—चादनी हमाल
काठमाडौँ, असार २३ गते । ‘योगमाया’ बुझ्नेलाई उहाँको नाम नै काफी छ । धर्म, मानव समाज र मानव जीवनलाई एउटै कडीमा गाँस्न सक्ने खुबीयुक्त ऐतिहासिक योद्धाका रूपमा आमनागरिकले स्विकारेको व्यक्तित्व हुन् योगमाया । हालसम्म राष्ट्रिय विभूतिका रूपमा स्वीकार नगरिए पनि यसअघि तोकिएका विभूतिभन्दा कम योगदान उहाँको नरहेको विज्ञहरू औँल्याउनुहुन्छ ।
करिब १५९ वर्षअघि विसं १९२४ मा भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेले त्यस समयको मागभन्दा निकै ठुलो क्रमभङ्गता नेपाली समाजमा सिर्जना गर्नुभयो । उहाँले सिर्जना गर्नुभएको झ्याउरे समाज सुधारक भजन तथा कविताको लय त्यहाँका लोकको मुखबाट अझै गुन्जन्छन् । नेपालको पुरातन मान्यता अनुसार सात वर्षमा बालविवाह गर्नुभयो । श्रीमान्सँगको जीवनको अनुभव कस्तो हुन्छ भन्ने भेउ नपाई विवाहको दुई वर्षमै उहाँ विधवा हुनुभयो । पद्मकन्या क्याम्पसकी प्राध्यापक डा. ज्ञानु अधिकारी स्मरण गर्नुहुन्छ, “त्यो बेलाको समाजमा के मात्र सहनुभएन होला, सम्झँदा पनि कहाली लाग्छ तर व्यवहारमा योगमाया जत्तिको प्रगतिवादी पनि कोही ठहरिनुभएन ।”
विधवा भएपछि महिलाले बाँच्न पाइँदैनथियो । सती जानुपथ्र्यो । दुई पटक विवाह र विधवा भएपछि बाँचेकै कारण योगमायाले घरपरिवार तथा समाजको अनेक तिरस्कारसँगै शारीरिक र मानसिक यातनाको समेत सिकार हुनुभयो । योगमाया उपन्यासमा मदन पुरस्कार जित्नुभएकी साहित्यकार निलम कार्की निहारिकाको नजरमा उतिबेलाको राज्यको शासकीय संरचना र धर्मको विरुद्धमा कोही जान सक्ने अवस्था थिएन । कार्कीले थप्नुभयो, “तर योगमायाले धर्मलाई समाज सुधार र प्रगतिशीलतासँग यसरी बाँध्दै जातीय समानता, महिला हक अधिकारलाई चेतनामा रूपान्तरण गर्नुभयो ।”
महिला अधिकारलाई योगमायाले उतिबेलै सती नगएर स्थापित गर्नुभयो । त्यो समयमा अध्यात्म, प्रगतिशीलता र चेतनाको तीन वटै पथमा एकै साथ लाग्न सक्ने पुरुष पनि कोही नभएको टिप्पणी कार्की गर्नुहुन्छ । महिलाको नेतृत्वमा बस्न पुरुष वर्ग अहिले पनि मान्दैनन् । आफ्नै अग्रसरतामा आफ्ना माग राणा शासकसमक्ष राख्दै जलसमाधि लिनेसम्मको अनुयायी बनाउन सक्ने खुबी र दूरदर्शिता महिलामा थियो भन्ने उदाहरण योगमाया भएको ठहर उहाँ गर्नुहुन्छ ।
योगमायाले राणा शासकसमक्ष प्रस्तुत गर्नुभएको मागपत्र महिलावादी दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । जसमा बालविवाहको अन्त्य हुनुपर्ने, विधवाले दोस्रो विवाह गर्न पाउनुपर्ने, महिलाले वेद पढ्न पाउनुपर्ने, समतामूलक र सामाजिक न्याय पाउनुपर्ने जस्ता विषय आजको सन्दर्भमा पनि उत्तिकै जायज छन् । कार्कीले थप्नुभयो, “सहनु पर्छ भन्ने मान्यता चिर्दै दुखेका बेला दुख्यो भनेर प्रतिक्रिया दिन सक्नु पर्छ भन्ने कुरा महिलाले योगमायाबाटै सिकेको हो, अगाडि बढ्नु पर्छ भन्ने कुरा योगमाया आफैँले घर छाडेर सिकाउनुभएको हो ।”
समताकी प्रतिमूर्ति
दोस्रो श्रीमान्को मृत्युपछि सती नगएर योगमाया सामाजिक गतिविधिमा सक्रिय हुनुभएको थियो । अध्यात्म ज्ञान लिँदै सन्न्यासी बनेपछि मानवीय जीवनमा व्याप्त लोभ, लाभ र मोहबाट मुक्त भएर सुधार पथमा अग्रसर भएको विभिन्न अध्ययनले देखाउँछ । योगमायाका बारेमा विद्यावारिधि गर्नुभएका डा.गोविन्दमानसिंह कार्कीको अध्ययनपछि ‘समाज सुधारक योगमाया’ नामक पुस्तक प्रकाशित छ ।
