२४ घण्टा भित्र माग सम्बोधन नभए चिकित्सकहरुले सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने

काठमाडौं । नेपाल चिकित्सक संघले २४ घण्टा भित्र माग सम्बोधन नभए सघन उपाचार सेवा बाहेक अन्य सबै सेवाहरु ठप्प पार्ने चेतावनी दिएका छन् । यसका लार्गि देशभरका सम्पूर्ण चिकित्सकहरूलाई आज बैशाख ११ गते बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न भएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्ने र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गरेको हो ।
चिकित्सकहरुको आत्मसम्मानको यस आन्दोलनलाई सफल पार्न देशभरिका सम्पूर्ण नागरिक, नागरिक समाज, पेशागत संघ सङगठन विभिन्न मेडिकल सोसाइटीहरु, बुद्धिजिवी, पत्रकार लगायत सम्पूर्णमा नेपाल चिकित्सक संघले आग्रह गरेको छ ।
यसबाट सर्वसाधरणमा पर्न जाने असुविधाप्रति नेपाल चिकित्सक संघ क्षमा माग्दै सोको जिम्मेवारी स्वयंम सरकारले लिनुपर्ने पनि संघको भनाई छ ।

विगत २८ दिनदेखि चिकित्सकहरूको माग सम्बोधन गर्न राज्यले गरेको उदासीनताप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।
समस्याको समाधान गर्न जिम्मेवार हुनुपर्ने भन्दा यस संस्थाका पदाधिकारी र संस्थालाई तुच्छ शब्द प्रयोग गरी कपोकल्पित आरोप लगाई भ्रम छर्ने काम गर्ने एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजका पदाधिकारीको कार्यको घोर भत्सर्ना गर्दै आरोप पुष्टि गर्न पनि खुल्ला चुनौती दिएका छ ।
आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी निजी मेडिकल कलेजमा काम गर्ने सम्पूर्ण चिकित्सकहरुलाई आफ्नो आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण काम छोडि संघर्षमा आउन पनि संघले आह्वान गरेको छ ।

LEAVE A REPLY