवस्था गर्न लागिएको छ । सञ्चालकमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भन्दै विधेयकमा महिला शेयरधनी रहेको बैंक वा वित्तीय संस्थाको सञ्चालक नियुक्त गर्दा कम्तीमा एक जना महिला नियुक्त गर्नुपर्ने व्यवस्था राखिएको छ । त्यसैगरी, बैंक–वित्तीय संस्थामा कम्तीमा एकजना स्वतन्त्र सञ्चालन नियुक्त गर्न सकिने व्यवस्था विद्यमान ऐनमा रहेकामा त्यसलाई संशोधन गरी ‘कम्तीमा एक जना महिलासहित दुई जना’ स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकिने प्रावधान राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यकालसम्बन्धी विद्यमान व्यवस्थामा पनि विधेयकमार्फत् संशोधन गर्न लागिएको छ । विद्यमान ऐनअनुसार सञ्चालक बढीमा चार वर्षका रहने र निजको पुनःनियुक्त तथा मनोनयन हुन सक्ने व्यवस्था छ । त्यसलाई संशोधन गरेर कुनै सञ्चालक आफ्नो पदावधि समाप्त भएपछि अर्को एक अवधिका लागि मात्रै सञ्चालक पदमा पुनः नियुक्त हुनसक्ने व्यवस्था कायम गर्न लागिएको छ । प्रस्ताविक विधेयक संसद्बाट पारित भई लागू भएपछि २५ वर्ष उमेर नपुगेको र ७० वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् । विद्यमान बाफिया ऐनले सञ्चालक हुनका लागि न्यूनतम उमेर २५ वर्ष तोकेको भएपनि अधिकतम उमेरहद भने तोकेको छैन ।

विधेयकअनुसार कुनै व्यक्ति सञ्चालक हुन चाहेमा त्यस्तो बैंक वा वित्तीय संस्थामा ऊ र उसको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यवसायिक ऋण कूल चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी हुनसक्ने छैन । विद्यमान बाफिया ऐनमा यो व्यवस्था छैन । सम्बद्ध व्यक्ति वा निजको परिवारले व्यवसायिक ऋण लिएको सीमा यकिन गर्न आवश्यक रहेको भन्दै नयाँ ऐनमा यस्तो व्यवस्था कानुनमा राख्न लागिएको हो ।

विधेयकअनुसार बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको बैठकलाई नियमित बनाउन हरेक महिना कम्तीमा एकपटक अनिवार्यरुपमा बैठक बस्नुपर्नेछ । सम्पत्ति शुद्धीकरण निवारणसँगसम्बन्धी कानुनलाई पनि बैंक तथा वित्तीय संस्थामा कडाइका साथ लागू गर्नेगरी विधेयक तयार पारिएको छ ।

एउटा बैंक तथा वित्तीय संस्थाले अर्को बैंक तथा वित्तीय संस्थाको धितोपत्रमा लगानी गर्न नपाउने व्यवस्था छ । तर सरकारले आवश्यक ठानेका कृषि, पर्यटन, ऊर्जा, पूर्वाधारजस्ता क्षेत्रमा लगानी गर्न ऋणपत्रसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउका लागि ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था बन्दै गरेको ऐनमा राख्न लागिएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफूसँग आबद्ध व्यक्ति वा कुनै बैंकमा एक प्रतिशत शेयर स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा दिन पाउने छैन । तर शतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न, इजाजत प्राप्त संस्थाको आफ्नै मुद्दति रसिद तथा नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा सम्बद्ध व्यक्तिको रुपमा घोषणा गरी कर्जा प्रदान गर्न र घरायसी कर्जा प्रदान गर्न बाधा पु¥याएको नमानिने विधेयकमा उल्लेख छ ।

त्यसैगरी, कुनै पनि बैंक तथा वित्तीय संस्थामा एक प्रतिशत शेयर स्वामित्व भएको व्यक्ति आफू सम्बद्ध बैंक वा वित्तीय संस्थाको कानुन, राजस्व, लेखा वा वित्तीय व्यवस्थापन परामर्शदाता, धितो मूल्याङ्कनकर्ता वा लेखापरीक्षकको हैसियतले काम गर्न पाउने छैन । विधेयक ऐन बनेर लागू भएसँगै सबै बैंक वित्तीय संस्थाले एक प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएको व्यक्तिको सूची तयार गरी नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ । हरेक आर्थिक वर्ष सकिएको ३५ दिनभित्रमा यस्तो सूची राष्ट्र बैंकलाई बुझाइसक्नुपर्नेछ ।

