भुक्तानी नपाएको भन्दै गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प

२५ वैशाख, चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प बनेको छ । भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको हो ।
निर्माण कम्पनीका अनुसार गत पुस र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी माग गर्दा पनि नआएपछि विगत १५ दिनदेखि काम पूर्णरुपमा ठप्प छ ।
निर्माण कम्पनीका व्यवस्थापक विजय ढकालले आफूहरुले काम गर्न नसक्ने भएपछि रोक्नु परेको बताए । दुई वटा बिलको करिब १० करोड रकम भुक्तानी लिन बाँकी रहेको ढकालले बताए ।
निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिकामा पेश गरेको छ । महानगरपालिकाले प्रदेश सरकारबाट आउनुपर्ने रकम आउन ढिलाइ हुँदा भुक्तानी दिन नसकेको जनाएको छ ।
रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ । ठेक्का सम्झौताको म्याद सकिन करिब ७ महिना मात्रै बाँकी रहँदा ५० प्रतिशतभन्दा केही बढी मात्रै भौतिक प्रगति भएको छ ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रविन क्षेत्रीका अनुसार पहिलो टावरको काम लगभग सकिएको छ । त्यसमा ट्रसका लागि वालको काम भैरहेको छ ।
यस्तै दोस्रो टावरको दुई तलाको ढलान सकेर तेस्रो तलाका लागि पिलर उठाउनको काम भैरहेको छ । प्याराफिट १ को सबै काम सकेर प्याराफिट २ मा ढलाइ सकिएको छ भने स्ल्याबको काम बाँकी छ ।
प्याराफिट ४ मा फर्मा ठोकेर डण्डी तयार गरी ढलानको तयारी गरिएको थियो । यस्तै विद्युत पावर केवलहरु भूमिगत गर्ने, भवन भित्र विद्युतको काम गर्ने, पानीको अण्डर ग्राउण्ड पाइपिङको काम अगाडि बढेको बेला काम रोकिएको हो
स्टेडियम बाहिर पहुँच सडक निर्माण तथा मैदानमा पानी जम्न नदिनका लागि जमिन भित्र पाइपहरु राखेर ड्रेनएजको काम अगाडि बढेको इन्जिनियर क्षेत्रीले बताए । मैदान तथा पिचका लागि आवश्यक सामग्रीहरु ल्याउने काम भैरहेका बेला काम रोकिन पुगेको उनले बताए ।
तोकिएको समय भित्र काम नसकिने भएपछि निर्माण कम्पनीले थप म्याद माग्ने तयारी छ । तर रकम निकासा भएर काम सुरु गरेपछि म्याद थपको प्रक्रिया अगाडि बढाउने तयारी छ ।
२०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते अर्थात ३० महिना भित्र सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रूपैयाँको सम्झौता भएको थियो ।
सुरुमा काम थालेको धुर्मस–सुन्तली फाण्डेसनले पहिला नै ५ हजार जना बस्न मिल्ने प्याराफिट तयार गरेको थियो । अहिले थप १० हजार क्षमता थप्ने लगायत भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने सम्झौता ठेकेदार कम्पनीसँग महानगरले गरेको छ । मैदानमा ५ वटा पिचहरु बन्ने छन् । बर्खा नजिक आएकाले रकम निकासापछि पनि काम सहज हुनेमा आशंका छ ।
प्रदेश सरकारले रंगशाला निर्माण ठेक्काको कुल रकमको ७० प्रतिशत बेहोर्ने छ । बाँकी महानगरपालिका र केन्द्र सरकारले बेहोर्ने भन्ने छ । तर, चालु आर्थिक वर्षको बजेटमा केन्द्र सरकारले बजेट नै विनियोजन गरेको छैन । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा संघीय सरकारले विनियोजन गरेको २५ करोड रकममध्ये १० करोड रकम समयमा नै काम नगरेका कारणले फ्रिज भएको थियो । भरतपुर महानगरले चालु आर्थिक वर्षका लागि ४ करोड रूपैयाँ विनियोजन गरेको छ ।

LEAVE A REPLY