Page 10

दादुरा खोप ९६ प्रतिशत बालबालिकाले लगाए

काठमाडौँ, ८ चैत : सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले गत फागुन १३ गतेदेखि सञ्चालन गरेको खोप अभियान बुधबार सम्पन्न भएको हो ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले प्रारम्भिक तथ्याङ्कअनुसार करिब ९६ प्रतिशत बालबालिकाले खोप लगाएको बताउनुभयो । उहाँका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा करिब ५६ लाख ४३ हजार नौ सय १२ बालबालिकाले खोप लगाएका छन् ।

“हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्”, उहाँले भन्नुभयो, “प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशत खोप लगाएको पाइएको छ, पूर्ण तथ्याङ्क आउँदा करिब शतप्रतिशतले खोप लगाएको हुनुपर्दछ ।” सरकारले यस वर्ष दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो । पश्चिमरुकुम र जाजरकोटमा यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो ।

खोप भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइएको थियो । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको थियो ।

कोशी प्रदेशः तीन महिनामा चार सय ८८ आगलागीका घटना

झापा, ८ चैत : सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रण बाहिर जाँदा आगलागीका घटना हुने गरेका उहाँले बताउनुभयो ।

स्थानीय जङ्गलमा पनि डढेलो लाग्ने गरेको भन्दै प्रउ पोखरेलले पहाडी जिल्लाका वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएमा मानव बस्तीमा समेत आगलागी हुने गरेको बताउनुभयो ।

यही चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा एकै परिवाका तीन बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिस कार्की र सात वर्षीया दिप्तिका कार्की रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिनुभयो । “आमाबुवा खेतबारीमा काम गर्न जानुभएको रहेछ”, घटनाबारे जानकारी उहाँले दिँदै भन्नुभयो, “गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ । उनीहरू भाग्नै सकेनन् ।”

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार जिल्लामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका–१ का ५५ वर्षीय नीलकण्ठ घिमिरेको बुधबार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो । गत पुस १ गते धनकुटा नगरपालिका–५ कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा र काजीनारायण श्रेष्ठको घर, गोठ जलेर रू ११ लाख बराबारको क्षति भएको प्रहरीको भनाइ छ ।

गत फागुन २८ गते मेचीनगर नगरपालिका–१५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेट्स् प्रालिमा भीषण आगलागी हुँदा रू १५ करोडको क्षति भएको छ । काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका आठवटा र भारतको एउटा दमकललाई तीन दिन लागेको प्रदेश प्रहरी कार्यालयका प्रउ पोखरेलले जानकारी दिनुभयो ।

यही चैत २ गते झापाको रतुवामाई वृक्षरोपण आयोजनामा ठूलो डढेलो लागेको थियो । आयोजनाको धरमपुर, केर्खा र झिलझिले नजिक वनमा लागेको आगो निभाउन आयोजनाले चासो नदेखाएको सथानीयवासीको आरोप छ ।

घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन् । बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन् ।

सुनको मूल्य हालसम्मकै उच्च, ताेलाकाे १ लाख २८ हजार नजीक

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सचिवमा चूडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय

सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्रा.सङ्गीता सिंह, डा. कुसेन्द्रबहादुर महत, प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात र नेपाली तीन जना गरी दश जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ ।

महरासँग आज पनि बयान लिइँदै

काठमाडौँ, ८ चैत : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उहाँसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिनुभयो । उहाँलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उहाँलाई नर्भिक अस्पतालमा राखिएको छ । निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उहाँको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी

काठमाडौँ । काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैं घण्टा खुलाउने तयारी भएको हो ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने छ । सोही अनुसार जिल्ला सुरक्षा समितिले योजना बनाउने बताइएको छ । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौँ ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैं घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ । पर्यटक लक्षित गरि हटलाइन सञ्चालनकाे तयारी पनि भइरहेकाे छ।