बन्दै गरेको कानुनअनुसार बैंक तथा वित्तीय संस्थाले जुन प्रयोजनका लागि ऋणीलाई कर्जा दिएको हो, सो प्रयोजनमा ऋणीले कर्जा रकम सदुपयोग गरेको छ वा छैन भन्ने सम्बन्धमा अनुगमन तालिका बनाई अर्धवार्षिक रुपमा अनिवार्य अनुगमन गर्नुपर्नेछ । यस्तो अनुगमन गर्नुपर्ने व्यवस्था विद्यमान ऐनमा राखिएको भएपनि के कति समयमा अनुगमन गर्ने भन्ने कुरा स्पष्ट रुपमा खुलेको थिएन ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको लगानीमा स्थापना भएका कम्पनीको समष्टिगत निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धित निकायको समन्वयमा नेपाल राष्ट्र बैंकले गर्ने विधेयकमा उल्लेख छ । कुनै एक व्यक्ति, फर्म, संस्था वा कम्पनीले कुनै एक बैंक तथा वित्तीय संस्थाको कूल चुक्ता पुँजीको बढीमा १५ प्रतिशत मात्र लगानी गर्न सक्नेछ । त्यसैगरी, जफत गरिएको धितोपत्र बिक्री वितरणबाट प्राप्त रकम जम्मा गर्न छुट्टै संस्था तोक्न सकिने व्यवस्था पनि विधयेकमा राखिएको छ ।

सुन तस्करी प्रकरण: उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाडौँ, ९ चैतः सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ ।

महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उहाँलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।

यसअघि आजै ब्यूरोका प्रवक्ता बोगटीले जिल्ला सरकारी वकिल कार्यालय र ब्यूरोको टोलीले पूर्वसभामुख महराको बयान सकिएको जानकारी दिनुभएको थियो ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो ।

सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो ।

सुनकोशी मरिण डाइभर्सनः १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

काठमाडौँ, ९ चैतः तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र सुरुङ निर्माण सम्पन्न हुने सम्वद्ध आयोजनाले जनाएको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर ७९ मिटर सुरुङ निर्माण भइसकेको छ । यो विवरण बिहीबार रातिसम्मको हो ।

“सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कुनै भौर्गभिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छौ”, आयोजना प्रमुख बरालले भन्नुभयो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुख लगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीय स्तरमा नै समस्या समाधान गर्न स्पष्ट निर्देशन दिनुभएको छ ।

निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजिकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभागमा प्रगति विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । यस्तै, हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्री बस्नेतले दिनुभएको निर्देशनअनुसार आयोजनाको प्रगति प्रभावकारी रुपमा अगाडि बढेको हो ।

प्रधानमन्त्री प्रचण्डले नियमित रुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आउनु भएकाले पनि आफूहरुलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ ।

प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमान्दार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बन्न सफल भएको छ, सो आयोजना ।

मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुन सक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् ।

आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् । सुरुङ खन्दै जाँदा चुरे र महाभारत पर्वत शृङ्खलाका बीचमा समस्या देखिँदा केही दिन प्रभावित भएको थियो । त्यसलाई समाधान गरेर हाल नियमित रुपमा सुरुङ खन्ने काम भइरहेको आयोजना प्रमुख बरालको भनाइ छ ।

आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ । यसबाट अन्य आयोजनामा समेत अब सोही प्रकृतिको मेसिन प्रयोग गर्न सकिने वातावरण बन्दै गएको देखिन्छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको छ ।

निर्माण व्यवसायीले काम गरिरहेको भएपनि बाँध निर्माणमा अपेक्षित प्रगत भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । त्यो स्वीकृतिको अन्तिम चरणमा छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

सुरुङ निर्माण सम्पन्न हुने अरु काम भने अगाडि नबढ्ने प्रवृत्ति देखिएको छ । भेरी–बबई आयोजनामा पनि दुई वर्ष पहिल्यै सुरुङ निर्माण सम्पन्न भए पनि बाँधस्थल र विद्युत् गृह निर्माण सकिएको छैन । ती काम कहिले सकिन्छ भन्न सक्ने अवस्थामा आयोजनाका सम्बद्ध अधिकारी छैनन । यद्यपि आयोजनाको अन्य कामलाई गति दिन मन्त्रालयले आयोजनाका सम्बद्ध अधिकारी र निर्माण व्यवसायीलाई स्पष्ट निर्देशन दिइसकेको मन्त्री बस्नेतले बताउनुभयो ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इजिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पु¥याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ ।

यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण तीन पटक समस्या देखिएको थियो ।

सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरूङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ ।

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक बदलाव आउने सरकारको विश्वास छ ।

आर्थिक वर्ष २०६८–६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको संज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शङ्का गर्ने पनि उत्तिकै थिए ।
संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै मेहेनत गर्नुपरेको सम्बद्ध अधिकारीको भनाइ छ । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखिएपछि सुनकोशी मरिणमा पनि टिबीएमको प्रयोग गरिएको हो ।

‘ड्रिलिङ एन्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकामा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । भेरी बबईमा डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ । दुधकोशी अर्धजलाशयुक्त आयोजनाको सुरुङमा समेत टिबिएमको प्रयोग गर्ने बारेमा प्रारम्भिक छलफल भएको छ ।

सुदामा ताजा समाचार

खुर्पा प्रहार गरी छोराको हत्या

१७ जेठ, चितवन । पूर्वी नवलपरासी नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६३ वर्षीय...

आर्थिक वर्षको बजेटले राख्यो,सुरुङमार्गलाई विशेष प्रामिकतामा

 काठमाडौं । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ...

बेलबारी फुटबल क्लवले जित्यो,भीमनारायण गोल्डकपको उपाधि

हिले, जेठ १७ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार...