—भोजकुमारी खड्का
नेपालका गाउँघरमा पछिल्ला केही वर्षदेखि बाँदर आतंक गम्भीर समस्याका रूपमा फैलिँदै गएको छ । पहिला जंगल र वन क्षेत्रमा मात्र सीमित रहने बाँदर अहिले गाउँबस्ती, खेतबारी, घरआँगन, विद्यालय र बजार क्षेत्रसम्म आउन थालेका छन् । विशेषगरी पहाडी तथा मध्यपहाडी जिल्लाका किसानहरू बाँदरबाट अत्यन्त पीडित बनेका छन् । किसानले वर्षभरि मेहनत गरेर लगाएको अन्नबाली केही घण्टामै बाँदरले नष्ट गरिदिने अवस्था सिर्जना भएको छ । यसले ग्रामीण जीवन, कृषि उत्पादन, खाद्य सुरक्षा र गाउँको अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । गाउँका धेरै किसान अहिले खेतीपातीभन्दा बढी खेत जोगाउने चिन्तामा बाँच्न बाध्य भएका छन् ।
नेपाल कृषिप्रधान देश भनिए पनि कृषिमा निर्भर किसानको अवस्था दिनप्रतिदिन कठिन बन्दै गएको छ । मल, बीउ, सिंचाइ, बजार र मजदुरीको समस्याले थिचिएका किसानमाथि बाँदर आतंक थपिएको छ । विशेषगरी मकै, गहुँ, आलु, कोदो, तरकारी, फलफूल तथा अन्य बालीहरू बाँदरको मुख्य निशाना बन्ने गरेका छन् । बाँदरले केवल खाने मात्र होइन, बाली उखेलेर फाल्ने, भाँच्ने र कुल्चने कामसमेत गर्छन् । किसानको महिनौंको मेहनत एकैछिनमा नष्ट हुन्छ । धेरै किसानहरू बिहानैदेखि बेलुकासम्म खेत कुर्न बाध्य छन् । कतिपयले खेतमा टहरा बनाएर रातभर पहरा दिने गरेका छन् । तर, बाँदरको ठूलो हुल आएपछि उनीहरूलाई धपाउन कठिन हुन्छ ।
गाउँघरमा अहिले यस्तो अवस्था छ कि बालबालिका विद्यालय जानुभन्दा खेतमा बाँदर धपाउन बाध्य हुन्छन् । महिलाहरू दिनभरि खेतमा कराउने, टिन पिट्ने, ढुंगा हान्ने वा आगो बालेर बाँदर भगाउने काममा व्यस्त देखिन्छन् । पुरुषहरू वैदेशिक रोजगारीमा गएका कारण खेतीपातीको सम्पूर्ण जिम्मेवारी महिलामाथि परेको छ । यसले उनीहरूलाई शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि थकित बनाएको छ । कतिपय स्थानमा बाँदरले मानिसमाथि आक्रमण गर्ने, टोकिने वा बालबालिकालाई लखेट्ने घटनासमेत भएका छन् । वृद्धवृद्धा र बालबालिका झन् बढी जोखिममा छन् ।
बाँदर आतंकका कारण धेरै किसान खेतीप्रति निराश बन्न थालेका छन् । उत्पादन जोगिनै नसकेपछि मेहनत र लगानी दुवै खेर जाने भएकाले कतिपय किसानले खेती गर्न छोडेका छन् । धेरै ठाउँमा खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ । पहिला हराभरा देखिने खेतबारी अहिले झाडीले ढाकिन थालेका छन् । खेतीबाट जीवन धान्न नसकिने भएपछि गाउँका युवाहरू शहर वा विदेश पलायन भइरहेका छन् । यसले गाउँको उत्पादन प्रणाली कमजोर बन्दै गएको छ । स्थानीय उत्पादन घट्दै जाँदा बजारमा बाहिरबाट आयात गरिने खाद्यान्नमाथिको निर्भरता बढ्ने खतरा पनि बढेको छ ।
बाँदर गाउँबस्तीमा आउनुको मुख्य कारण वन विनाश र प्राकृतिक बासस्थानको कमी हो । जंगल फँडानी, डढेलो, सडक विस्तार तथा अव्यवस्थित विकासका कारण वन्यजन्तुको प्राकृतिक वातावरण नष्ट हुँदै गएको छ । जंगलमा पर्याप्त खाना नपाएपछि बाँदर मानव बस्ती नजिक आउन थालेका हुन् । जलवायु परिवर्तनले पनि यो समस्या बढाएको मानिन्छ । मौसम परिवर्तनका कारण जंगलमा पाइने फलफूल, जरा तथा प्राकृतिक खाद्य स्रोत घट्दै गएका छन् । अर्कोतर्फ धार्मिक स्थल वा सडकछेउ मानिसहरूले बाँदरलाई खाना खुवाउने प्रवृत्तिले पनि उनीहरूलाई मानव बस्तीमा निर्भर बनाएको छ ।