मोहनविक्रमबारे ओलीको टिप्पणी : छाती पिटिपिटी ग्वाग्वा रोएर उधुम छ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह पतन भएको टिप्पणी गरेका छन् । कांग्रेस सरकारबाट हटेपछि श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन नसकिने भएपछि पुराना कम्युनिष्ट नेता सिंह अहिले छाती पिटेर रोइरहेको ओलीको भनाइ थियो ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको एक कार्यक्रममा उनले श्रीमती पौडेलले पद नपाउने देखेपछि रोइ कराई गर्न लागेका सिंह केका लागि जीवनभर कम्युनिष्ट भएका रहेछन् ? भन्ने कुरा पनि पर्दाफास भएको दाबी गरे । उनले सिंह निराश र हतोत्साही भएपछि के टिप्न पाइन्छ भनेर कांग्रेसको पछि लागेको आरोप लगाए ।

उनले भने, ‘एक जना आफूलाई कम्युनिष्ट भन्ने पुराना नेता छन् । तपाईहरुले पनि चिन्नु हुन्छ होला । मोहन विक्रम सिंह नाम हो उहाँको । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटिपिटी रोएर उधुम छ बुढाको । कांग्रेस बाहिर रह्यो सरकारबाट । कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रिय सभामा मनोनित गरेर पठाउथ्यो होला सम्झिन्छन् । फेरि ग्वाग्वा रुन्छन् । छाती पिट्छन् । त्यसरी पतन हुँदो रहेछ मान्छे ।’ अध्यक्ष ओलीले सिंहको उदाहरण दिँदै पार्टी काममा सफलता हासिल नगरे निराश हुनेतर्फ पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

यस्तो छ खुम्बुको पर्यटन जोगाउने भरियाहरुकाे कथाव्यथा

सल्लेरी (सोलुखुम्बु) । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था थिएन ।

त्यसैले पर्यटकहरु लठ्ठीको साहारामा आधारशिविरको दूरी छोट्याउँदै गर्दा भरियाहरु नवराज विक, मिङ्मार तामाङ, जीवन कुलुङ, दारिन्जी शेर्पा र नवराज बस्नेत भने एकैछिन थकाइ मेट्न भारी बिसाए । विभिन्न देशबाट आएका पर्यटकहरु भरियाको सहारामा सगरमाथा आधारशिविर पुग्ने रहर पूरा गर्दैगर्दा उनीहरु भने घर खर्च जोहो गर्न पर्यटकसँगै उकालो लाग्दै थिए ।

विश्वका साहसिक पर्यटन रुचाउने अधिकांश पर्यटकका लागि सगरमाथा क्षेत्र ‘बकेटलिस्ट’को गन्तव्य भए पनि खुम्बु क्षेत्रमा उकालो लाग्दै गरेका यी र यी जस्तै भरियाका लागि भने यो आम्दानीको प्रमुख स्रोत हो । हजारौँ डलर खर्चेर सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकका साथरी भरियाका लागि भने यसै क्षेत्रमा भारी बोकेर दिनमा रु दुई हजार कमाउन पनि मुस्किल हुन्छ ।

‘आधार शिविरको ठाडो बाटो रित्तै हिँड्न त गाह्रो छ । त्यसमाथि ४० केजीको झोला बोकेर पर्यटकसँगै आधारशिविरसम्मको उकालो बाटो छिचोल्नु उत्तिकै कठिन पनि छ’, भरिया नवराज विकले भने, ‘जति उकालो लाग्दै गयो ‘अल्टिच्युड’ पनि बढ्दै जान्छ । कठीनाइ थपिँदै जान्छ । तर काम गरेअनुसारको पारिश्रमिक पाए त ती सबै दुःख बिर्सिन्थ्यो होला । तर सधैभरी त्यस्तो हुँदैन । तपाईंहरुले सोचे जस्तो राम्रो कमाइ पनि हुँदैन ।’

उमेरले ४० पुग्न लागेका विक यसैगरी खुम्बुमा पर्यटकको झोला बोक्न थालेको डेढ दशकभन्दा बढी भयो । सोलुखुम्बु महाकुलुङ गाउँपालिका–१ बुङका उहाँ पर्यटकको भारी बोकेरै घरखर्च चलाउँदै आएका छन् ।

