१३ डोजर परिचालन गरी मनोहरामा सुकुम्बासी बस्ती भत्काउने क्रम जारी

१४ वैशाख, काठमाडौं । मनोहरा सुकुमवासी बस्तीका बाँकी घरहरु आज पनि बिहानैदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ । १३ वटा डोजर प्रयोग गरी बिहान ७ बजेदेखि घरहरु भत्काउन सुरू गरिएको हो ।
मनोहरा खोला किनारमा रहेको बस्ती आइतबार बिहानदेखि भत्काउन थालिएको थियो । केही घर टहरा बाँकी रहेकाले आज बिहान पनि सो कामलाई जारी राखिएको हो ।
घर टहरा भत्काउन भक्तपुरबाट प्रहरी र काठमाडौं महानगरपालिकाबाट नगर प्रहरीसँगै डोजरहरु प्रयोग गरिएको छ ।
यसअघि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुमवासी बस्तीका घरटहरा भत्काइएको थियो । त्यहाँ बस्दै आएकाहरुलाई नगर प्रहरीले कीर्तिपुर, नागार्जुन र भक्तपुरमा व्यवस्थापन गरेको छ ।
काठमाडौं उपत्यकामा मात्र बागमती नदी किनारसहितका २७ ठाउँमा सुकुमवासीसहितका नाममा सरकारी जग्गा अतिक्रमण भएको छ । यी क्षेत्रमा तीन हजार ४९६ घरटहरा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ४ मंसिर ०८० मा सर्वोच्च अदालतमा बुझाएको लिखित बहस नोटमा उल्लेख छ । जसमध्ये काठमाडौं महानगरमा दुई हजार १७०, कागेश्वरी मनोहरामा ९०, बुढानीलकण्ठमा १५६, गोदावरीमा २१५, ललितपुर महानगरमा १७ र भक्तपुर जिल्लामा ७७३ घरटहरा छन् । देशभरि करिब १५ देखि १६ लाखसम्म सुकुमवासी परिवार रहेको सरकारी आँकडा छ ।

LEAVE A REPLY