अख्तियारको कार्यशैलीले मुलुकमा भष्टाचार बढ्योःअध्यक्ष राजेन्द्रकुमार भण्डारी

२८जेठ, काठमाडौं । सम्पत्ति छानबिन आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् ।
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायरा भएको मुद्दाको लिखित जवाफ पेश गर्दै भण्डारीले ठूलो राजनीतिक पदाधिकारी र कर्मचारीहरूको भ्रष्टाचार र सम्पत्ति अनुसन्धानमा उजुरी खोज्ने प्रवृतिले अख्तियारले काम गर्न नसकेको दाबी गरेका हुन्
‘उजुर नपरेका ज्यादै कम पदाधिकारीहरूको हकमा मात्र अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको पाइन्छ’ अध्यक्ष भण्डारीले सर्वोच्च अदालतमा लिखित जवाफमार्फत भनेका छन्, ‘परिणामतः मुलुकमा भ्रष्टाचार र अकूत सम्पत्ति अवैध तरिकाले आर्जन गर्ने र त्यस्तो आर्जन लुकाउने समूह मौलाएको छ ।’
भ्रष्टाचार गर्ने र गैरकानूनी सम्पत्ति लुकाउनेहरुमाथि राज्यले अनुसन्धान गर्न नसकेको भन्दै भण्डारीले त्यसकै लागि आफ्नो नेतृत्वमा आयोग बनेको जिकिर गरेका हुन् । आफूले नेतृत्व गरेको आयोगले विभिन्न व्यक्तिले लुकाएको गैरकानूनी सम्पत्ति खोज्नेमा सीमित रहेको भन्दै त्यसबाट कसैको अधिकार हनन नहुने जिकिर गरेका छन्
उनले सर्वोच्च अदालतलाई जवाफ पठाउँदै भनेका छन्, ‘सिफारिस सहित प्रतिवेदन पेस गर्नेसम्मको अख्तियारी पाएको सम्पत्ति छानबिन आयोग, २०८३ लाई अख्तियारको अधिकारमाथि हस्तक्षेप गरेको भनी आक्षेप लगाउने काम संविधान र प्रचलित नेपाल कानून समेतको बर्खिलापमा छ ।’
आयोग गठनले अवैध सम्पत्ति आर्जन गर्ने वर्ग र समूहका पदाधिकारीमाथि छिटोछरितो अनुसन्धान हुने र त्यसबाट अनुसन्धान गर्ने निकायलाई मुद्दा चलाउन अझै प्रभावकारी हुने उनको दाबी छ ।
सम्पत्ति छानबिन आयोगका अध्यक्ष भण्डारी र प्रधानमन्त्री बालेन शाहले आयोग विरुद्ध परेको रिट निवेदनमा सर्वोच्चमा पठाएको लिखित जवाफको आशय मिल्दोजुल्दो छ ।
प्रधानमन्त्री शाहले पनि अख्तियारको कामकारबाहीको आलोचना गर्दै भ्रष्टाचारको अनुसन्धानका लागि आयोग गठन गर्नुपरेको जवाफ लेखेका थिए ।
अख्तियारले छोटो अवधिमा देशभर लामो समयसम्म सत्तामा रहेका राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्ति संकलन, छानबिन र अनुसन्धान गर्न नसक्ने भन्दै आयोगका अध्यक्ष भण्डारीले राज्यका नियमित निकायको कामलाई थप प्रभावकारी बनाउन आयोगले काम गर्ने भनी जवाफ लेखेका छन् ।

LEAVE A REPLY