तर ,यही भारी बोक्ने काम पनि वर्षभरी भने पाइँदैन । सगरमाथा क्षेत्र घुम्नका लागि दुईवटा याम राम्रो मानिन्छ । पहिलो असोजदेखि मंसिर र दोस्रो फागुनदेखि वैशाख । यी दुवै यामको सुरुआतमा लुक्लामा पर्यटक बाक्लिन थालेपछि विक जस्ता भरियाहरु काम खोज्दै खुम्बु क्षेत्र प्रवेश गर्छन् । अनी लुक्लाबाट पर्यटकको झोला बोकेर गन्तव्यसम्म पुग्न सहयोग गर्छन । उनीहरु सो ‘सिजन’भरी यसैगरी काम गर्छन् र पर्यटक पातलिन थालेपछि मात्रै घर फर्कन्छन् ।

‘श्रीमति र बालबच्चासहितको परिवार चलाउने खर्च यहीँ कमाउने हो । यहाँ काम नहुँदा घरमा कृषिलगायतको काम गर्छु । तर ज्यान जोखिममा राखेर सगरमाथाको ‘माइनस’ तापक्रममा काम गर्दा पनि खर्च धान्नै गाह्रो हुन्छ’, विकले पीडा सुनाए ।

विकका अनुसार दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लादेखि पाँच हजार तीन सय ६४ मिटरको आधारशिविर पुग्न छदेखि सात दिनलाग्छ । त्यहाँबाट फर्कँदा दुईदेखि तीन दिन लाग्छ । यसरी उनीहरुले दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारका दरले औसतमा एक टोली पर्यटकलाई सेवा दिँदा रु १८ हजारदेखि रु २० हजारसम्म कमाउँछन् । कमाएको पैसा खाना र बस्नमा पनि खर्च हुन्छ । खर्च कटाउँदा हातमा बच्ने पैसाले पसिनाको मोल दिँदैन ।

विकका अनुसार सुम्बु क्षेत्र पर्यटकका लागि जति महङ्गो छ भरियाका लागि त्योभन्दा कम छैन । ‘भरियासँग कम पारिश्रमिकको मात्रै पीडा छैन । महङ्गो खाना र बासको राम्रो प्रबन्ध नहुनु पनि हाम्रा लागि पीडा नै हो’, उनले भने, ‘पर्यटक जसरी महँगा होटलमा कहाँ बस्न पाउनु । हामी त भट्टी खोज्दै हिँड्नुपर्छ ।’

विकको जस्तै पीडा उहाँसँगै थकाइ मार्दै गरेका मिङ्मारले पनि सुनाए । ‘ब्याकप्याकसँगै खानाका लागि घरमा भुटेको मकै, रोटी र आलु बोक्नुपर्छ । पारिश्रमिकले होटलको खाना खाने हो भने त कमाएको पैसा घर पुग्दैन’ उनले भने, ‘भीड बढ्यो भने त सुत्नको जोहो गर्न पनि गाह्रो हुन्छ ।’

उनका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा भरियाले एक छाक खानाको रु पाँच सयदेखि सात सयसम्म तिर्नुपर्छ । ‘दुःखअनुसारको पारिश्रमिक त कसैले पाउँदैनन् । त्यही कहिलेकाँही पाइने टिप्सले दुःख भुलाइदिन्छ’, हल्का थकाइ मेटिएको अनुहारमा हल्का मुस्कान छर्दै उनले भने ।

खुम्बुका लागि भरियाहरु सस्ता ढुवानीकर्ता हुन् । ‘सवारी गुड्ने सडकको सुविधा छैन । हेलिकोप्टर, याक र जोक्पेबाट ढुवानी गर्दा महँगो हुन्छ’, गोरक्सेपमा भेटिनुभएका भरिया जीवन कुलुङले भन्ने, ‘ढुवानीमै धेरै पैसा खर्च गर्ने भए भरियाको के काम ?’ खुम्बु क्षेत्रमा पर्यटकको भारी बोक्न ओखलढुङ्गा, खोटाङलगायतका जिल्लाबाट पनि यहाँसम्म भरिया आउने गरेको उनले सुनाए ।

