काठमाडौँ, जेठ २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको स्पष्ट पार्नुभयो। विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भनी लगाएको आरोपको खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। समन्यायिक समुन्नति र समृद्धिलाई बजेटको मुख्य लक्ष्य बनाइएको उहाँको भनाइ थियो।
बजेटमा ुसमाजवादु शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो। उहाँले सरकार पाँचवर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गर्नुभयो। सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबिच उच्च स्तरको सङ्गति रहेको उहाँले दाबी गर्नुभयो।
अर्थमन्त्री डा। वाग्लेले भन्नुभयो, “मैले बुझेको भाषा अथवा मेरो पार्टीले बोकेको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एक ठाउँमा रह्यो तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डा नै हो, त्यसप्रति अत्यन्तै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। १०० वटा शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट सबैमा अभूतपूर्व सङ्गति छ। यसलाई त्यही कोणबाट हेरिदिनुहोला।”
उहाँले थप्नुभयो, “हाम्रो विगत ३०–४० वर्षको राजनीति अलि वाम प्रेरित नै थियो, त्यो भाष्यमा गढेर पनि बसेको छ, त्यसबाट हामीले प्रेरणा पनि लिएका छौँ। संविधानको खिलाफमा भयो भन्ने कुरा विल्कुल गलत छ, समतालाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। आर्थिक वृद्धिको कुरा गर्दै गर्दा पनि समतासहितको वृद्धिको कुरा हामीले गरेका छौँ। समन्यायिक समुन्नति, समृद्धिका कुरा गरेका छौँ। त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेन्डालाई हामीले अगाडि सारेका छौँ।”
उहाँले विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्ने छुट रहेको समेत बताउनुभयो।
उहाँले प्रश्न उठाउने सांसदहरूलाई व्यक्तिगत लाञ्छना लगाउनुअघि तथ्यमा आधारित हुन आग्रह गर्नुभयो। अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उहाँले आफूमाथि लागेको दुई अर्ब रुपियाँको आशङ्का निराधार रहेको दाबी गर्नुभयो।
हाँले सार्वजनिक लेखा समितिमा समेत आफूविरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासनको कठोर प्रतिबद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने जिकिर गर्दै उहाँले आफूमाथि औँलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न आग्रह गर्नुभयो। उहाँले आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरूका पुराना सन्दर्भहरूतर्फ सङ्केत गर्दै तथ्यहरू क्रमशः उजागर हुने बताउनुभयो।
अर्थमन्त्री डा। वाग्लेले भन्नुभयो, “अहिलेको बहुचर्चित विषय– स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने खालका कुरा पनि सुनिए। सांसदहरूले आफ्नो गरिमा आफैँ राख्नुपर्छ। हामी यस सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौँ ररु सक्दैनौँ।”
उहाँले थप्नुभयो, “मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुई वटा खोस्टाहरूले दुई अर्बको आशङ्का इत्यादि भनेर लेखे। तर दुई अर्ब होइन, दुई रुपियाँको बदमासी वा बेइमानी मबाट भएको प्रमाणित भए म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईँहरूका काण्डका बारेमा हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्नेछन्।”
अर्थमन्त्री वाग्लेका अनुसार सरकार सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेकाले यसमाथि शङ्का नगर्न आग्रह गर्नुभयो।






