काठमाडौं । भदौं २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधिश सुशीला कार्की नेतृत्वमा गठित नागरिक सरकारले २०८२ साल फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन चुस्त दुरुस्त रुपमा सम्पन्न गर्ने म्याण्डेट पाएको थियो । कठिन परिस्थितिमा भदौं २७ गते गठित सरकारका प्रधानमन्त्री सुशीला कार्कीको दृढ नेतृत्वमा तोकिएकै मितिमा सुरक्षित तवरमा स्वच्छ, निष्पक्ष र धाँधली रहित निर्वाचन सम्पन्न गराएर राष्ट्रिय दायित्व पूर्ण सफलतासाथ सम्पन्न गरेको छ । देशमा कठिन परिस्थिति आइ लागेपछि राष्ट्रपति पौडेलले बडो चलाखीपूर्ण ढंगबाट सुशीला कार्कीलाई निर्वाचन सम्पन्न गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी दिनुभएको थियो । राष्ट्रपति पौडेलले जे उद्देश्य र मनसायले सुशीला कार्कीलाई जिम्मेवारी दिनुभएको थियो त्यो अहिले सोचेभन्दा राम्रोसँग पुरा भएको छ ।
सुशीला कार्कीलाई निर्वाचन सम्पन्न गर्ने र ठूला ठूला निर्णयका काम कारवाही बाहेक तत्काल आइपर्ने सबै काम कारवाही सम्पन्न गर्ने जिम्मा दिँदै प्रधानमन्त्रीमा नियुक्ति गरेपछि कार्कीलाइ निर्वाचन सम्पन्न गर्ने चुनौतीका चाङ त छदै थियो । त्यसमाथि पनि निर्वाचन नचाहने तत्वहरुले आफुमाथिका लाएका बकम्फुसे व्यक्तिगत आरोपको पनि कुनै परवाह नगरी रातदिन खटेर आफ्नो दायित्व पुरा गर्नु भएको हो । उहाँलाई होच्याउँदै राजनीतिक दलका केही झोलेहरुले कार्की नेतृत्वको सरकारले निर्वाचन गराए घाँटी रेटेर मर्ने, फोहोर खाने, राजनीतिबाट सन्यास लिने, डाढुमा पानी तताएर मर्ने, देशै छोडेर भाग्ने जस्ता बाहियात कसम खाएका थिए । अहिले निर्वाचन सम्पन्न मात्रै होइन निर्वाचित जनप्रतिनिधिहरुले सरकारको जिम्मेवारी लिने तयारी हुँदैछ । अब ती कसम खानेहरु के गर्दै छन् ?कहाँ छन् ? सुशीला कार्कीले त्यस्ता मुखले बोल्नेहरुलाई काम गरेर देखाइदिनु भएको छ ।
जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिइएका राजनीतिक दलहरुसँग समन्वय गरी तोकिएकै समयमा, अन्यौल पूर्ण अवस्थामा पनि प्रथम महिला प्रधानमन्त्री कार्कीले सोचेभन्दा राम्रो काम गरेर इतिहास नै रचिने स्थिति बनाएपछि देशभरबाट मात्र नभई विदेशबाट पनि छिमेकी र शुभचिन्तक राष्ट्रहरुबाट बधाईको ओइरो लागि रहेको छ ।
झट्ट हेर्दा सरकार प्रमुखका नाताले प्रधानमन्त्रीले मात्रै राम्रो काम गरेको जस्तो देखिए पनि यस्तो राम्रो कामले पूर्ण रुपमा सफलता पाउनमा गृहमन्त्रालय, अर्थ मन्त्रालय, रक्षामन्त्रालय, निर्वाचन आयोग र राष्ट्र सेवक कर्मचारीहरु, देशी–विदेशी पर्यवेक्षकहरु लगायत सबैको हात रहेको छ । अर्थमन्त्रालयबाट आवश्यक खर्चको चाँजोपाजो, गृह र रक्षा मन्त्रालयबाट शान्ति सुरक्षाको व्यवस्था, निर्वाचन आयोगले छोटो समयमै चुनावको तयारी र राष्ट्र सेवकहरुबाट चुस्तदुरुस्त सेवा नभएको भए निर्वाचन सोचेभन्दा राम्रोसँग गर्न सक्ने वातावरण हुने थिएन । किनकी निर्वाचन सम्पन्न गर्न धेरै चुनौतीहरु थिए । त्यसो त प्रधानमन्त्री कार्की अझै पनि सबैको साथ सहयोगले निर्वाचन सम्पन्न भएको बताइरहनु भएकै छ ।
२०८२ फागुन २१ गते ५ बजे अधिराज्यभर एकै साथ शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपछि गृहमन्त्री ओम प्रकाश अर्यालले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको छ । मन्त्री अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको अभिलाषा बमोजिम एक थोपा पनि रगत नबगी निर्वाचन सम्पन्न गर्ने काम सम्पन्न भएको उल्लेख गर्नुभयो ।
यस्तै बधाइ दिने क्रममा भारत, अमेरिका, चीन, थाइल्याण्डलगायतका शुभचिन्तक राष्ट्रहरु पनि रहेका छन् । बधाई दिने क्रममा मित्र राष्ट्र भारतले आफ्नो दूतावास मार्फत खुशी व्यक्त गर्दे बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत सरकारका तर्फबाट खुशी व्यक्त
गर्नुभयो । उहाँको भनाई उदृत गर्दै नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरिएको बक्तव्यमा भनिएको छ ‘हामी आज नेपाली नागरिकले गरेको सफल सञ्चालन र आफ्नो लोकतान्त्रिक जनादेशको प्रयोगको स्वागत गर्दछौं । जसमा उत्साहजनक सहभागिता देखिएको छ ।’ वक्तव्यका क्रममा भारत सरकारले गरेको प्रतिबद्धता र नेपाल सरकारले गरेको अनुरोध अनुसार आवश्यक सामग्री सहयोग गरेको पनि भारत सरकारको तर्फबाट प्रष्ट पारिएको छ ।
त्यसैगरी नेपालस्थित अमेरिकी दूतावासले पनि नेपालमा सहजताका साथ निर्वाचन सम्पन्न भएकोमा सरकार लगायत नेपाली जनतालाई बधाई दिँदै दुई देशको समृद्धि र सुरक्षाको साझा रुपमा आउँदा दिनहरुमा सरकारसँग मिलेर काम गर्न तत्पर रहेको जनाएको छ । स्वदेश भित्र पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईको अपार ओइरो लागेको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई नोबेल पुरस्कारमा सिफारिस गर्नुपर्ने सम्मका सुझावहरु आईरहेका छन् ।