भरियालाई छैन सम्मान
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ । पर्यटकहरु खुम्बु क्षेत्रमा रहँदासम्म भरियाहरु हरपल साथमै रहन्छन् । भरियाको अभावमा लुक्लादेखि गह्रौँ झोला बोकेर हिमाल चढ्नु जो कोही पर्यटकले सक्ने कुरा पनि हुँदैन । उनीहरु भरियाकै कारण पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न पाउँछन् । कैयन अवस्थामा त यिनै भरियाकै कारण कैयन पर्यटकको ज्यान पनि जोगिएको छ । खुम्बुको हावापानीसँग परिचित भरियाकै कारण मृत्युको मुखबाट बाँचेर धेरै पर्यटक घर फर्केका पनि छन् ।

तर, भरियाहरुले सम्मान भने पाउन नसकेको भरिया दारिञ्जी शेर्पाको गुनासो छ । ‘हामीहरु दिनभर भारी बोकेर उकालो चढ्दछौँ । रात परेपछि बासको चिन्ताले सताउँछ’, उनले भने, ‘होटलमा बास बस्न मुस्किल हुन्छ । भारी बिसाउनेवित्तिकै बास खोज्दै भट्टी चहार्नुपर्छ ।’ कतिपय अवस्थामा त बास पाउन निकै सास्ती भोग्नु परेको शेर्पाको अनुभव छ ।

पर्यटकका लागि होटलमा सबै सुविधा भए पनि भरियाका लागि उचित व्यवस्था नभएका भरिया नवराज बस्नेतको तर्क छ । ‘होटल व्यवसायीहरुले हामी गर्ने व्यवहार चित्त दुख्दो हुन्छ । त्यो हामीले भोग्दै आएका छौँ । हामीलाई त लेक लाग्दा वा कुनै गाह्रो अवस्था हुँदा सहज उद्धार पनि नहुने अवस्था छ’, उनले गुनासो गरे ।

‘पोर्टर हाउस’ बन्दै
खुम्बु पासाङल्हामु गाउँपालिकाले हाल भरियाहरुसँग प्रतिव्यक्ति रु २५ का दरले शुल्क लिँदै आएको छ । तर भरियाहरुका लागि भने उचित बन्दोबस्न हुन सकेको छैन । गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले भरियाहरुका लागि उचित बन्दोबस्त नभएको स्वीकार गर्दै पालिकाले हालै ‘पोर्टर हाउस’ अर्थात् भरिया घरको अवधारणा अघि सारेको बताए ।

‘भरियाहरुका लागि सगरमाथा क्षेत्रका विभिन्न स्थानमा पोर्टर हाउस निर्माणको प्रक्रिया अघि बढिसकेको छ । जहाँ उनीहरुका लागि खान र बस्नको राम्रो प्रबन्ध हुनेछ’, उनले भने । पोर्टर हाउसमा भरियाले निकै कम शुल्कमा खाना र बस्न पाउने उनको भनाइ छ । ‘गाउँपालिकाले पोर्टर हाउस निर्माण सुरु गरिसकेको छ । केही महिनाभित्रै सञ्चालन गर्ने गरी काम भइरहेको छ’ उनले भने ।

खुम्बुको पर्यटन बचाउन भरियाहरुले गरेको योगदानलाई कदर गर्दै पोर्टर हाउस निर्माण सुरु गरिएको उनको भनाइ छ । हाल नाम्चे, लुक्लासहितका क्षेत्रमा भट्टी पसलहरु प्रशस्त भएकाले समस्या नभए पनि माथिल्लो क्षेत्र थामे, दिङबोचे, दिबुचे, थुक्ला, गोरक्सेपलगायतका स्थानमा भने भरियाले समस्या भोग्नुपरेको अध्यक्ष शेर्पाले बताए । भरिया घर सञ्चालनमा आएपछि भरियाको उक्त समस्या दीगो रुपमा समाधान हुने उनको विश्वास छ ।

‘नियमित जाँच गरे मुखसम्बन्धी रोगले जटिलता निम्त्याउँदैन’

