काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको हो । ।
आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा ३० बमोजिमको छ वर्षको पदावधि पूरा गरी आज वैशाख ६ गते निवृत्त भएका छन् । । यस सँगे निर्वाचन आयोगलाइ प्रमुख निर्वाचन आयुत्तको खाँचो पर्न र्गको छ ।
आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक कार्यक्रमका बीच प्रमुख आयुक्त थपलियाको बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा आयोगका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए । थपलिया संविधानको धारा २४५ बमोजिम वि.सं. २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए ।
बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए ।
उनले भने,‘यस अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फुर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको छ ।’
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको कुशल नेतृत्व तथा आयोग परिवार र सरोकारवालाबीचको आपसी समन्वय र क्रियाशीलताबाट निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार हुँदै गएको उल्लेख गरे । बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले २०७६ साल वैशाखदेखि २०८१ चैतसम्म निर्वाचन आयोगबाट सम्पादित प्रमुख कार्यहरूको विवरण रहेको निर्वाचन आयोगका छ वर्ष शीर्षकको पुस्तिका सार्वजनिक गरेका थिए।









