काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो सातातिर राष्ट्रिय सभा बैठक आह्वान गर्ने तयारी भइरहेको बताएका छन्। उनले बैठकको मिति टुंग्याउन केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।
आजमंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा अन्तर्गत कृषि समितिको हल निर्माण सम्पन्न हुनेबित्तिकै राष्ट्रिय सभा बैठक बोलाउने योजना रहेको स्पष्ट पारे।
उनका अनुसार राष्ट्रिय सभा बैठक बोलाउने विषयमा सरकारसँग हालसम्म कुनै असहमति छैन। तर, बैठक सञ्चालनका लागि आवश्यक ‘बिजनेस’ भने सीमित रहेको उनले स्वीकार गरे।
राष्ट्रिय सभा नियमित रूपमा सञ्चालन गर्न आवश्यक कार्यसूचीको अभाव देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सदनलाई सक्रिय बनाउन चुनौती बढ्दै गएको संकेत गरे। अब प्रधानमन्त्रीसँगको छलफलपछि बैठकको औपचारिक मिति तय हुने जनाइएको छ।








