१० वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन र थप व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री डा. तिमल्सिनाले सञ्चार जगत् र सरकार मिलेरै अघि बढ्ने बताउनु भएको हो। साना तथा स्वरोजगारमुखी मिडियाका समस्या समाधानबारे सरकार सकारात्मक रहेको बताउनु भयो ।
मन्त्री तिम्लसिनाको भनाई उद्धृत गर्दै पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारूले भन्नु भयो ‘सरकारी विज्ञापन नियमन र व्यवस्थित गर्छौं। स्थानीय तहको विज्ञापन सूचना सबैले पाउँछन्। तर, व्यवस्थित गर्न केही समय लाग्छ। सञ्चार जगत् र सरकार मिलेरै अघि बढ्ने हो।’
महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री तिमल्सिनालाई भेटी सफल कार्यकालको शुभकामनासहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो।
गत चैत २७ र २८ गते दोलखाको पर्यटकीय नगरी जिरीमा सम्पन्न बागमती प्रदेशका जिल्ला अध्यक्षहरू तथा प्रदेशस्तरीय पत्रकार सङ्गठनका प्रतिनिधिहरूको बैठकले तय गरेका साझा धारणाहरू समेटेर मन्त्रालयको ध्यानाकर्षण गराइएको अध्यक्ष सारु मगरले जानकारीदिनु भयो ।
पत्रमा सरकारी विज्ञापन प्रकाशन–प्रसारणमा देखिएको अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले चालेका प्रयासहरूको स्वागत गर्दै यसभित्रका विकृतिहरूको निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।
त्यस्तै, सरकारी विज्ञापन वितरणमा सरकारी र निजी मिडियाबीच कुनै पनि प्रकारको विभेद नगर्न र श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेका साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमहरूको हित र प्रवर्द्धनका लागि ‘पूर्ण समानुपातिक विज्ञापन नीति’ तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।
स्थानीय स्तरमा प्रवाह गरिने सूचना तथा जनचेतनामूलक सन्देशहरू अनिवार्य रूपमा स्थानीय सञ्चारमाध्यममार्फत नै प्रकाशन–प्रसारण हुने व्यवस्था मिलाउन तीनै तहका संघ, प्रदेश र स्थानीय सरकारले ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
अध्यक्ष सारूले महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण वा सङ्कुचित गर्ने कुनै पनि क्रियाकलाप सरकारबाट नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।







