आज संघीय संसदको दुवै सदनबाट,सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १.१५ बजे बस्ने कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२ ÷ ८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन्।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
राष्ट्रिय सभाको बैठकमा पनि प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ। प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभामा पनि प्रतिनिधि सभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ।

 

LEAVE A REPLY