काठमाडौँ, ७ चैतः ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुखस्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका लागि आवश्यक छ, सर्वोत्कृष्ट पोषणका लागि यसले खानालाई मिहिन बनाउनमात्र सघाउँदैन अपितु स्वस्थ मुस्कान र आत्मसम्मान जोगाउन मद्दत गर्छ । यो नाराले प्रवाह गर्ने सन्देश यही हो भन्छन् दन्तचिकित्सकहरू । मुख स्वस्थ भयो भने सम्पूर्ण शरीर नै निरोगी रहन्छ । मुख स्वस्थ हुँदा नै हामी बोल्न, चपाउन र मुस्कुराउन सक्छौँ ।

आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । दाँत, गिजा र सम्पूर्ण मुख–अनुहार प्रणालीको स्वास्थ्यलाई मुख स्वास्थ्यको रूपमा बुझ्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिजासम्बन्धी रोग, दाँत कीराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा मुखसम्बन्धी अन्य रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ ।

हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने अधिकांशमा दाँत कीराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या भएका बिरामी पाइन्छन् । स्वास्थ्यसम्बन्धी वेबसाइट मायो क्लिनिक डटकमका अनुसार शरीरका अन्य भागजस्तै मुख पनि कीटाणुले भरिएको हुन्छ, तथापि ती कीटाणु प्रायः हानिकारक हुन्छन् । तर मुख भनेको पाचन नलीमा प्रवेश गर्ने माध्यम भएकाले यदि त्यो स्वस्थ्य भएन भने हानिकारक कीटाणुले शरीरभर रोग निम्त्याउन सक्छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ दन्तचिकित्सक डा बुद्धिमान श्रेष्ठले बालबालिकामा बढीजसो दाँत कीराले खाने र वयस्कमा गिजाको बढी समस्या हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्ने अधिकांशलाई मुखभित्र सेतो घाउ बढी मात्रामा देखिने गरेको छ, जुन मुख क्यान्सरको प्रारम्भिक लक्षण पनि हो । उहाँ मुख नै स्वस्थ भएन भने घर (शरीर) नै स्वस्थ नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुखस्वास्थ्य सम्पूर्ण शरीरको स्वास्थ्यसँग जोडिन्छ । गर्भवतीको मुख स्वस्थ्य नहुँदा समय नपुगी बच्चा जन्मिन सक्ने र बच्चा कम तौलको जन्मिने हुन सक्छन् । साथै मुख र गिजा सफा भएन भने यसले मधुमेह, मुटुरोग र क्यान्सरसम्मको जोखिम निम्त्याउन सक्छ ।”

डब्ल्युएचओका अनुसार चिनीको खपत, सुर्ती, मदिरा सेवन र सरसफाइको कमी मुखसम्बन्धी समस्याका मुख्य कारक हुन् । मुखसम्बन्धी समस्या विश्वव्यापीरूपमा नसर्ने रोग बन्दै गएको छ । मुख स्वास्थ्यमा खासगरी दाँत कीराले खाने, गिजासम्बन्धी रोग र मुखको क्यान्सर जनस्वास्थ्यका प्रमुख समस्याका हुन् । विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ । बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन् । यो मुख्यतया ‘टुथपेस्ट’को गुणस्तर, उच्च चिनीयुक्त खानाको सेवन, मुखको उपचारमा कमजोर पहुँचका कारण बढ्दो छ ।

नेपाल डेन्टल एशोसिएसनका महासचिव डा विश्वप्रकाश ठाकुरले धेरै बिरामी दाँतको दुखाइ र जटिल समस्या आएपछि मात्र चिकित्सककहाँ आउने प्रवृत्ति रहेको अनुभव सुनाउनुहुन्छ । उहाँ शरीरका अन्य अङ्गको स्याहार गरेजस्तै दाँतको पनि त्यसरी नै स्याहार गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुहुन्छ, “मुख नै स्वस्थ भएन भने अरु रोग लाग्ने सम्भावना हुन्छ । दाँतको कुनै पनि समस्या आज वा भोलि नै हँुदैन, नियमित जाँच गर्दा जटिल समस्या हुन पाउँदैन ।”

