आजदेखि देशभरिका सबै उद्यम—व्यवसायको तथ्यांक संकलन गरिँदै

२ वैशाख, काठमाडौं । ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को स्थलगत तथ्यांक संकलन सुरु भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ देशको समग्र आर्थिक अवस्थाको तथ्यांकीय माध्यमबाट यथार्थ चित्र प्राप्त गर्न राष्ट्रिय आर्थिक गणना गर्न लागिएको हो ।
स्थलगत गणना २ वैशाख २०८३ देखि ७ असार २०८३ सम्म चल्ने छ । यो दोस्रो राष्ट्रिय आर्थिक गणना हो । सरकारले चालु आर्थिक वर्ष २०८२८३ को नीति तथा कार्यक्रम र बजेटमा यो कार्यक्रम समावेश गरेको थियो । यसबीच कार्यालयले दुई दर्जन संघसंस्थासँग अन्तर्क्रिया गरी आर्थिक गणना सहजीकरण गर्न आग्रह गरेको थियो ।
कार्यालयले आर्थिक गणना प्रयोजनका लागि १ चैत २०८२ देखि ३० असार २०८३ सम्म रहने गरी जिल्ला स्तरमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
आर्थिक गणनाबाट प्राप्त विवरणका आधारमा आव २०८३र८४ सुरुदेखि नै तथ्यांक प्रशोधन र विश्लेषण गरी नतिजा सार्वजनिक गर्ने तयारी कार्यालयको छ ।
कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण संकलन हुँदैछन् ।
किन गरिन्छ आर्थिक गणना ?
राष्ट्रिय तथ्या‌क कार्यालयले देशको आर्थिक संरचना बुझ्न, रोजगारीको अवस्था थाहा पाउन र भविष्यका आर्थिक योजनाहरू बनाउन आर्थिक गणना गर्न लागेको जनाएको छ ।
यस गणनाले देशभरिका सबै उद्योग, व्यापार, सेवा क्षेत्र र साना–ठूला व्यवसायको विवरण संकलन गर्ने कार्यालयले जनाएको छ । देशभरिका उद्यमी तथा व्यवसायीले दिएको तथ्यांकले नै देशको समृद्धिको बाटो तय गर्ने हुनाले सही र पूर्ण विवरण उपलब्ध गराउन कार्यालयले सबैलाई अनुरोध पनि गरेको छ ।

LEAVE A REPLY