काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरमा महत्वपूर्ण परिवर्तन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मंगलबार सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयहरूलाई विशेष परिपत्र जारी गर्दै हिउँदे र बर्से बिदामा भारी कटौती गरेको हो। नयाँ व्यवस्था अनुसार अब देशभरका शिक्षण संस्थाहरूमा शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ भने यसअघि ४५ दिन दिइँदै आएको हिउँदे र बर्से बिदालाई घटाएर ३० दिनमा सीमित गरिएको छ।
दुई दिने बिदाका कारण विद्यार्थीहरूको वार्षिक कार्यघण्टा र पाठ्यक्रमको पठनपाठनमा कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले केन्द्रले ६ बुँदे निर्देशिकासमेत जारी गरेको छ। जसअन्तर्गत विद्यालयहरूले दैनिक समय तालिकामा केही परिमार्जन गर्नुपर्नेछ।अब प्रत्येक दिन प्रार्थनाको लागि १५ मिनेट र खाजा समयका लागि ३० मिनेट मात्र व्यवस्थापन गर्न भनिएको छ। त्यसैगरी, सोमबारदेखि शुक्रबारसम्मको समयलाई पूर्ण रूपमा पठनपाठनमा केन्द्रित गर्न र पहिलो तथा दोस्रो त्रैमासिकका आन्तरिक मूल्यांकनहरू पठनपाठनमा असर नपर्ने गरी सोही दिनमै व्यवस्थापन गर्न निर्देशन दिइएको छ। शैक्षिक सत्रको अन्त्यमा हुने अन्तिम परीक्षा र नतिजा प्रकाशनको सम्पूर्ण प्रक्रियालाई सत्रको अन्तिम १२ दिनभित्रै टुङ्ग्याउनुपर्ने गरी नयाँ मापदण्ड तय गरिएको छ, जसले गर्दा सार्वजनिक बिदाका बाबजुद पनि शैक्षिक गुणस्तर र निर्धारित समयसीमा कायम राख्न मद्दत पुग्ने विश्वास लिइएको छ।