डा ठाकुर अहिले ३० देखि ३५ वर्षको उमेरमा र्नै दाँत झरेर नक्कली दाँत राख्नुपर्ने अवस्था आएको भन्दै धेरै जनाले ‘ब्रस’ राम्ररी नगर्नाले समस्या बढी भएको बताउनुहुन्छ । मुखस्वास्थ्यलाई प्राथमिकतामा राख्न र यसका लागि पर्याप्त बजेट छुट्याउन आवश्यक भएको उहाँ औँल्याउनुहुन्छ ।

डब्लुएचओको पछिल्लो अध्ययन ग्लोबल ओरल हेल्थ स्टेटस रिपोर्ट (२०२२) अनुसार मुखसम्बन्धी रोगले विश्वभर तीन अर्ब ५० करोड मानिस पीडित हुने गरेका तथा तिनमा हरेक चारजनामध्ये तीन जना मध्यम आय भएका देशका नागरिक छन् । त्यसैगरी विश्वव्यापी अनुमानित दुई अर्ब मानिस स्थायीरूपमा नै दाँत कीराले खाने समस्याबाट पीडित छन् भने ५१ करोड ४० लाख बालबालिकामा दाँतको कीराले खाने समस्या छ । त्यसैगरी एक अर्बलाई गिजाको जटिल समस्या देखिने गरेको छ । डब्ल्युएचओकै अध्ययनले ६० देखि ९० प्रतिशत स्कुले बालबालिकामा दाँत कीराले खाने समस्या रहेको र त्यो ज्येष्ठ नागरिकमा झन् बढी रहेको बताउँछ ।

डब्ल्युएचओको ओरल हेल्थ कन्ट्री (नेपाल) प्रोफाइल २०२२ का अनुसार उपचार नगरिएको कीराले खाएको दुधे दाँतको समस्या एकदेखि नौ वर्षमा ५१ दशमलव दुई प्रतिशत, पाँच वर्षमाथिका स्थायी दाँतको समस्या ३१ दशमलव पाँच प्रतिशतलाई र गिजाको समस्या १५ वर्षमाथि १४ दशमलव आठ प्रतिशत र २० वर्षमाथिलाई दाँत नहुने समस्या एक दशमलव चार प्रतिशत देखिएको जनाएको छ । सङ्ख्या अझै पनि हुनसक्ने भए पनि नियमित अध्ययन–अनुसन्धान नभएकाले कति प्रतिशत समस्याबाट पीडित छन् भनेर आकलन गर्न सकिएको छैन ।

त्यसैगरी नेपाल नेशनल ओरल हेल्थ पाथफाइन्डर सर्भे २००४ मुख स्वास्थ्यसम्बन्धी अध्ययनमा नेपालमा पाँच–छ वर्षका ५७ दशमलव पाँच प्रतिशत, १२–१३ वर्षका २५ दशमलव छ प्रतिशत, १५–१६ वर्षका बच्चामा २६ दशमलव तीन, ३५–४४ वर्षका ५७ दशमलव पाँच प्रतिशत तथा ५० वर्षभन्दा माथिका ६९ दशमलव छ प्रतिशत व्यक्तिमा दाँतमा कीरा लाग्ने समस्या देखिएको थियो । अध्ययनले महिलामा दाँतमा कीरा लाग्ने समस्या बढी देखाएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी सामुदायिक दन्त चिकित्सक डा सिर्जना दाहाल दुखाइ नभएसम्म अस्पताल नआउने भएकाले जनतामा चेतना जागृत गर्न आवश्यक भएको बताउनुहुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने मुखसम्बन्धी सेवा सबैको पहुँचमा पुग्न सकेको छैन । जति छ, त्यो पनि सर्वसुलभ छैन । सरकारीबाहेक निजी अस्पताल तथा क्लिनिकमा मुखस्वास्थ्यको उपचार महँगो छ । डब्ल्युएचओले पनि कम र मध्यम आय भएका देशमा मुखसम्बन्धी उपचारको पर्याप्त सेवा उपलब्ध नभएको बताउँदै आएको छ ।

