काठमाण्डौ पौष ३ ,रियल मड्रिडले तालाभेरालाई ३ः२ ले हराउँदै स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
एट्लेटिको मड्रिडले एट्लेटिको बालेरासलाई ३ः२ ले हराएर अन्तिम १६ मा स्थान बनाएको छ।
किलियन एमबाप्पेले रियलको जितमा दुई गोल गरे भने एन्टोइन ग्रिजमानले एट्लेटिकोको जितमा दुई गोल गरे।
मड्रिडका दुई क्लब रियल मड्रिड र एट्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएका आ—आफ्ना खेलमा रियल र एट्लेटिको दुवैले समान ३ः२ गोलअन्तरको जित निकालेका हुन् ।
रियलले तालाभेरालाई ३ः२ ले हरायो । रियलको जितमा किलियन एमबाप्पेले दुई गोल गर्दा एक गोल उपहार पायो । तालाभेराका लागि नाहुएल आरायो र गोन्जालो डि रेन्जोले एक—एक गोल गरे ।
खेलको ४१औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मानुयल फरान्डोबाट आत्मघाती गोल भएपछि रियलले २ः० को अग्रता लियो ।
दोस्रो हाफको ८०औं मिनेटमा आरायोले गोल गरेपछि खेल २ः१ को अवस्थामा आयो । ८८औं मिनेटमा एमबाप्पेले फेरि गोल गर्दै रियललाई ३ः१ को अग्रतामा पुर्याए ।
इन्जुरी समयमा डि रेन्जोले गोल गरेपनि बराबरी वा जितका लागि भने पर्याप्त रहन सकेन ।
यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले एट्लेटिको बालेरासलाई ३ः२ ले हरायो । एन्टोइन ग्रिजमानले दुई गोल गर्दा जियाकोमो रासपाडोरीले एक गोल गरे । बालेरासका जेरार्डो बोनेट र मोहमदउ केइताले एक—एक गोल गरे ।
१६औं मिनेटमा ग्रिजमानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा रासपाडोरीले गोल गर्दै अग्रता दोब्बर पारे । २८औं मिनेटमा बालेरासका लागि बोनेटले गोल गरे ।
७२औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिको ३ः१ ले अगाडि बढ्यो । ९०औं मिनेटमा केइताले पेनाल्टीमार्फत गोल गरे । तर त्यसपछि कुनै गोल भएनन् ।









