काठमाडौं। नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरेको छ। तिन साता अघि नेपाली कांगे्रस र नेकपाएमाले बीच गुणाकर भट्टलाइ गर्भनर बनाउने सहमति भएको भए पनि कामु गर्भनर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरे पछि विकल्पको रुपमा गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारुढ दल कांग्रेस र एमालेका शीर्ष नेताहरूसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायतका नेता बालुवाटारको बैठकमा सहभागी थिए। बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएपछि अब एक साताभित्र गभर्नर नियुक्त हुने बताइएको छ।









