सभामुख अर्यालद्वारा नेपालको गौरव र प्रतिष्ठालाइ अझ वृद्धि गर्न आग्रह
२५ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुनेगरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्ले आज शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कूटनीतिक नियोगहरूको सहभागितामा कुटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको बताए ।
नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि उनले बताए ।
‘हामीले नयाँ पुस्तालाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत, सम्पदा र संस्कृतिप्रति जागरुक गरी शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमहरूद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी छ । जसले हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने ।
‘तपाईंहरूको लगन, मेहनत र प्रतिवद्धताविना राष्ट्रिय नीतिका लक्ष्यहरू पूरा हुन सक्दैनन् । सबै मिलेर नेपालको कूटनीतिलाई विश्वव्यापी स्तरमा अझ प्रभावकारी रुपमा प्रवर्द्धन गरी राष्ट्रको गौरव र प्रतिष्ठालाई अझ वृद्धि गर्न कूटनीति नियोगहरूको सकारात्मक सहभागितामा सफलताको नयाँ अध्यायको शुरु गरौं,’ उनले भने ।

LEAVE A REPLY