कार्कीका अनुसार नेपालको धार्मिक, सामाजिक आन्दोलनकी अग्रणी योगमाया एक धार्मिक सन्न्यासी मात्र नभई नेपालकै पहिलो सामाजिक र राजनीतिक विद्रोही महिला हुनुहुन्थ्यो । तपस्वीका रूपमा योगमायाले दलित तथा तल्लो वर्गसँग सामूहिक भोजन गर्नुहुन्थ्यो । त्यसैले पनि समाजका हरेक तह योगमायाप्रति आकर्षित थिए । कार्कीले भन्नुभयो, “विसं १९९० को दशकमा नेपाली समाजको बालविवाह, बहुविवाह, सतीप्रथाको अवशेष र छुवाछुत जस्ता कुप्रथाविरुद्ध चेतना जगाउँदा समाज सुधारका नाममा बेथिति ल्यायो भनेर योगमायामाथि आक्रमण भएका थिए ।” योगमायाले आफूलाई पशुपतिमा भेट्न पुगेका तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरसमक्ष सामाजिक सुधार र धर्मराज्यको माग राख्दै २६ बुँदे मागपत्र पेस गर्र्नुभयो । योगमायाको मागमा सकारात्मक रहेको र पूरा गर्ने आश्वासन प्रधानमन्त्रीले दिनु पनि उतिबेला महत्वपूर्ण कुरा रहेको कार्कीले औँल्याउनुभयो ।
त्यसैले योगमायाको आन्दोलन नेपाली इतिहासकै सबैभन्दा साहसिक र अद्वितीय शान्तिपूर्ण विद्रोहका रूपमा गनिएको छ । राणा सरकारले सुधारका मागमा बेवास्ता गरेपछि विसं १९९५ मा योगमाया र उहाँका २४० अनुयायीहरूले अरुण नदी किनारमा सामूहिक अग्निदाह गर्ने निर्णय गरेका थिए । राणा शासकले सबैलाई पक्राउ गरी जेल हालेको थियो । जेलबाट छुटेपछि पनि समाजमा कुनै परिवर्तन नदेखिएपछि विसं १९९८ असार शुक्ल एकादशीका दिन योगमायाको नेतृत्वमा ६८ जना अनुयायीले भोजपुरको अरुण नदीमा सामूहिक जलसमाधि लिएको घटना चानचुने नभएको स्मरण अध्येता कार्की गर्नुहुन्छ ।
वरिष्ठ साहित्यकार कृष्ण धरावासीका अनुसार त्यो बेला क्रान्तिकारीयुक्त सोचसहित वर्गहीन, जातिहीन र शोषणमुक्त समाजको वकालत गर्नु, सती नगई समाजसँग लडेर सुधारमा लाग्नु कुनै पुरुषले पनि हिम्मत गर्ने अवस्था थिएन । उहाँले भन्नुभयो, “श्रीमान्को मृत्युपछि जबरजस्ती सती प्रथाका नाममा महिलालाई जलाइन्थ्यो, सती नगई योगमायाले दोस्रो विवाह गर्नुभयो, महिलाकै रूपमा धार्मिक शिक्षा लिनुभयो, विदेश गएर आधुनिक शिक्षा सिक्नुभयो, समाज बदल्नु पर्छ भनेर नेतृत्व लिएर अघि बढ्नुभयो, जुन त्यो बेलाको समयमा सोच्न पनि सकिन्नथ्यो ।”
विधवा भए पनि पारिवारिक र सामाजिक अबगाल सहेर बाँच्न गाह्रो छ भन्ने योगमायालाई थाहा नभएको हैन । धरावासी थप्नहुन्छ, “योगमायाले अरूलाई बुझाउन र सिकाउने जस्तो चुनौतीपूर्ण काम गर्नुभयो, योगवाणीको जगमा जनचेतनाका कविता सुनाउनुभयो, धर्मलाई आधुनिक समाज अनुसार व्याख्या गर्नुभयो ।”
योगमायाको योगदान आजको पुस्तामाझ पनि सान्दर्भिक रहेको टिप्पणी धरावासी गर्नुहुन्छ । जति आँधीहुरी र अप्ठ्यारो आए पनि आफ्नो सोच र विचारमा खम्बा जस्तै बलियो बनेर उभिनु पर्छ भन्ने पाठ वर्तमान र भविष्य दुवै पुस्ताले सिक्न सक्छन् । त्यसैले योगमायालाई अतुलनीय नेपाली योद्धाका रूपमा नयाँ पुस्ताले सुन्न र बुझ्न थालेका छन् । ध्यान, योग, साधना र सामाजिक सुधारका रूपमा सतीप्रथा, दासप्रथा, छुवाछुतलगायत कुरीति र कुसंस्कारको अन्त्यसँगै न्याय र समातामूलक समाज निर्माणको अग्रणीका रूपमा योगमायालाई अनुकरण गर्दै राष्ट्रिय विभूतिका रूपमा स्वीकार गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।








