काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेस ठूलो दल भए पनि बहुमत नहुँदा मिलेरै सरकार बनाउनु र चलाउनुपर्ने बताउनुभएको छ । मिलेर सरकार चलाउनुपर्ने बाध्यता वर्तमान निर्वाचन प्रणालीले गराएको उहाँको भनाई छ । मिलेर सरकार बनाउने र चलाउने क्रममा केही कमिकमजोरी भए सुधार गर्दै अघि बढ्ने देउवाको भनाई छ ।
अहिले कांग्रेस–एमालेको गठबन्धनमा ओली नेतृत्वको सरकार छ । एमाले–कांग्रेस मिलेर सरकार बनाउदा आम जनताले ठूला ठूला काम सरकारबाट हुने अपेक्षा गरेका थिए । तर सो अपेक्षा अनुसार काम पनि हुन नसकेपछि सरकारप्रतिको असन्तुष्टि प्रतिपक्षको मात्रै होइन, सत्ता साझेदार दलका सांसदहरुको पनि चरम आलोचना भईरहेको अवस्था छ । अवस्था एकातिर यस्तो छ भने अर्कातिर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र लगायतले सरकारको चर्को आलोचना गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो सरकारलाई ढालेर एमालेलाई एक्ल्याउँदै कांग्रेससँग मिलेर सरकार बनाउने र सत्ताको प्यास मेटाउने भन्दै न्वरानदेखिको बल लगाई राख्नु भएको छ । तर कांग्रेस–एमाले मिल्दासम्म त्यो प्रयास निरर्थक रहने भएको छ ।
केही दिन अघि प्रचण्डले सभापति शेरबहादुर देउवालार्य फोन गरेर देउवा निवास बुढानिलकण्ठ मै प्रभावशाली नेता तथा पार्टी उपमहासचिव जनार्दन शर्मालाई पठाउनु भएको थियो । देउवासँगको भेटा समसामयिक राजनीतिक विषयमा छलफल भएको उपमहासचिव शर्माले बताउनु भएको छ । माओवादी केन्द्रको कांग्रेससँगको बारम्बारको भेट, फोन वार्ता र कांग्रेसभित्रै चुलिइ रहेको सरकारप्रतिको असन्तुष्टिका कारण सरकारको आयु बारे आशंका पनि उत्पन्न हुन नथालेका होइनन् । तर यस्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने एमालेसँग भएको सात बुँदे सहमति प्रति प्रतिबद्ध देखिनु भएको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्झौता अनुसार कार्यकाल सकिएपछि आफुले लिइरहेको प्रधानमन्त्री पद ससम्मानका साथ राम्रो किस्तिमा राखेर देउवालाई दिने बताईरहनु भएको छ । यो भनाइलाई कांग्रेसका केही नेताले गलत अर्थ लगाउँदै पनि आएका छन् । पार्टी भित्र जे जस्ता असन्तुष्टि चुलिए पनि सभापति देउवा वर्तमान गठबन्धनप्रति प्रतिबद्ध हुँदै वर्तमान गठबन्धनलाई निरन्तरता ँिददै अघि बढ्ने मुडमा देउवा रहनु भएको देखिन्छ । यसरी प्रतिबद्ध हुनुमा मुख्य गरी तीन कारण छन् । पहिलो कारण सभापति देउवा एमालेसँग भएको सात बुँदे सहमतिप्रति ढुक्क हुनु । दोस्रो कारण सम्झौतामा भए अनुसार ओली पछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नै र तेस्रो कारण नेकपा माओवादी केन्द्रप्रति देउवाको पूर्ण विश्वास नहुनु हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ढुलमुले प्रवृत्तिले पूर्ण रुपमा विश्वस्त हुने ठाउँ गुमेको छ । माओवादी केन्द्र प्रतिनिधि सभाको तेस्रो ठूलो दल भएर पनि कहिले कांग्रेससँग मिलेर सरकारको नेतृत्व गर्ने र दोस्रो ठूलो दल नेकपा एमालेलाई पछि पार्ने त कहिले एमालेसँग मिलेर पहिलो दल बनेको नेपाली कांग्रेसलाई पछि पार्ने प्रवृत्तिले सरकार अस्थिर भइरहने अवस्थाको सृजना हुँदा दोस्रो ठूलो दल र पहिलो दल मिलेर सरकार सञ्चालन गर्नुपर्ने बाध्यता भएका कारण पनि कांग्रेस–एमाले मिलेका हुन् । देउवा आफु राजनीतिक इमान्दार हुनुभएकै कारण र प्रचण्डले पटक पटक धोका दिनुभएका कारण पनि तत्काल सत्ता समिकरण नगर्ने सोचमा देउवा हुनुहुन्छ । अर्कोतर्फ अहिले परिस्थिति परिपक्व छैन । एमालेसँगको गठबन्धन तोडेर आफ्नो नेतृत्वको सरकार गठन गर्न अंकगणितका हिसाबले निकै कठिन छ । त्यस्तै सभापति देउवाको लागि सरकार गठन गर्न अहिले अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकुल छ । यी विविध कारणले पनि देउवा गठबन्धन तोड्न अनिच्छुक देखनुभएको हुँदा बाहिर जति हल्ला भए पनि तत्काल सरकार परिवर्तन नहुने पक्कापक्की जस्तै भएको छ ।