२ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरू नेपालको सद्भावना दूतका रूपमा रहेको बताउँदै मुलुकको विकास र समृद्धिमा सक्रिय योगदान दिन आह्वान गरेकी छिन् ।
सोमवार काठमाडौंमा आयोजित एनआरएनएको १२ औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सम्पन्न निर्वाचनबाट आएको नयाँ जनादेश र बदलिँदो परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको पनि बताइन् ।
एकताको महाधिवेशन आयोजना गरेर नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गरेकोमा उनले एनआरएनएप्रति धन्यवाद व्यक्त गरिन् ।
‘गैरआवासीय नेपालीहरू वास्तवमा नेपालको सद्भावना दुत हुनुहुन्छ । तपाइहरूसँग नेपालको पहिचानसँगै विश्वसामु कस्तो नेपाल प्रश्तुत गर्ने भन्ने कुरा तपाईहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ । तपाईहरू जहाँ बस्नुहुन्छ त्यहाँ नेपालको गौरव, संस्कृतिलाई प्रवर्द्धन गराइरहनुभएको छ । यसको लागि समेत म तपाइहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
विश्वमाझ नेपाल कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने कुरा गैरआवासीय नेपालीहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर रहने प्रधानमन्त्री कार्कीको भनाइ थिय।
नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जहाँ रहेपनि मातृभूमिप्रति योगदान गरिरहन समेत आह्वान गरिन् ।
‘नयाँ जनादेश र बदलिंदो परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ । यस्तो महत्वपूर्ण समयमा तपाईहरूदले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकास, सहकार्य र साझा जिम्मेवारीको साझा सन्देश प्रवाह गर्नुभएको छ । जसका लागि तपाईंहरू सबैलाई धन्यावाद दिन चाहान्छु,’ उनले भनेकी छिन् ।
उनले संघका नवनिर्वाचित संघका पदाधिकारीहरूप्रति बधाइ ज्ञापन गर्दै गैरआवासीय नागरिकको हक, हित र अधिकारका पहरेदारी गरिरहन समेत सुझाइन् ।







