काठमाडौँ । आजदेखि मिथिलामा छठ सुरु भएको छ , जनकपुरधामका घाटहरु झिलिमिलि पारिएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि अहिले जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।
गंगासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ । गंगासागरमा तीनवटा समितिले सजावटको काम गर्ने गरेको छ
यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ ।
चारदिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदै छ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्छ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय(खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।
मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घय दिइन्छ ।
छठपर्वको अन्तिम दिन मंगलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घय दिएर पर्वको समापन गरिनेछ ।









