काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उम्मेदवारी घोषणा संगै उनले पार्टीबाट अलग राखिएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई “फर्कने सहज वातावरण बनाइनुपर्छ” भन्दै नेतृत्वस्तरमै संवेदनशील कदम चाल्नुपर्ने धारणा राखेका छन्। मंगलबार जारी गरिएको लामो वक्तव्यमार्फत पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक एकताको विषयमा स्पष्ट संदेश दिएका छन्। उनीभित्रको राजनीतिक उद्देश्यभन्दा ठूलो ‘पार्टीलाई मूलधारमा फर्काउने’ संदेश झल्किएको देखिन्छ।
विद्या भण्डारी ‘वञ्चित’ हुनु पार्टीका लागि क्षतिः पोखरेल
पोखरेलका अनुसार, विद्यादेवी भण्डारी चार दशकको योगदान र राष्ट्रपतिको गरिमामय कार्यकाल पछि पुनः पार्टी सक्रियतामा फर्कन इच्छुक छिन् “पार्टीका लागि गौरव” हो। तर, उनी पार्टी सदस्यता नै नपाएको अवस्था “संगठनलाई कमजोर पार्ने” निर्णय भएको बताउँदै उनले भने, “विचार, सिद्धान्त र नीतिप्रति निष्ठावान् व्यक्तिलाई सदस्यताबाट वञ्चित गर्दा पार्टी एकतामा प्रत्यक्ष असर पर्छ। भण्डारीलाई फर्कने वातावरण अब अविलम्ब निर्माण गरिनुपर्छ।”
उनको यस्तो अभिव्यक्तिले पार्टीभित्र भइरहेको शक्ति–समूहगत तानातान र भण्डारीको भूमिका जोगाउने–छोडाउने बहस फेरि सतहमा ल्याएको छ। पोखरेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा विगतका महाधिवेशनहरूले स्वीकार गरेको ‘पार्टी लोकतान्त्रिकरण’ को एजेन्डा व्यवहारमा पुनः लागू गर्नुपर्ने पनि दोहोर्याएका छन्। उनी भन्छन्— पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकाल सीमितता पुनः विधानमा राख्नुपर्छ, नेतृत्व हस्तान्तरण सहज, पारदर्शी र संस्थागत हुनुपर्छ,वरिष्ठता–क्लिष्टता हटाउँदै नव–युवा पुस्तालाई जिम्मेवारी दिनुपर्छ।
उनको यी प्रस्तावहरू ओली नेतृत्वप्रति अप्रत्यक्ष असन्तुष्टि र वैकल्पिक नेतृत्व निर्माणको संकेतका रूपमा व्याख्या गर्न सकिन्छ। पोखरेलले पार्टीभित्र देखिने भव्यता, व्यक्तिगत सुविधा र तडकभडकपूर्ण जीवनशैलीले जनताको आस्था हराउँदै गएको भन्दै यसको अन्त्य आवश्यक भएको बताए। उनका अनुसार, एमालेले—संगठनलाई जवाफदेही,नेतृत्वलाई सादा जीवनशैलीयुक्त,जनता–कार्यकर्ता सम्बन्धलाई विश्वासमा आधारित रूपमा पुनर्स्थापित नगर्ने हो भने पार्टीको राजनीतिक निष्ठा कमजोर हुँदै जाने जोखिम छ।








