रसुवागढी नाका १७ पुसदेखि खुल्ने

रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस )देखि सञ्चालनमा आउने भन्ने कुराको पुष्टिी जिल्ला प्रशासन कार्यालय रसुवाले गरेको छ।
२४ असारमा आएको बाढीले चीन(नेपाल जोड्ने मितेरी पुल बगाएपछि नाका पूर्णरूपमा अवरुद्ध भएको थियो।
नेपाल र चीनको द्विपक्षीय पहलमा बेलिब्रिज निर्माण भई प्राविधिक परीक्षणपछि नाका खुल्ने निश्चित भएको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीमा बेलिब्रिज तयार भएको छ ।
अधिकारीका अनसार नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल, समन्वय र सहजीकरणमा उक्त स्थानमा बेलिब्रिज निर्माण सम्पन्न भई भार बहन क्षमता लगायत प्राविधिक पक्षसमेत परीक्षण भइरहेको छ ।
चिनियाँ समकक्षी पक्षले रसुवास्थित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए अनुसार १ जनवरीदेखि नाका सूचारु हुने निश्चित भएको हो ।
नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नाका खुल्ने निश्चित भएसँगै ड्राइपोर्टमा गाडी पार्किङ र सामान राख्ने गरी स्थान व्यवस्थापन गरिएको छ । ‘हामी नाका खुल्दा काम गर्न पूर्णतयार भएर बसेका छौं,’ उनले भने ।
चीन र नेपाल जोड्ने मुख्य नाका रसुवागढी बन्द भएपछि अहिले चीनसँगको व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी सरेको छ ।
तातोपानी नाकासमेत लामो समय बाढी र पहिरोका कारण बन्द भएका कारण व्यापार अवरुद्ध भएको थियो । जसले गर्दा चाडबाडको समयमै चीनबाट नेपाल आउने सामान रोकिएका थिए ।

LEAVE A REPLY