नेपालले सम्पत्ति शुद्धीकरण र आतंकवादी लगानी रोक्न क्यासिनो तथा बहुमूल्य धातु व्यवसायको अनुगमन बढाउने निर्णय गरेको छ।
एफएटीएफले नेपाललाई ग्रे लिस्टमा राख्दै कार्ययोजना कार्यान्वयनमा पर्याप्त प्रगति नभएको जनाएको छ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ‘ग्रे लिस्ट’ बाट निस्कने प्रयासमा रहेको नेपालले त्यसका लागि विभिन्न निर्णय गरेको छ ।
हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सुनचाँदी तथा बहुमूल्य धातु कारोबार गर्ने व्यवसाय तथा क्यासिनोहरूको अनुगमन बढाउने लगायत विभिन्न निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
यही अक्टोबर २०–२४ मा फ्रान्सको पेरिसमा बसेको एफएटीएफको पूर्ण बैठकले गत फेब्रुअरीमा ग्रे लिस्टमा परेपछि नेपालले आफ्नो अवस्था सुधारमा केही काम गरे पनि त्यो पर्याप्त नभएको निर्णय गरेको थियो ।
सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तपोषणसँग सम्बन्धित मुख्य जोखिमबारेको बुझाइमा सुधार गर्ने, वाणिज्य बैंकहरू, उच्च जोखिमका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा रत्नपत्थरका कारोबारी तथा घरजग्गा कारोबारका क्षेत्रमा जोखिम आधारित अनुगमनमा सुधार गर्ने काम नेपालले गर्नुपर्ने उसले बताएको छ ।
वित्तीय समावेशीकरणलाई बाधा नपुर्याइ, अवैध भुक्तानी सेवा प्रदायकहरू एमभीटीएस र हुन्डी सञ्चालकहरूको पहिचान र कारबाही गर्ने, सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सक्षम निकायको क्षमता र समन्वय वृद्धि गर्ने, सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान र अभियोजन संख्यात्मक रूपमा वृद्धि गर्ने भन्ने विषयमा पनि नेपालले थप काम गर्नुपर्ने एफएटीएफले जनाएको छ ।
जोखिम प्रोफाइल अनुरूप, अपराधबाट आर्जित सम्पत्ति तथा उपकरण पहिचान गर्ने, पत्ता लगाउने, रोक्का गर्ने, जफत गर्ने र आवश्यक परे जफत गर्ने उपाय लागु गर्ने काम पनि नेपालले गर्नुपर्ने एफएटीएफले इंगित गरेको छ








