भोजकुमारी खड्का
फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा कुनै राजनीतिक दलले स्पष्ट बहुमत ल्याएर स्थायी सरकार बनाउन जरुरी थियो । त्यो पुरा गर्ने काम रास्वपाले पायो । एक छत्र रुपमा सरकार बनाउन नसकेको भए मिल्दो जुल्दो दललाई संसदको ठूलो बनेको दलले खोज्नु वा रोज्नु पर्दथ्यो । त्यसो गर्दा भागबण्डा मिलाउन मै समय लाग्ने र मिले पनि केही महिनापछि फुट्ने र सरकारनै ढलेर अन्य साना दलसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था आउदथ्यो । जो पहिले पनि हुने गरेकै थिए । तर अब त्यस्तो अवस्थाको सामना गर्नु परेको छैन । एक छत्र रुपमा सरकार बनाएर परिणाममुखी काम थाल्न बाटो खुलेको छ । त्यसैगरी सोचे अनुसारको कुरा नभएको चाहि के हो भने रास्वपा स्वयम्ले यति धेरै सिट त्यो पनि धेरै मतान्तरको फरकमा आउछ भन्ने सोचेका थिएनन् होला । तर जनताले अपार विश्वास र मायाका साथ दुईतिहाई बहुमत दिए । त्यस्तै पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले आफ्नो पक्षमा बहुमत न आए पन पहिलो दल वा दोस्रो दलसम्म भइने अनि मिलेर सरकार बनाउने र रास्वपालाई तह लगाउने भन्ने सोचेका थिए । तर त्यसको ठिक उल्टो परिणाम निर्वाचनले ल्याइदियो । पत्ता साफ हुन्छ भन्ने सोचेकै थिएनन् । पत्ता साफैं बनाइ दियो । अनि भयो त सोचे अनुसारको काम ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा झापा ५ मा बहुमत सहित पटक पटक जितेको ठाउँमा यसपाली ठूलो मतान्तरमा छोरा उमेर सरहको उमेर भएका पूर्व मेयर बालेन शाहले हार्छु भन्ने कल्पनै गरेका थिएनन् होला । हारी हाले पनि २÷४ सय मतले हारिएला भन्ने सोचेका थिए होलान् तर बालेनले ६८ हजार ३८४ मत ल्याउदा ओलीले १८ हजार ७३४ अर्थात ४९ हजार ६१४ मतान्तरमा हार स्वीकार्नु पर्यो । आफुले हारे पनि अन्य पदाधिकारीले त जित्लान भन्ने थियो होला तर आफु सहित ११ वटै पदाधिकारीले हार्नु पर्यो । समयको खेल पनि विचित्रकै हुँदो रहेछ । त्यसैगरी नेपाली कांग्रेसले पनि ‘बद्लियो कांग्रेस, बनाउछौं देश’ भन्ने नारा लिएर निर्वाचनमा होमिएका थिए तर सोचे अनुसार भएन । कुनै बेला दुई तिहाई नजिक पुगेर एक छत्र रुपमा सरकार गठन गरेको कांग्रेसले यस्तो परिस्थितिको सामना गर्नुपर्ला भन्ने सोचेकै थिएन । तर अवस्था सुखद् रहेन । त्यस्तै राप्रपा र मधेशवादी दलहरुले पनि कम्तिमा पनि ४०÷५० सिट ल्याउँछौं भन्ने सोचेका हुनुपर्छ तर झनै पत्ता साफैं हुनुपर्यो । त्यसैले यस पटक रास्वपालाई गुडलक र अन्यलाई ब्याडलकको अवस्था आयो ।
त्यस्तै भक्तपुर १ मा नेमकिपाले ३५ वर्षसम्म राजनीति गर्दै आएको ठाउमा पनि यस पटक रास्वपाको उदय भएको छ । रास्वपाका रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी भएपछि नेपाल मजदुर किसान पार्टीको राजनीतिक किल्ला भत्किएको हो । विजयी रुकेशले आफ्ना प्रतिस्पर्धि नेमकिपाका उम्मेदवार प्रेम सुवाललाई ५२८९ मतले पछि पारेका थिए । जबकी नेमकिपाले ३५ वर्ष एकछत्र रुपमा यस्तो पराजय होला भनेर सोचेकै थिएन ।







