काठमाडौँ । सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक मुद्दामा केन्द्रित रहेर करिब एक घण्टा छलफल भएको छ। सरकार गठनको १०० दिन पूरा भएपछि प्रधानमन्त्री शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिने क्रममा शुक्रबार यो बैठक बसेको हो।
छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, मुख्य स्वकीय सचिव सुवास शर्मा तथा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए। भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनले संविधान संशोधन, रासायनिक मलको अभाव, काठमाडौँका सुकुम्बासीको व्यवस्थापन, निजी अस्पतालहरूमा स्वास्थ्य बिमा सेवाको निरन्तरता र संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहितासहित ५ वटा मुख्य जनजीविकाका सवालहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
राप्रपाले उठाएका विषयहरूमा प्रधानमन्त्री शाहले स्पष्ट र सकारात्मक जवाफ दिएका छन्। संविधान संशोधनको सन्दर्भमा राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीजस्ता विषयहरू समेटिनुपर्ने चासो राखेको थियो। जवाफमा प्रधानमन्त्री शाहले आफ्ना सल्लाहकार असिम शाह नेतृत्वको कार्यदलले यसबारे सरोकारवाला सबैसँग छलफल गरेर प्रतिवेदन तयार पारिरहेको तर अहिले नै संशोधन प्रक्रिया सुरु नभएर बहस पत्र मात्र तयार हुन लागेको स्पष्ट पार
त्यस्तै, खेतीको मुख्य याममा मल अभाव हुन नदिने गरी सरकार लागिपरेको र काठमाडौँका बागमती किनारबाट हटाइएका सुकुम्बासीहरूलाई छिट्टै व्यवस्थापन गरिने तर काठमाडौँभित्र जग्गा दिन नसकिने अवस्था रहेको प्रधानमन्त्रीले बताए। स्वास्थ्य बिमाको व्यवस्थापकीय सुधारका लागि केही समय निजी अस्पतालको सेवा स्थगित गरिएको स्पष्ट पार्दै उनले संसद्मा आफ्नो सीमासम्बन्धी अभिव्यक्तिको विरोध भइरहेका बेला आफू बिस्तारै संसद् आउने र जवाफदेही बन्ने प्रतिबद्धता जनाए। भेटपछि राप्रपा अध्यक्ष लिङ्देनले कुराकानी सकारात्मक रहेको बताए भने प्रमुख सचेतक खुस्बु ओलीले सरकारको राम्रो काममा समर्थन गर्न पनि संवादहीनता तोडिनुपर्ने धारणा राखिन्। प्रधानमन्त्री शाहले आफू संवादका लागि सधैँ खुला रहेको बताउँदै भ्रष्टाचारसम्बन्धी कुनै कुरा भए सिधै प्रधानमन्त्री कार्यालयमा खबर गर्न आग्रह गरे।
\\









