राष्ट्रिय स्वतन्त्र पार्टीले १८ सदस्यीय मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले चैत १३ गते बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने जानकारी दिए।
प्रधानमन्त्री शपथ ग्रहणसँगै सबै मन्त्रीले पनि शपथ ग्रहण गर्ने तयारी भइरहेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं ।
उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ । ‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं,’ उनले भने ।
महामन्त्री बुर्लाकोटीका अनुसार यही चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए ।
उनका अनुसार प्रधानमन्त्रीको शपथ ग्रहणपछि पार्टीको संसदीय दलको बैठक बोलाउने तयारी भइरहेको छ ।








