काठमाडौँ, जेठ ३० गते । सङ्घीय संसदअन्तर्गत आज अर्थात शुक्रबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नुहुने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भगरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आ.व. २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि रहेको छ ।
त्यस्तै, सवा १ बजे बस्ने तयारी गरेको राष्ट सभा«बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति मायाप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभासमक्ष पेस गर्नुहुने छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।








