काठमाडौं । रुपन्देहीको मणिग्राममा केनद्रीय कार्यलय स्थापना गरेको कौण्डिन्य गोत्रीय पाठक समाज नेपालले छैटौं केन्द्रीय अधिवेशन तथा सम्मेलन यही चैतको २९ र ३० गते गर्ने भएको छ।काठमाण्डौंको टोखा नगरपालिकास्थित हरिहर आश्रममा सञ्चालन हुने दुई दिने कार्यक्रममा विभिन्न कार्यपत्र सहित पदाधिकारीका प्रतिवेदनमाथि छलफल हुने समाजका केन्द्रीय अध्यक्ष टीकाराम पाठकले जानकारी दिनुभयो।
अधिवेशनलाई सबैको सक्रियतामा अब्बल रूपमा सञ्चालन गर्नका लागि सबैतिर पत्राचार र सूचनाको काम भैरहेको समाजका महासचिव प्रा .डा. गणेशप्रसाद पाठकले बताउनुभयो ।
यसैबीच, अधिवेशन तथा सम्मेलनमा सहभागी हुनका लागि विदेशमा रहेका बन्धुहरूले समेत इच्छा गरेका हुँदा यसपटकको महाधिवेशन अझ ऐतिहासिक बन्न लागेको समाजका केन्द्रिय सचिव केशव पाठकले दावी गर्नुभयो।
३० वर्षअघि स्थापित यो समाजले सगोत्री भित्र विवाह नगर्ने, देशभरका पाठकहरूले एकैपटक एउटै तिथिमा हिंसारहित कुल पूजा गर्ने, सहयोगको आवश्यकता परेका बन्धुहरूलाई आर्थिक उद्दार गर्ने, समाजका सदस्यको मृत्यु भएको दशौं दिनमा प्रति परिवार एकसय रूपियाँ सहित उपस्थित हुने, पूजा लगायतका मृत्यु संस्कारमा एकरूपता अपनाउने लगायतका कार्य गर्दै आएको सचिव पाठकले जानकारी दिनुभयो।
समाजका सदस्यहरूको बसोबासका आधारमा ९ वटा क्षेत्रहरू निर्माण गरी क्षेत्रीय कार्य सञ्चालन गर्दै आएको र सदस्यहरूको थप विकाशका लागि युवा समिति र महिला समिति बनाई काम गर्दै आएको समेत समाजले जनाएको छ।
कौण्डिन्य गोत्र भएका थरहरुमा आचार्य, सापकोटा , पराजुली, बनजरा , खतिवडा लगायका छन् ।