११ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।
महामन्त्री थापाले भने विहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने बताएका थिए ।
‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ एक पदाधिकारीका अनुसार महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने कोको चुनाव लड्ने हो लड्नुस् म चाहिँ लड्दिनँ ।’ उनको घोषणा अनुसार पार्टी नेतृत्व परिवर्तन भएमात्र चुनाव लड्ने छन् । तत्काल नेतृत्व परिवर्तनको सम्भावना भने देखिएको छैन ।
अर्का महामन्त्री शर्माले भने पार्टीको नेतृत्व परिवर्तन भए पनि आसन्न निर्वाचन नलड्ने स्वघोषणा गरेका छन् ।
कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले राजनीतिक प्रवृत्ति भत्काउन अब निर्वाचन नलड्ने जानकारी दिएका थिए । ‘लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु,’ शर्माले बैठकमा भनेका थिए ।








