काठमाडौँ, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरू जनताको बहुदलीय जनवाद जबजको मार्गदर्शनमा चल्दै आएको बताउनु भएको छ ।
मदन भण्डारीको ७५ औँ जन्मजयन्तिको अवसर पारेर काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले जबज नेपालको कम्युनिस्ट आन्दोलनलाई सङ्गठित र सशक्त ढङ्गले अघि बढाएको जिकिर गर्नुभएको हो ।
आफ्ना पति मदनलाई दूरदृष्टि भएको नेताको रूपमा स्मरण गराउँदै पूर्वराष्ट्रपति भण्डारीले नेपालको राजनीतिमा मदन भण्डारीले राजनीतिक तथा वैचारिक हिसाबले जीवन्तता पाएको दाबी समेत गर्नुभयो ।
उहाँले मदन भण्डारीको दर्शनलाई एमालेले सबै कमिटीमार्फत देशव्यापी रूपमा अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो।
मुलुकको समृद्धि र राष्ट्रिय एकताका लागि पनि एमालेले सो विचारलाई सबै कमिटीमार्फत अघि बढाउन आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो
उहाँले भन्नुभयो, “म उहाँलाई स्मरण गर्न चाहन्छु कि उहाँलाई हामीले भौतिक रूपमा गुमाएको करिब ३० वर्ष बढी भइसकेको छ । तर पनि भावनात्मक रूपमा आत्मीय हिसाबले वैचारिक हिसाबले र राजनीतिक हिसाबले नेपाली जनजीवनमा उहाँ जीवन्त नै रहनुभएको छ । नेपाली समाजमा उहाँ जीवन्त हुनुहुन्छ । उहाँ एउटा राष्ट्रवादी नेता हो । र, दूरदृष्टि भएको नेता हो । त्यसैको मार्गदर्शनमा नै अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलन एक ढङ्गले सङ्गठित र सशक्त ढङ्गले अघि बढेको छ भन्ने कुरा पनि म यहाँलाई राख्न चाहन्छु । आज राखेको जुन विषय छ । अलि भेग नै जस्तो देखिन्छ । बहुदलीय प्रणाली त्यहाँ बहुदलीय जनवाद भनिएको छैन । सामाजिक सदभाव र राष्ट्रिय एकता फेरि सामाजिक एकता, सद्भाव र राष्ट्र निर्माण भनेर निकै भेगको विषय छ । संसारमा धेरै दर्शन चलेका छन । धेरै देशले विभिन्न दर्शनलाई अनुशरण गरिरहेका बेलामा मलाई लाग्छ, यो व्यवस्थापन समितिले पनि जनताको बहुदलीय जनवादमा आधारित रहेर सन्दर्भ जननेताको जन्मजयन्ति रह्यो । जबजकै आधारमा सामाजिक एकता, सदभाव र राष्ट्र निर्माण समग्र एउटा कुरालाई हेरेर विषय बनाएर प्रस्तोतालाई विषय दिएजस्तो मलाई लाग्छ । त्यसैले विषय अहिलेको समसामयिक सन्दर्भमा निकै महत्त्वपूर्ण छ । आज देश जुन गतिमा गइरहेको छ । हामीले यी विषयलाई हेरेर अब राम्रोसँग अध्ययन गरेर हाम्रो देशको आवश्यकता अनुसार हामी अघि बढ्नुपर्ने हुन्छ ।”
पूर्वराष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यकतालाई सम्बोधन हुने गरी जबजलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।









