काठमाडौँ, फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले आज राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । प्रचारप्रसार निषेध अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।
दलले प्रचारप्रसार गर्ने अन्तिम दिन आज हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा पर्व परेकाले पर्वसँगै निर्वाचन प्रचारप्रसार भइरहेको छ । निर्वाचनमा भाग लिएका दल र उम्मेदवार आज प्रचारप्रसारमा व्यस्त छन् । राति १२ बजेदेखि सुरु हुने प्रचारप्रसार निषेध अवधिमा कुनै प्रचारप्रसार गरी मत माग्न पाइँदैन । यस अवधिमा राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचारप्रसार, कुनै किसिमको सन्देश सम्प्रेषणलगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ । मतदान हुने दिनको ४८ घण्टाअघि अर्थात् आज राति १२ बजे मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
यसैगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउन निषेध गरिएको छ । मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्न नहुने पनि निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।
आचारसंहिताको इमानदारीपूर्वक पालना र कार्यान्वयनले सजग मतदाता तयार पार्न र निर्वाचनको निष्ठा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको सहायक प्रवक्ता जिसीले बताउनुभयो ।