स्टेप्स् सर्भे नेपाल २०१९ को अध्ययनले १५ देखि ६९ वर्ष उमेर समूहका ८९ दशमलव नौ प्रतिशतले दैनिक एक वा दुईपटक दाँत माझ्ने गरेको जनाएको छ । नियमित दाँत माझ्ने सङ्ख्या धेरै भए पनि नियमित आफँै स्वाथ्य संस्थासम्म जाने प्रतिशत भने कम छ । सर्भेले ५४ दशमलव पाँच प्रतिशत बयस्कमा मुखसम्बन्धी जाँचका लागि जानुपर्छ भन्ने धारणा छैन ।

वीर अस्पताल दन्त विभागका गिजारोग विशेषज्ञ सहप्राध्यापक डा रञ्जिता श्रेष्ठ नियमित जाँचले पछि हुने दाँतको दुखाइलगायत गिजाको समस्याबाट राहत मिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रोग नै लाग्न दिएनौँ भने खर्च हुँदैन । दाँतको उपचार चरणबद्ध हुन्छ त्यसैले बढी खर्च लाग्ने हुन्छ । पहिलाभन्दा आम मानिस अलि सजग भए पनि सबै सचेत छैनन् ।”

वीर अस्पतालमा दाँतको उपचार सेवा लिन रु ३० को टिकट काटे पुग्छ । अरु सेवा पनि निजीभन्दा आधा सस्तो रहेको डा श्रेष्ठ बताउनुहुन्छ । “सरकारी अस्पतालमा निजीभन्दा सस्तो सेवा उपलब्ध छ । सरकारले आँखा, मुटुको जस्तै मुख स्वास्थ्यसम्बन्धी छुट्टै अस्पताल बनाए धेरै बिरामीलाई राहत मिल्थ्यो होला ।”

डा श्रेष्ठ भन्नुहुन्छ, “अहिले ब्रस नगर्ने मान्छे सायदै कोही होला । बच्चाको दाँत नै नआए पनि गिजा सफा कपडाले पुछिदिनुपर्छ । साढे दुई वर्षसम्म दुधेदाँत आइसक्छ । नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ । धेरै अभिभावकले दुधेदाँत झरेर अर्को आउँछ भनेर ध्यान दिनुहुँदैन तर त्यो कीराले खायो भने पछि आउने दाँत नराम्रो आउने सम्भावना हुन्छ ।”

विज्ञहरूले मुख स्वास्थ्यलाई राम्रो बनाउन छ–छ महिनामा दाँत जाँच गराउने, दैनिक बिहान र बेलुका दिनमा दुईपटक ब्रस गर्ने, खाना खाइसकेपछि कुल्ला गर्ने बानी बसाल्ने, ‘कोल्डड्रिङक्स’को सेवन कम गर्ने तथा चुरोट, गुट्खा, सुपारीलगायत सुर्तीजन्य पदार्थ सेवन नगर्ने सुझाव दिएका छन् ।

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

काठमाडौँ, ७ चैत : गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना गरी काम अघि बढाउन मन्त्रालयबाट निर्देशन गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सोसम्बन्धी विषय हेर्ने सहजीकरण डेस्कसमेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा अन्य सम्पर्कका माध्यमहरू) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

साथै मिटरब्याजसम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको उहाँले जानकारी दिनुभयो । मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी गुनासोका लागि मोबाइल नम्बर ः ९८५१३६०६०३ (भाइवर, ह्वाट्स एप म्यासेजका लागि), इमेल : meterbyaj@gmail.com तथा टोल फ्रि नम्बर १११२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

सुदामा ताजा समाचार

खुर्पा प्रहार गरी छोराको हत्या

१७ जेठ, चितवन । पूर्वी नवलपरासी नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६३ वर्षीय...

आर्थिक वर्षको बजेटले राख्यो,सुरुङमार्गलाई विशेष प्रामिकतामा

 काठमाडौं । मुलुकभित्र दुई वटा सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ...

बेलबारी फुटबल क्लवले जित्यो,भीमनारायण गोल्डकपको उपाधि

हिले, जेठ १७ गते । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लब, मोरङले जितेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार...