को पहिले प्रधानमन्त्री हुने भन्नेमा रवि–बालेन बिच होड,

१० पुस, काठमाडौं । साथी कुमार बेनको ज्वागल निवासमा मंगलबारदेखि भेटघाटमा व्यस्त काठमाडौं मेयर बालेन शाहलाई भेट्न रास्वपा सभापति रवि लामिछाने आज बिहीबार दिउँसो ज्वागल पुगे ।
दुई दिनअघि कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन बिच्केका थिए । उनले अब देशविकास पार्टीको ब्यानरमा आफू अघि बढ्ने भन्दै सल्लाह, परामर्श लिन थालेपछि रवि झस्केका हुन् ।
रवि र बालेनबीच बिहीबार अपराह्नसम्म अढाई घण्टा चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको बुझिएको छ । यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए । स्रोतका अनुसार उनले पार्टीका साथीहरुसँग सल्लाह गरेर नन्पेपर प्रिन्ट गरेर बालेन भेट्न गएका थिए, जसमा उम्मेदवारीको प्रतिशत लगायत विषय उल्लेख छन् ।
रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरे । त्यसमा सल्लाह गरे संख्या अनुपात तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।

बालेनले भने समानुपातिक संख्यामा पर्याप्त चासो नदिएको बुझिएको छ ।
भेटपछि बाहिरिएका लामिछानेलाई सन्चारकर्मीले लौरी कि घण्टी भनी सोध्दा उनले ‘समयले बताउने’ जवाफ दिएका थिए । यद्यपि रास्वपाको चुनाव चिह्न घण्टी यसअघि आम रुपमा स्थापित भइसकेकाले त्यस अन्तर्गत अघि बढ्न बालेनलाई समस्या नभएको स्पष्ट जवाफ प्राप्त गरेका छन् । मेयर पदमा उठ्दा बालेनले लौरो चिह्न लिएका थिए जसलाई देशविकास पार्टीले चिह्नको मान्यता दिएको छ ।
पार्टीको नाम रास्वपा नै हुनुपर्ने लामिछानेको शर्तमा बालेनले कुलमान घिसिङ लगायतसँग सल्लाह गरौं भनेका छन् । आजै साँझसम्म कुलमान, बालेन, रविबीच बैठक राख्ने तयारी छ । रविले आफू पनि पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर आउने बताएका छन् ।
बेलुकीको बैठक अर्को ‘न्युट्रल भेन्यु’ मा राख्ने प्रस्ताव रविले गरेका छन् । बालेनले केही जवाफ दिएका छैनन् ।

LEAVE A REPLY