बाँदर आतंकले किसानको आर्थिक अवस्था मात्र बिगारेको छैन, सामाजिक जीवनमा पनि असर पारेको छ । किसानले ऋण लिएर खेती गरे पनि उत्पादन नष्ट भएपछि ऋण तिर्न समस्या हुन्छ । आम्दानी घटेपछि परिवारको शिक्षा, स्वास्थ्य र दैनिक जीवन प्रभावित हुन्छ । गाउँमा निराशा बढ्दै गएको छ । खेती गरेर भविष्य बनाउन सकिँदैन भन्ने सोच युवापुस्तामा बढ्दै गएको छ । यसले दीर्घकालीन रूपमा नेपालको कृषि प्रणालीलाई कमजोर बनाउने खतरा छ ।
यो समस्या समाधान गर्न सरकार, स्थानीय तह, वन कार्यालय, कृषि विज्ञ र स्थानीय समुदायबीच समन्वय आवश्यक छ । बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति आवश्यक देखिन्छ । कुन क्षेत्रमा कति बाँदर छन्, कति क्षति भइरहेको छ भन्ने वैज्ञानिक अध्ययन गरेर योजना बनाइनुपर्छ । किसानलाई राहत तथा क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्छ । खेतबारी वरिपरि सुरक्षित विद्युतीय बार, तारजाली तथा आधुनिक सुरक्षा प्रणाली प्रयोग गर्न सकिन्छ । कतिपय स्थानमा सामूहिक रूपमा खेत सुरक्षा गर्ने अभ्यास प्रभावकारी देखिएको छ ।
वन संरक्षण तथा बाँदरको प्राकृतिक बासस्थान जोगाउने काम पनि उत्तिकै आवश्यक छ । जंगलमा फलफूलयुक्त रुखबिरुवा रोप्ने, प्राकृतिक खाद्य स्रोत बढाउने तथा वन विनाश रोक्ने काम गर्नुपर्छ । बाँदरलाई धार्मिक वा मनोरञ्जनका नाममा खाना खुवाउने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक छ । आधुनिक प्रविधि प्रयोग गरेर ध्वनि उपकरण, सौर्य ऊर्जाबाट चल्ने चेतावनी प्रणाली तथा अन्य उपायहरू प्रयोग गर्न सकिन्छ । वन्यजन्तुबाट हुने क्षतिलाई समेटेर कृषि बीमा कार्यक्रम प्रभावकारी बनाउनु पनि आवश्यक छ ।
बाँदर आतंक अहिले केवल वन्यजन्तुसँग सम्बन्धित सामान्य समस्या होइन, यो किसानको जीवन, कृषि उत्पादन, ग्रामीण अर्थतन्त्र र नेपालको खाद्य सुरक्षासँग जोडिएको गम्भीर विषय बनेको छ । किसानको मेहनत सुरक्षित नभएसम्म कृषि प्रणाली बलियो बन्न सक्दैन । यदि समयमै प्रभावकारी र दीर्घकालीन समाधान खोजिएन भने गाउँका खेतबारी बाँझो हुने, उत्पादन घट्ने र ग्रामीण जीवन झन् कमजोर बन्दै जाने खतरा बढ्ने छ । त्यसैले राज्यले यस समस्यालाई गम्भीर रूपमा लिएर किसानको पसिना र भविष्य जोगाउने ठोस कदम चाल्न अत्यन्त आवश्यक भइसकेको छ ।किसानहरु बाँदरले सताएका कारण कहाँजाउ र कसो गरौं भन्ने समस्यमा परेका छा् कतिपयले त गाउँ छोडेर बसाई नै सरि सके ।
सरकारले यसरी पनि बाँदरको समस्या हटाउ सक्छ ः
१)बाँदर जंगलि जनावर भए पनि अर्ध मानव हो, त्यसैले यसलाई नास गरेर वा तर्साएर सम्मव छैन ।बाँदर नास गर्न योग्य प्राणी पनि होईन । यसलाई तालिम गराउन सके मनग्य फायदा पपनि लिन सकिन्छ । बाँदर पाल्न पाउले कानुन बनाएर एक घर एक बाँदर अनिवाई गर्न अनिवार्य गर्नु पर्छ। त्यसो गर्न नसकिए बादर पाल्न इच्छुक राष्ट्रहरुलाई गैडा उपहार दिए झै उपहार दिनु राम्रो होला ।






