‘सेतो मत्स्येन्द्रनाथको रथ यात्रा सम्बन्धी वृत्तचित्र सार्वजनिक

काठमाडौँ, चैत ९ गते । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा जात्राबारे अभिलेखीकरण गर्ने उद्देश्यले निर्माण गरिएको ‘सेतो मत्स्येन्द्रनाथको रथयात्रा’ सम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आइतबार राजधानीमा आयोजित सेतो मत्स्येन्द्रनाथको रथयात्राको व्यवस्थापन सम्बन्धमा आयोजित बैठकमा सो वृत्तचित्र सार्वजनिक गरिएको हो ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ उपत्यकाका जीवन्त संस्कृति सम्पदा सेतो मत्स्येन्द्रनाथ जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्दै देशविदेशका कूटनीतिक नियोगका पदाधिकारीलाई दर्शनरभ्रमण गराउने व्यवस्थाका लागि सुरक्षा निकाय, जात्रा व्यवस्थापन समिति, स्थानीयको समेत सहकार्यले सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेतो मत्स्येन्द्रनाथको जात्रा सञ्चालनका क्रममा शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त बनाउन गृह मन्त्रालय र सबै सुरक्षा निकाय, स्थानीय र जात्रा व्यवस्थापन समिति र स्वयंसेवकको समन्वय हुने जानकारी दिनुभयो ।
इन्जिनियर आनन्द मानन्धरले विगत १० वर्षदेखि आर्किटेक्ट, इन्जिनियर समूहको टोलीले भक्तपुर, काठमाडौँलगायतका क्षेत्रमा सञ्चालन गरिने जात्राका लागि तयार गरिने रथ, खटदेखि जात्रा सञ्चालनको अवधिबारे स्केच, चित्र र भिडियो, फोटोको माध्यमबाट जात्रालाई अभिलेखीकरण गर्ने क्रममा सेतो मत्स्येन्द्रनाथको रथयात्राबारे पनि वृत्तचित्र तयार भएको जानकारी दिनुभयो ।
जात्रा अभिलेखीकरणका लागि ई.आनन्द मानन्धरका साथै अमित वज्राचार्य, सिजन शाक्य र सोना बाडेलगायतको समूहले भक्तपुरको बिस्का जात्रा, कुमारी, गणेश, चाँगुनारायणको वंशगोपाल रथलगायतको अभिलेखीकरण गरिसक्नुभएको छ । चैत १२ गते तीनधारा पाठशालाबाट सुरु भई असन, वसन्तपुर, लगन हुँदै मत्स्येन्द्रबहालमा समापन हुने वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्राका लागि रथ दरबारमार्गस्थित तीनधारा पाठशालामा निर्माण भइरहेको छ ।

LEAVE A REPLY