‘टोटल फुटबल’ शैली जन्मिएको विश्वकप

काठमाडौँ, जेठ १७ गते । ब्राजिलले तीन पटक जितेर जुलेस रिमेट कपमा कब्जा गरेपछि फिफा यस विश्वकपमा नयाँ ट्रफी लिएर आयो । म्युनिख ओलम्पिकमा प्यालेस्टेनी अतिवादीहरूको आक्रमण र त्यस घटनामा ११ जना इजरायली खेलाडीको हत्या गरिएको मात्र दुई वर्ष भएको थियो । प्रतियोगिताको प्रतिस्पर्धा संरचनासमेत नवीन भएकाले सन् १९७४ को विश्वकपलाई विशेष नै मान्न सकिन्छ । विश्वलाई स्तब्ध बनाएको म्युनिख नरसंहारको पीडा जर्मनीले बिर्सन सकेको थिएन । अरू घटना पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर यस विश्वकपमा सुरक्षा प्रबन्धक अत्यन्त कडा पारिएको थियो ।
विश्वकपमा पुनः नयाँ संरचना लागु गरियो । पहिलो चरणमा १६ राष्ट्रका टिमलाई चार समूहमा वर्गीकरण गरेर खेलाइयो । त्यस आधारमा प्रत्येक समूहबाट शीर्ष दुई स्थानमा रहने आठ टिमलाई दोस्रो चरणमा दुई समूहमा विभाजन गरेर खेलाइयो । दुवै समूहका शीर्ष स्थानमा रहने टिमले फाइनल खेलमा प्रतिस्पर्धा गर्ने नियम बनाइएको थियो ।
फुटबलमा प्रचलित ‘टोटल फुटबल’ शैली यस विश्वकपमा जन्मिएको हो । फाइनल खेलसम्मको यात्रा गर्ने हल्यान्डका असाधारण खेलाडी जोन क्रुफ र पश्चिम जर्मनीका फ्रेन्ज बेकनबाउरले फुटबलमा यस नयाँ कलाको विकास गर्नुभएको हो । यस नयाँ खेल शैली अनुसार विपक्षी टिमको रक्षापङ्क्ति छिन्नभिन्न पार्न खेलाडीहरू निरन्तर आफ्नो स्थान परिवर्तन गर्दथे । क्रुफ र बेकनबाउरको यो नयाँ शैली निकै सफल भयो पनि ।
प्रतियोगिताको पहिलो चरणमै सनसनीपूर्ण नतिजा आयो । पूर्वी जर्मनीले आयोजक पश्चिम जर्मनीलाई १–० गोलअन्तरले स्तब्ध पारेको थियो तर नतिजाले पश्चिम जर्मनीलाई फाइदा पुग्यो । उसले दोस्रो चरणमा बलिया टिम हल्यान्ड र ब्राजिलविरुद्ध खेल्नु परेन । प्रतियोगितामा अजेय टिमका रूपमा देखा परेको हल्यान्डले पूर्वी जर्मनी, अर्जेन्टिना र ब्राजिललाई किनारा लगाएर फाइनल खेलमा आफ्नो स्थान सुरक्षित पारेको थियो ।
फाइनल खेलमा हल्यान्ड र पश्चिम जर्मनी आमुन्नेसामुन्ने भए । अर्को समूहमा शक्तिशाली पोल्यान्डलाई हराएर पश्चिम जर्मनी फाइनलमा पुगेको थियो । बहुप्रतीक्षित फाइनल खेल सुरु भयो र खेलको पहिलो मिनेटमै योहान निस्केन्सले पेनाल्टीमा गोल गरेर हल्यान्डलाई अग्रता दिनुभयो तर २५ औँ मिनेटमै जर्मनीले गोल गरेर स्थिति बराबरी पा¥यो । अनि पूर्वार्धको अन्त्यतिर गर्ड मुलरले गरेको गोलबाट प्राप्त गरेको अग्रता जर्मनीले गुम्न दिएन र विजेता बन्यो ।

LEAVE A REPLY